श्रीलङ्का, ८ असोज । पूर्व तामिल विद्रोहीद्वारा आफ्नो रिहाईको माग गर्दै श्रीलङ्कामा जेलभित्रै भोक हडताल सुरु गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अल्पसङ्ख्यक तामिल समुदायका पूर्व तामिल टाइगर्स समूहमा आबद्धता रहेको र जाफ्ना तथा भावुनिया क्षेत्रमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनीहरुले आफ्नो मुद्दालाई थप ढिलाइ नगरीकन बिनासर्त रिहा गर्नुपर्ने माग राखेका छन् । जेलबन्दीहरुले यदि उनीहरुको मुद्दा उपर सुनुवाइ नभएमा आफूहरु अदालतमा जाने बताएका छन् । यसैबीच जेल अधिकारीले केही तामिल थुनुवाहरुलाई उनीहरुले माग गरे बमोजिम जाफना क्षेत्रमा पठाइन लागेको बताएका छन् । जेलमा हडतालमा उत्रिएका अधिकांश विद्रोही ३० वर्ष लामो गृहयुद्धलाई सरकारी सेनाले सैनिक बलमा अन्त्य गरेपछि सन् २००९ को मेमा पक्राउ परेका थिए ।