काठमाडौं,९ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओली र उपमहासचिव घनश्याम भुसालवीच शनिबार साँझ एकआपसमा भनाभन भएको छ । अध्यक्ष ओलीले भुसालको राजनीतिक प्रतिवेदनलाई ‘लेख’, ‘आर्टिकल’ र ‘लिखत’ को संज्ञा दिए का छन् भने भुसालले चाँहि ओलीलाई ‘ढाँट’को संज्ञा दिएका हुन् । तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकमा शनिबार अध्यक्ष ओलीले सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि थियो । तर, बोल्ने क्रममा ओलीले भुसाललाई तीखो प्रहार गर्न थालेपछि बैठकमा ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु हुटिङजस्तै गर्नुपर्ने अवस्थामा पुगेको एक केन्द्रीय सदस्यले जानकारी दिए । बोल्ने क्रममा पार्टी अध्यक्ष ओलीले घनश्यामको फरकम मतको दस्तावेजलाई होच्याउँदै भने- ‘उहाँको त्यो लेख हो, विभिन्न पत्रपत्रिकामा आएको छ। त्यो लेखको यहाँ जवाफ दिइराख्नुपर्दैन ।’ ओलीले यसो भनेपछि उनी बोल्दाबोल्दै भुसालले भने- मलाई डेढ मिनेट टाइम दिनोस् ।’ तर, अध्यक्षले उनलाई टाइम दिएनन् । भुसालले आफ्नै दस्तावेजका बारेमा अध्यक्षले कुरा गरेकाले आफूले यसबारे स्पष्ट गर्न पाउनुपर्ने माग गरे । उनले बैठकमा भने- ‘यो मेरो विषयमा कुरा उठेको हो, स्थायी कमिटीमा के भएको थियो, त्यो मैले भन्नुपर्ने भयो, तपाई केन्द्रीय कमिटीलाई किन ढाँट्दै हुनुहुन्छ अध्यक्षज्यू ?’ भुसालले यसरी वीचैमा प्रतिवाद गरेपछि ओलीले पहिले ‘लेख’ भनेको उनको २६ पेजको दस्तावेजलाई ओलीले ‘यो आर्टिकल हो’ भने ।वैठकमा एकाएक माधव नेपाल पक्षका नेताहरु गुन्गुनाउन थाले । युवराज ज्ञवाली, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतले आफूहरुले यसबारे बोल्न पाउनुपर्ने माग गर्न थाले । अलि पछाडि बसेका केपी ओली पक्षका सुवास नेम्वाङ लगायतले केही भनिरहेको सुनियो । उनीहरु केपी ओलीको पक्षमा बोलिरहेका थिए । नेताहरुले हुटिङ गर्न थालेपछि अध्यक्ष ओलीले आफ्नो भाषणलाई अलि सच्याउने प्रयास गरे । र, उनले भुसालको प्रतिवेदनलाई अर्को उपमा दिए(‘ठीक छ, यो लिखत हो ।’ एमाले बैठकमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न कार्यदल बनाउने विषयमा पनि कुरा उठेको छ । तर, यसबारे निर्णय भएको छैन । बैठक आइतबार पनि जारी रहने एमालेले जनाएको छ । आजको बैठकले आगामी कार्ययोजनाबारे निर्णय गर्ने बताइएको छ ।