२८ दिन पछि क्याम्पसको ताला खुल्यो ।

0
347

 बैतडी, ९ असोज ।  दार्चुलाको लटिनाथ क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि आज खोलिएको छ । तालाबन्दी गर्ने पक्षले नै क्याम्पसमा लगाएको ताला खोलेको हो । क्याम्पसमा नियमानुसार साधारण सभा नबोलाएको, सञ्चालक समिति गठन नगरेको जस्ता कारण देखाएर असन्तुष्ट अभिभावकले गत भदौ १४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए । लटिनाथ क्याम्पसको नियमावली २०६६ मा प्रत्येक तीन वर्षमा नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने, प्रत्येक वर्ष साधारण सभा बोलाउनुपर्ने व्यवस्था गरिएको भए पनि त्यसो नगरेको असन्तुष्ट अभिभावकको आरोप छ । तालाखोलेसँगै असन्तुष्ट अभिभावकहरुले क्याम्पसमा भइरहेको बेथितिविरुद्ध कानुनी प्रक्रिया सुरु गरिसकेकाले तालाबन्दी खोलिएको स्थानीय अभिभावक दिनेश सिंहले जानकारी दिनुभयो । विद्यार्थीको पठनपाठनलाई ध्यानमा राखेर ताला खोलिएको र आफूहरुको आन्दोलन जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।