कन्चनपुर, ११ असोज । विगत दुई महिनादेखि सुदूरपश्चिम क्षेत्रमा सिटामोल अभाव भएको छ । जील्लामा रहेका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव भएको हो । आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । रु. तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उहाँले भन्नुभयो – “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।” “नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।” उहाँले भन्नुभयो – “दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।” जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रुपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब दुई करोड चक्की सिटामोल खपत हुन्छ । स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उहाँले बताउनुभयो । त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षात्मा हुने पानीजन्य रोगका औषधि अभाव छ । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत हेमराज जोशीले सिटामोल केहीदिनअघि मात्रै स्थानीय बजारबाट खरिद गरी स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “बजारबाट रु. तीन लाखको सिटामोल खरिद गरेका छौँ ।” अन्य औषधि खरिदका लागि केहीदिन भित्रै टेन्डर हुने पनि बताउनुभयो । गत वर्ष पनि कञ्चनपुरका ठेक्का प्रक्रिया ढिलो हुँदा जिल्लामा औषधि अभाव भएको थियो । “सबै औषधि अभाव छ भन्ने होइन ।” जोशीले भन्नुभयो – “एकाध किसिमको औषधि अभाव भएको हो ।” कञ्चनपुरमा वार्षिक रु. ५५ लाखको औषधि खरिदका लागि टेन्डर हुन्छ । डेढ महिनासम्ममा औषधि अभाव नहुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।