जलबायु परिवर्तनको असर धौलागिरि हिमालमा,सेता हिमाल कालो बन्दै ।

0
366

 म्याग्दी, ११ असोज ।  हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर क्रमिक रुपमा देखिन थालेको छ ।दिनानुदिन अस्वाभाविक रुपमा तापक्रममा बढ्ने क्रमसँगै म्याग्दीको मुदी गाविसमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय गर्मीयाममा भने हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका पर्यटन व्यवसायी हरि तिलिजाले बताउनुभयो । तिलिजाले भन्नुभयो “पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भागमा काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा हिउँले पुरिने भाग गर्मीयाममा नाङ्गिएको देखिन्छ”, । धौलागिरि आधार शिविरभन्दा एक दिन नजिकको पैदल दूरीमा रहेको इटाली आधार शिविरमा विगत २६ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका तिलिजाले अस्वाभाविक रुपमा तामक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाउनुभयो । स्थानीयवासीका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ । पहिले पुस महिनामा भारी हिमपात हुने भएपनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुने खतरा बढेको धौलागिरि आधार शिविर जाने पदमार्गअन्तर्गत दोबानमा होटल व्यवसाय गर्दै आउनुभएका मुदीका बासिन्दा बोमबहादुर पुनले बताउनुभयो । धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षौँदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह समेत घट्दै गएको पाइएको छ । विगत ६÷७ वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्ने क्रमले करिब पाँच मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको मुदीका पर्यटन व्यवसायी तिलिजाले जानकारी दिनुभयो ।
तिलिजाका अनुसार पहिले जापानी शिविरदेखि केही तलको भू–भागमा पनि प्रशस्त मात्रामा वर्षौंदेखि हिउँ जमेर बनेको हिमताल रहे पनि अहिले ती सबै पग्लिसकेका छन् । “पहिले यस क्षेत्रका यी सबै डाँडाकाँडा बाह्रैमास सेताम्मे हुन्थ्यो,” धौलागिरि आधार शिविर नजिकैबाट काला पहाडलाई देखाउँदै तिलिजाले भन्नुभयो, “अहिले त चैत महिना सुरु हुनासाथ पुस–माघ महिनामा थुप्रिएको हिउँ पग्लिएर सकिन्छ । हिमालकै तल्लो भागसमेत हिउँले ढाकिन्न ।” धौलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा समेत कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको गुर्जाका स्थानीयवासी झकबहादुर छन्त्यालले बताउनुभयो । हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको छन्त्यालको भनाइ छ । “अहिले बर्सेनि हिउँ पर्ने क्रम घट्दै गएको छ, पहिले जाडो याममा छ÷सात फिटसम्म हिउँ पथ्र्यो, पुसमा परेको हिउँ पग्लिन हप्तौँ लाग्थ्यो, अहिले मुस्किलले दुई÷तीन फिटसम्म मात्रै हिउँ पर्छ, त्यो पनि एकै दिनमा पग्लिएर बग्छ,” छन्त्यालले भन्नुभयो । हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको छन्त्यालले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको छ । पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । जलवायु परिवर्तनले पछिल्लो समय हिमाली क्षेत्रमा ठूलै समस्या देखाएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो । हालै जिल्ला विकास समितिको सहयोग र धौलागिरि पर्यटन परिषद्को संयोजनमा जिल्लाका सरोकारवालाद्वारा मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरसम्म गरिएको स्थलगत अध्ययन भम्रणका बेला जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने काम भएको थियो । विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमपहिरो बढी जाने, हिमस्खलन बढ्ने, हिमाली क्षेत्रमा पाइने जीवजन्तु सङ्कटमा पर्नेजस्ता समस्या बढेको पाइएको परिषद्का अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।