अधिकारी हत्या बारे अदालती प्रकृया जारी ।

0
861

चितवन, ११ असोज । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगको बहसपछि लिखित बहस नोट पेस गर्न आज आदेश दिएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले दुवै पक्षका अधिवक्ताबाट लिखित बहसनोट पेस गर्न लगाई बहस गर्नुहुने कानुन व्यवसायीलाई सम्बन्धित पक्षमार्फत नै जानकारी गराउन आदेश गरिएको हो । २०७३ साल कात्तिक ५ गते अगावै अदालतमा प्रतिवादीले आ–आफ्ना कानुन व्यवसायीले तयार पारेको लिखित बहस अदालतमा पेस गर्नुपर्ने भएको छ ।

सो नोट पेस गरेपछि मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को पेशी तारिख तोकिने जिल्ला अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले बताउनुभयो । गम्भीर प्रकृतिका मुद्दामा मात्रै लिखित नोट पेस गर्न लगाउने प्रचलन रहेको छ । तीन दिनदेखि सो मुद्धामा अदालतमा बहस चलेको छ ।

यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गर्नुभएको थियो ।