काठमाडौ, २ कात्तिक । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र पशुपन्क्षी विकास मन्त्रालयसँग सम्बन्धित दुईवटा विधेयक पेश हुने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । दुवै मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्दै आउनु भएको छ । ती दुई विधेयक प्रधानमन्त्री प्रचण्ड आफैंले प्रस्तुत गर्ने कार्यसूची रहेको छ तर उहाँले अरु कसैलाई पनि प्रस्तुत गर्न लगाउन सक्ने व्यवस्था हुने कुईंकेलले जानकारी दिनुभयो । महिला मन्त्रालयको अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी र पशु विकास मन्त्रालयको नेपाल पशु चिकित्सा सम्बन्धी संशोधन विधेयक विचार गरियोस् भनेर आज पेश हुन लागेको हो । त्यस्तै सिंचाइ मन्त्री दिपक गिरीले भूमिगत जलस्रोत सम्बन्धी विधेयक र सिंचाइ विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कार्यसूची रहेको छ ।