कार्तिक २ काठमाण्डौ । गतवर्षको भूकम्पले क्षति पुर्याएका विद्यालय तथा कक्षाकोठाको पुननिर्माण कार्य सुस्त भएपछि समग्र शैक्षिक उपलब्धिमा ह्रास आएको विद्यालय सञ्चालकले बताएका छन्।
भूकम्पपछि बनाइएका अस्थायी शिक्षण केन्द्रहरू समेत जीर्ण बन्न थालेपछि झन् चिन्ता बढेको उनीहरुको भनाइ छ। भूकम्पका कारण करिब ३१ हजार कक्षा कोठामा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्यांक छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूले आर्थिक व्यवस्थापनमा कुनै समस्या नआए तीन वर्षभित्र विद्यालय पुनर्निर्माणका सबै काम सकिने बताएका छन्।
तर स्थानीय तहमा भने पुनर्निर्माणको छाँटकाँट हेर्दा त्यो लक्ष्य भेट्न कठिन देखिने जानकारहरु बताउँछन्।
तर अहिलेसम्मपनि त्यसको पुनर्निर्माण हुन सकेको छैन।
भत्केको भवनको छेवैमा उभिएर विद्यालयका प्रधानाध्यापक हरिप्रसाद राजथलाले धेरै पटक ताकेता गरे पनि पुनर्निर्माणको काम हुन नसकेको भने, “कहिले हुरीवतास आउँछ त कहिले पानी पर्छ। यो अस्थायी टहरामा एउटा कोठामा पढाएको आवाजले अर्को कोठामा असर गर्छ। पठनपाठनको गुणस्तरमा निकै नोक्सानी भइरहेको छ।”
सन्तकृष्ण प्राथमिक विद्यालय जस्तै देशका हजारौँ विद्यालयहरु पुनर्निर्माणको प्रतीक्षामा रहेका छन्।
विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको बारे पुनर्निर्माण प्राधिकरणका अधिकृत इमनारायण श्रेष्ठ भन्छन्, “शिक्षा विभागको स्रोत अनि एशियाली विकास ब्याँक र जापानी सहयोग नियोग जाइकाको सहयोग हुने छ। अन्य गैरसरकारी संस्थाहरुले पनि सहायता दिंदैछन्। सबैतिरबाट बजेटको व्यवस्था हुन सके तीन वर्षभित्र विद्यालय पुनर्निर्माण गर्न सकिन्छ।”
कतिपयले विद्यालय जस्तो महत्वपूर्ण संरचनाको पुनर्निर्माणमा पनि राज्यले तदारुकता देखाउन नसकेको आरोप लगाउने गरेका छन्।
लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएका विद्यालयको पुनर्निर्माणमा धेरै ढिलाई भए कालान्तरमा शैक्षिक क्षेत्रमा त्यसको नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन्।