जनकपुरधाम, ४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणका समयमा जनकपुरको पनि भ्रमण गर्ने इच्छा देखाए पछि नगरको मुहार फेरिने भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणलाई भव्य र सौहार्दपूर्ण ढङ्गले सफल बनाउन शहरलाई सुन्दर बनाउने कार्य सुरु भएको छ । भारतीय राष्ट्रपति मुखर्जीको जानकी मन्दिरमा पूजाअर्चना र सहिद पथ जनकपुर–यदुकोहा हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा मुखर्जीलाई जनकपुर उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन, मिथिलाको संस्कृतिअनुसार स्वागत र मिथिला संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम पनि रहेको छ ।
भारतीय राष्ट्रपतिको यही कात्तिक १९ गते हुने जनकपुर भ्रमणलाई ध्यानमा राख्दै नेपाल र भारतका सुरक्षा अधिकारीबीच सुरक्षा रणनीतिबारे छलफल भइरहेको जानकारी दिँदै प्रजिअ चापागाईंले राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिर परिसरमै नागरिक अभिनन्दन गरिने र सडक शिलान्यास हुने स्थलसम्म सरसफाइ, सडक स्तरोन्नति र स्वागतद्वार निर्माणका कार्ययोजना तय गरिएको बताउनुभयो ।
धार्मिक दृष्टिकोणबाट ऐतिहासीक स्थान भए पनि जनकपुर फोहोर मैलाका कारण अब्यबस्थीत शहरको परिचय बनाउंदै आएकोमा भारतीय राष्ट्रपतिको छाटो भ्रमण हुने भए पछि जनकपुरको स्वरुप फेरीने भएकोमा स्थानीय दंग छन् ।