विदेशी कलेजलाई सञ्चालन तत्काल बन्द गर्न संसदीय समीतिको निर्देशन

0
306

काठमाडौँ, ४ कात्तिक । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले उच्च शिक्षाको समग्र व्यवस्थापन र सुधारका लागि एक उपसमिति गठन गर्ने निर्णय गरेकाले त्यसको प्रतिवेदन नआउन्जेलसम्मका लागि विदेशी शिक्षण संस्थाका सम्बन्धन रोक्न निर्देशन दिएको हो । यो निर्णयले यसअघि सम्बन्धन पाइसकेका संस्थालाई भने कुनै बाधा गर्ने छैन ।
जथाभावी रुपमा सम्बन्धन दिइएको तथा महँगो शुल्क लिइएको गुनासो आएपछि समितिले त्यसबारे अध्ययन गर्ने भएको हो । समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिले सो समितिलाई दिने प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयलाई थप निर्देशन दिने बताउनुभयो ।

समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री धनीराम पौडेलले नयाँ संविधान बमोजिम उच्च शिक्षा ऐन संसद्मा पेस गर्ने तयारी भएको, समग्र शिक्षाको नीति तर्जुमाका लागि उच्चस्तरीय आयोग गठन प्रक्रिया अन्तिम चरणमा पुगेको, शिक्षा नियमावली संशोधनबारे सरोकारवालाको सुझाव मागिएको बताउनुभयो ।