पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो ।

0
494

पोखरा, ५ कात्तिक । विश्वमै पर्यटकीयरुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पु¥याएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको होटेलका सञ्चालकहरू बताउँछन् ।

पोखराको पर्यटनको मुख्य याम अक्टोबर र नोभेम्बर महिना भए पनि यस याममा अपेक्षित विदेशी पर्यटक पोखरामा नआएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली बताउनुहुन्छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटन यस वर्ष सुधार हुने अपेक्षा भए पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन नसकेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा पोखरामा आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको बताउँदै पराजुलीले दसैँ पछिको केही दिन भने आन्तरिक पर्यटकका कारण पोखराका होटेल भरिभराउ भएको जानकारी दिनुभयो । भूकम्पअघि नेपालमा वार्षिक आठ लाखको सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको भएपनि गत वर्ष लगभग पाँच लाखको सङ्ख्यामा विदेशी पर्यटक आएको पराजुलीको भनाइ छ ।