नयाँ दिल्ली , ५ कात्तिक । भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन् ।
बैंक अधिकारीले हजारौँ कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ ।
एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या आएको अधिकारीले बताएका छन् ।
यसैबीच भारतीय अर्थमन्त्री अरुण जेटलीले डेबिट कार्डमा कसरी यस्तो समस्या आयो भन्ने विषयमा छानबिन सुरु गरिएको बताउनुभएको छ ।
भारतको नेसनल पेमेन्ट कर्पोरेसन एनसीपीआईले ग्राहकबाट कार्डमा समस्या आएको बताएपछि बैंकबाट गरिने खुद्रा भुक्तानी प्रणालीलाई नियन्त्रण गरेको छ ।
संस्थाका अनुसार ग्राहकले आफ्ना कार्डलाई चीन र अमेरिकामा अवैध रुपमा प्रयोग गरेको गुनासो ल्याएपछि एनसीपीआईले सम्पूर्ण बैंकलाई उक्त सूचना प्रवाह गरेको छ ।