तत्काल राजीनामा गर्न लोकमानलाई नेबिसंघ सभापतिको सुझाव ।

0
853

कार्तिक ७ काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले तत्काल राजीनामा दिए उनलाई पनि राम्रो हुने बताउनु भएको छ । संयुक्त विद्यार्थी संगठनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पारित गरेर हटाउनुपर्ने माग गर्दै उच्च नेतालाई ज्ञापनपत्र बुझाइरहेकै बेला महरले यस्तो बताएका हुन् ।
शनिबार संयुक्त विद्यार्थी संगठनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमै पुगेर कार्कीलाई महाअभियोग लगाएर हटाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । संयुक्त विद्यार्थी संगठनले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
निर्वाचित भएपछि गृहक्षेत्र सुदूरपश्चिमको भ्रमणमा पुगेका नेवि संघका केन्द्रीय सभापति महरले निलम्बित अख्तियार प्रमुख कार्कीले राजीनामा दिनु उपयुक्त हुने विचार व्यक्त गरेका हुन् । ‘दलहरुले कार्कीलाई नियुक्त गर्दा नै एउटा गल्ती गरे, संवैधानिक निकायमा कार्कीजस्तो विवादास्पद व्यक्तिलाई नियुक्ति गर्नु गल्ती थियो’, महरले भने, ‘अब फेरि कार्कीको नाममा नेपाली समाजलाई विभक्त गर्नु अर्को गल्ती हुने छ ।’ महरले कानुनी राज्यको सम्मान र निलम्बनमा परिसकेपछि महाअभियोग लाग्नुभन्दा कार्कीले राजीनामा दिएर सामान्य जीवन विताउनु उपयुक्त हुने बताएका छन् ।

हिजोका दिनमा दलहरुले विवादास्पद छवीको व्यक्तिलाई अख्तियार प्रमुख बनाएर सबैले गल्ती गरेको बताउँदै महरले भने, ‘अब तिनै कार्कीको नाममा समाजलाई पक्ष र विपक्षमा उभिने आधार तयार पार्नु राजनीतिक दलहरुको अर्को गल्ती हुने छ ।’ उनले कार्कीले पनि अपमानित तरिकाले महाअभियोग लागेर कालो इतिहास बनाउनुभन्दा राजीनामा दिएर उम्कनु उपयुक्त हुने सुझाएका छन् ।