शान्ती प्रकृया र बिकासमा भारतको साथ : मुखर्जी ।

0
606
Preparations for the welcome of Indian President Pranab Mukherjee are seen on the eve of Mukharjee’s visit, in Pokhara, on Thursday, November 3, 2016. Photo: Bharat Koirala/ THT

पोखरा, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको विकास र शान्तिको यात्रामा भारत सँगसँगै सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।नेपाली भारतीय भूतपूर्व सैनिकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै मजबुत बनाउनुपर्ने धारणा राख्नु भयो ।पोखराको सुन्दर नगरीमा आउन पाएर भूतपूर्व गोरखा सैनिकलाई भेट्न पाउँदा आफू हर्षित बनेको उहाँले बताउनुभयो ।पछिल्लो वर्षमा नेपालमा आएको विनाशकारी भूकम्पका कारण नेपाल तथा नेपाली जनताले जीवन तथा सम्पत्तिको दुर्भाग्यपूर्ण क्षति बेहोर्नु परेकोप्रति उहाँले भारतीय जनता र आफ्नो व्यक्तिगततर्फबाट दुःख एवम् समवेदना व्यक्त गर्नुभयो ।भारत सरकार गत वर्षको विनाशकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि पूर्णरुपमा वचनबद्ध रहेको र यसका लागि नेपाल सरकारका साथमा काम गरिरहेको बताउँदै उहाँले भूकम्प प्रभावित छ हजार ८३२ पूर्वसैनिकको सहायताका लागि प्रति पेन्सनर रु ३२ हजार वितरण गरिएको जानकारी दिनुभयो ।

पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताउँदै राष्ट्रपति मुखर्जीले गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण गर्नुभयो । भारतमा ३२ हजार गोर्खा सैनिक सेवारत रहेको र अरु लगभग एक लाख २६ हजार पूर्वसैनिक र तिनका आश्रित नेपालमा पेन्सनको लाभ लिएको उहाँले उल्लेख गर्नुभयो । पूर्वगोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका साथ काम गरेको चर्चा गर्दै उहाँले भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएको धारणा राख्नु भयो ।