कार्तिक २१ बिबिसी । अमेरिकाको राष्ट्रपतीय चुनाव आउन दुईदिन मात्रै बाँकी रहँदा दुवै उम्मेदवार हिलरी क्लिन्टन र डोनल्ड ट्रम्प मुख्य राज्य फ्लोरिडामा आफ्नो पक्षमा मत जुटाउन लागि परेका छन्।
फ्लोरिडापछि उनीहरुले निर्णायक हुने राज्यहरुमा आफ्नो चुनावी र्याली आयोजना गरिरहेका छन्।
मत सर्वेक्षणहरुका अनुसार मुख्य राज्यहरुमा अझै क्लिन्टन अगाडि छिन्।
रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले अब चुनाव आउन दुई दिनमात्रै बाँकी रहँदा डेमोक्र्याटहरुको बलियो पकड रहेको ठानिएका राज्यहरुमा आफ्नो चुनावी र्यालीलाई केन्द्रित गर्ने बताएका छन्।
सन् १९७२ यता रिपब्लिकनले जित्न नसकेका राज्यहरु पेन्सिलभेनिया, मिसिगन र मिनेसोटामा ट्रम्पले आफ्नो भ्रमण केन्द्रित गर्नेछन्।
उनले शनिबारबाट चारवटा अनिर्णित राज्यहरुमा आफ्नो चुनावी र्याली थालेका छन् जसको शुरुवात उनले फ्लोरिडा राज्यबाट गरे, जहाँ उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले पनि आफ्नो चुनावी अभियान चलाइन्।
ट्रम्पले डेमोक्र्याटहरुको बलियो पकड रहेको मिनेसोटोमा भ्रमण गर्ने योजना गरिरहेका छन् जहाँ रिपब्लिकनहरुले ४० वर्ष भन्दा लामो समयदेखि जित्न सकेका छैनन्।
नभाडा राज्यमा चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा सुरक्षासम्बन्धी केही खतरा देखिएको भन्दै ट्रम्पको सुरक्षामा खटिएकाहरुले उनलाई भित्र कोठामा लगे। तर पछि उनी मञ्चमै फर्किएका थिए।
राष्ट्रपति पदमा निर्वाचित हुनका लागि उम्मेदवारहरुले विशेष मतदाता समूह इलेक्टोरल कलेजको २ सय ७० मत पाउनुपर्नेछ।
फ्लोरिडा राज्यमा मात्रै उक्त मतको संख्या २९ छ।
क्लिन्टनले फ्लोरिडापछि आफ्नो चुनावी र्याली पेन्सिलभेनियामा गायिक केटी पेरीसँग देखापरेकी थिइन्।