बिद्यालय सञ्चालन गर्न देउसी खेलेर ५ लाख सङकलन ।

0
370

पाल्पा, २१कार्तिक । पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२ बगैँचास्थित कालिका माविका शिक्षक विद्यार्थीले देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन गरेका छन् ।

मावि तहको ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग गाविसभित्रका प्रत्येक घरधुरीमा देउसीभैलो खेलेको विद्यालयले जनाएको छ । विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा दशसम्म पढाइ सञ्चालन भए पनि मावि तहका दुई कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो ।

मावि सञ्चालनका लागि देउसीभैलो खेल्दा गाविसवासीले पाँच सय देखि १२ हजारसम्म आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । वडा वडामा देउसीभैलो खेल्दै शिक्षक र विद्यार्थी पुग्दा स्थानीय बासिन्दा खुसी देखिएका थिए । ०५६ सालमा कक्षा १० सम्मको पढाइ हुँदै आए पनि एसएलसीपछिको पढ्न यहाँका विद्यार्थी छहरा, पालुङ्गमैनादी गाविसमा धाउनुपर्ने बाध्यता रहेको छ ।