धरहरा निर्माणका लागी सेनाद्धारा प्रमलाई चेक हस्तान्तरण।

0
795

 काठमाडौँ, २२ कात्तिक ।  विसं. २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काठमाडौँको मध्यभागमा रहेको नौ तले धरहरा क्ष्तिग्रस्त भएपछि यसको पुन. निर्माणको लागी नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई रु. छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रको गौरवका रुपमा रहेको ऐतिहासिक धरहरा निर्माणमा सबै मुलुकवासीको सहभागिता रहोस् भनी ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने नारा दिई निर्माणमा सहयोग गर्न आह्वान गरेको थियो । राजधानी घुम्न आउने स्वदेशी तथा विदेशीका लागि रास्ट्रकै आकर्षणको केन्द्रका रुपमा रहँदै आएको धरहरालाई पुरानो पहिचान खुल्ने गरी आधुनिक ढङ्गबाट निर्माण गरिने धरहरा ११ तलाको हुनेछ । हालको टक्सार विभाग र गोश्वारा हुलाकको जग्गालाई समेटेर ४२ रोपनी जग्गामा धरहरा निर्माण गर्ने निर्णय सरकारबाट भइसकेको छ । २४५ फिट अग्लो हुने भनिएको धरहरा निर्माण थालनी भएको तीन वर्षमा पूरा हुनेछ । धरहरा निर्माणका लागि पुरातत्व विभागको अगुवाइमा काम अघि बढिरहेको छ ।प्रारम्भिक अनुसन्धान अनुसार आठ रिक्टर स्केलको भूकम्प थेग्ने उक्त धरहरा निर्माणका लागि करिब रु. तीन अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।