भारु.पाँचसय र हजारका नोटमा प्रतिबन्ध,नेपाली बजारमा पर्यो प्रत्यक्ष असर ।

0
345

काठमाण्डौँ, २४ कात्तिक ।  भारतले मंगलबार रातिदेखि भारु. पाँच सय र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाएको छ । तर त्यसको प्रत्यक्ष असर भने नेपाली मुद्रा बजारमा पर्ने भएको छ । नेपाल भारत जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक तथा भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो । भारतसँग एक हजार ८०० किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौँ नेपाली नागरिकसँग अर्बौ रकम भएको अनुमान छ । त्यस क्षेत्रका नागरिकले दैनिक कारोबारका लागि राखेका भारु एक हजारदेखि लाखसम्म रह्यो भने पनि त्यसको ठूलो असर पर्छ । त्यसैगरी भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्न सक्ने भने पनि त्यसका लागि राखिएको प्रावधान नेपालीका लागि जटिल हुने देखिएको छ । भारतले राहदानी र स्थायी लेखा नम्बर प्यान सहित उक्त दरका नोट साट्न सक्ने प्रावधानले नेपालीलाई नराम्रो असर पार्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले आजै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ । त्यसैगरी भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ । भारतीय मुद्रा अपरिवर्तीय भएकाले नेपाल र भुटानमा मात्र भारतीय मुद्रा चलन चल्तीमा छ । त्यसका लागि यी दुई मुलुकले भारतबाटै मुद्रा ल्याउँदै आएका थिए । नेपालमा पहिले रेलमार्फत ल्याइन्थ्यो भने अहिले हवाई जहाजबाट ल्याउने गरिएको छ । भारतीय कानुनले नेपालमा भारु. ५०० र एक हजार दरका नोटको कारोबारमा सन् २००२ देखि प्रतिबन्ध लगाएको भए पनि सन् २०१५ पछि भारु २५ हजारसम्म उक्त दरका नोट ब्यावहारतः कारोबार गर्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार भारतीय सरकारले भारतीय पैसा नचलाउ भनेपछि नेपालमा उक्त दरका नोट पूर्णरुपमा प्रतिबन्ध हुन्छ । उनले नेपालको बैंकिङ् प्रणालीमा रहेका उक्त दरका नोटका विषयमा भने नेपाल राष्ट्र बैंक र सरकारले नै कूटनीतिक तवरले समाधान गर्ने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गबार राष्ट्रको नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु. ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।