बिश्वकप छनौटमा ब्राजिलको जित,मेस्सी निरीह बन्दा अर्जेन्टीना पराजित ।

0
479

कार्तिक २६ काठमाडौं । विश्वकप छनौट फुटबलमा ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि जित हात पारेको छ । शुक्रबार विहान भएको सुपर क्लासिको मानिएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपको थियो । लिओनल मेस्सी, सर्जिओ एग्युरो र गोन्जालो हिगुइनसहितको फ्रन्ट लाइन भएको अर्जेन्टिना घरेलु टोलीसामू निरिह जस्तै देखिएको थियो ।

ब्राजिलले २५ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नयेमारले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि घरेलु टोली ब्राजिलले जित सुनिश्चित गरेको थियो ।

यो जितसँगै ब्राजिल ११ खेलबाट २४ अंकका साथ विश्वकप छनौटको दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिना भने १६ अंकसहित छैटौं स्थानमा छ ।