आइओएमको डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त, डा केसीले गरे अनशनको तयारी ।

0
603

काठमाडौँ, २८ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त हुनुभएको छ ।

त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि नयां डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।

त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई आज नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिनुभयो । विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त हुनुभएका उहाँले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसक्नुभएका प्रा डा गोबिन्द केसीले भने आइओएमको डिन नियुक्ति वरिष्ठताका आधारमा नभएकाले यसलाई नसच्याए आज अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिनुभएको छ । डा केसीले शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति वरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिनुभएको थियो । त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्रा डा सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो ।

डा केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिनुभयो ।