गोरखा, २९ कात्तिक । गोरखा सदरमुकामस्थित जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि चिकित्सक नहुँदा बिरामीहरु सेवाबाट बन्चित भएका छन् । दिनहुँ ३०० जनाजसो बिरामी उपचारका लागि अस्पताल आए पनि विशेषज्ञ सेवा नपाउँदा काठमाडौँ र चितवनका अस्पतालमा धाउन बाध्य छन् ।अस्पताल प्रमुख सुधा देवकोटाका अनुसार दरबन्दीअनुसारका चिकित्सक अस्पताल नआउँदा उपचार सेवा दिन असहज भएको हो । विशेषज्ञ तहको एनेस्थेसियोलोजिस्ट, अर्थोपेडिक सर्जन, पेडियाट्रिसियन, रेडियोलोजिस्ट, सर्जन र साइक्यास्टिकलगायत विशेषज्ञको दरबन्दी भए पनि जनशक्ति अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपरेको देबकोटाले बताउनुभयो ।
अस्पतालमा चारजना मेडिकल अधिकृत, नायब सुब्बा, फिजियोथेरापिस्ट, कम्प्युटर अपरेटरलगायतको पद पनि रिक्त भएको लामो समय भइसकेको छ । दरबन्दीअनुसारका चिकित्सक ल्याउन तथा रिक्त दरबन्दीमा नयाँ कर्मचारी राख्न नसकिएको देवकोटाको भनाइ छ । ५० शैय्या क्षमतामा विस्तार भएको अस्पतालमा गतिलो उपचार सेवा नहुँदा बिरामी मारमा परेका छन् चिकित्सक ल्याउन पहल गरे पनि ठूला सहरका भन्दा सेवा, सुविधा कम हुने भएपछि विशेषज्ञ चिकित्सक ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । सरकार परिवर्तनसँगै अस्पताल विकास समितिका अध्यक्ष परिवर्तन हुँदा झन अस्पताल सञ्चालनमा समस्या भएको हो । अस्पतालमा सेवा खस्कँदै जाँदा अस्पतालको वरपर खुलेका मेडिकलमा बिरामी स्वास्थ्य परीक्षण र औषधि खरिद गर्न बाध्य छन् ।