काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा रुटमा नयाँ बस सन्चालमा ल्याउने भएको छ । भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ साझा बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते रुट पर्मिट का लागि पत्राचार गरेको थियो । सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटामा ३० वटा नयाँ र हाल सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए । रुट नं १. मा लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी चोक हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी बस सञ्चालन हुनेछ ।
त्यस्तै, रुट नं २. मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगङ्गा, गौशाला, रातोपुल, जैनभवन, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, नयाँसडक, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार, बालाजु वाइपास हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी हुनेछ ।
रुट नं ३. अन्तर्गत कोटेश्वर, तीनकुने, मीनभवन, बानेश्वर, माइतीघर, सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, रविभवन, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म बस चल्नेछ । यी तीनवटै रुटमा नयाँ बस सञ्चालन हुने साझाले जानकारी दिएको छ ।
त्यसैगरी, रुट नं ४. मा ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, नयाँसडक, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, सहिद गङ्गालाल, हात्तीगौडा हुँदै बूढानीलकण्ठसम्म दुईतर्फी आठवटा पुराना बस सञ्चालन गरिने छ ।
साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् ।