काठमाडौँ, १ मङ्सिर । बबरमहलस्थित नेपाल कला परिषद्मा चार दिनदेखि जारी ‘पहिलो अन्तर्राष्ट्रिय नेपाल कला सङ्गोष्ठी’ सम्पन्न भएको छ ।
नेपाल कला परिषद्, न्यू आर्टस् सर्कल र भारतको एसएमडी फाउन्डेसनको संयुक्त आयोजनामा यही कात्तिक २७ गतेदेखि सुरु भएको सो कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र लेवनानका ३६ कलाकारले एकापसमा विचार आदानप्रदान गरेका थिए ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाकारका ९५ चित्र प्रदर्शनीमा राखिएका थिए भने उनीहरुले त्यहीँ आयोजित कला कार्यशालामा सिर्जना गरेका करिब दुई दर्जन विभिन्न चित्रकला परिषद्को बागमती कला सङ्ग्रहालयलाई उपहार प्रदान गरिएको छ । उक्त सङ्गोष्ठीअन्तर्गत विदेशी कलाकारलाई स्वयम्भू, बौद्धनाथलगायतका सम्पदास्थल अवलोकन गराइएको थियो ।
नेपाल कला परिषद्का महासचिव शङ्करनाथ रिमालले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै स्वदेशी तथा विदेशी कलाकारको सहभागितामा भएको उक्त कार्यक्रममा कलाकारले सिर्जना गरेका विभिन्न कलाकृतिले सम्बन्धित मुलुकको सांस्कृतिक सम्बन्धलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।