२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

मकवानपुर । मुख्यमन्त्री नियुक्त भएको हप्ता दिनमै बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् ।

एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिने तयारी गरेका हुन् । गत साउन २० मा नेपालको संविधानको दफा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअनुसार उनले साउन २७ का लागि प्रदेश सभा बैठक बोलाउन सभामुख भुवनकुमार पाठकलाई जानकारी गराइसकेका छन् । सभामुख पाठकले औपचारिक पत्र प्राप्त भएपछि बैठकको समय निर्धारण हुने बताएका छन् ।

कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले आफ्नै दलका तत्कालीन नेता बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै दल नेतामा विजयी भएका थिए । त्यसपछि दलको दबाबमा लामा मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य बनेका थिए ।

साउन २० मा सत्ता सम्हालेका बानियाँले साउन १२ मा एक विना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्रीलाई मन्त्रिपरिषद्मा समावेश गरेका छन् । बागमती प्रदेशमा १४ मन्त्रालयमध्ये गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाउने सहमति भए पनि हालसम्म ६ मन्त्रालयको जिम्मा बानियाँकै काँधमा रहेको छ । विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकारले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालबीचको ‘वाकयुद्ध’ झनझन लम्बिएर गइरहेको छ । सम्मानीत नेता खनालले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएपछि सुरु भएको ‘वाकयुद्ध’ रोकिनुको सट्टा झन बढ्दै गएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लक्षित फेरि अर्को टिप्पणी गरेका छन् । राजधानीमा आयोजित पार्टी निकट उद्योगी व्यवसायीको कार्यक्रममा नेपालले पार्टीको निर्णय पार्टीको पक्षमा, पार्टीको प्रतिष्ठा बढाउन, पार्टीको हितको रक्षा गर्न, अनुशासनको पालना गर्नका लागि भएको प्रष्ट्याएका छन् ।

एमाले फुटाउनुको औचित्य पुष्टि नभएको खनालको अभिव्यक्तिलाइ लक्षित गर्दै नेपालले भने, ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनु पर्‍यो विद्रोह ठिक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !’

उनले आफूहरू एमालेबाट छुट्टिने आँट गरेर ठिक गरेको जिकिर गरेका छन् । नेपालले भने, ‘हामीले ठिक गर्‍यौं, आँट गर्‍यौं । पहिलो गाँसमा ढुंगा हैन, सुनको सिक्का पायौं । संविधान मिच्ने, उल्लंघन गर्ने गलत परम्परा बसाल्ने काम भइरहेको थियो । यसको विरुद्ध विद्रोह गर्‍यौं, खुलेआम सडकमा आयौं, अदालत पनि गयौं, मुद्दा पनि दियौं राजनीतिक लडाइँ पनि लड्यौं । सबै लडाइँमा जित्यौं ।’

‘१६ वर्षमै बच्चा जन्माए त झन ओलीले पुरस्कार नै दिन्छन् होला’
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् । उनले १६ वर्षमा बिहे गरे ओली झन खुशी हुन सक्ने बताए । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनु पर्छ भनिरहेका छन् ।’

काठमाडौं । प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजीमा आमा र बहिनी सोमबार आफै इजरायल जाने भएका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई लैजान लागेको हो ।

विपिनका दाइ किशोरले सोमबारका लागि नेपालमा रहेको इजरायली दूतावासले उनीहरूका लागि टिकट नै काटिदिएको जनाएका छन् । इजरायल जान आमा र बहिनी कञ्चनपुरबाट काठमाडौं आएका छन् ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ । केही दिनपछि हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडियोमा देखिएपनि सोपछि विपिनको अवस्था अज्ञात छ ।

सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन् । युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो । त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए । हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो ।

उनको रिहाइका लागि नेपाल सरकारसहित अन्तर्राष्ट्रिय संघसंस्थाले दबाब बनाए पनि अहिलेसम्म सम्भव देखिएको छैन । थप अन्तर्राष्ट्रिय दबाब दिन इजरायलले आमा र बहिनीलाई उतै लैजान लागेको हो ।

काठमाडौँ । भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढी पहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भए पनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्धारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।

‘बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था ,हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार,घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ, ’दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव फेला परेको छ। उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात् आएको बाढीमा पाँच जना नेपाली बेपत्ता भएका छन्।

घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्किएको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

धनगढी । सत्तारुढ नेकपा एमाले सुदूरपश्चिम इचार्ज तथा सचिव लेखराज भट्टले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै नेतृत्वलाई छिटो बुझ्न कठिन हुने टिप्पणी गरेका छन् ।

प्रेस चौतरी नेपाल सुदरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने बताए । ‘नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो । ओली ज्यूलाई छोटो समयमा पढ्न सकिँदैन । म पनि उहाँलाई पढ्दैछु’, उनले भने ।

उनले ओलीलाई बुझ्न अध्ययन, अनुसन्धान गर्नुपर्ने समेत बताएका छन् । ‘उहाँ कतिखेर के कदम चाल्नु हुन्छ भन्ने हामीले बुझ्न सक्दैनौं, चालेपछि बल्ल थाहा हुन्छ । एउटा संघर्ष, इतिहास निर्माणबाट आउनु भएको छ ।’

नेकपाकालको अन्तरसंघर्षमा ओलीलाई कारबाही गरिसकेपछि अब पार्टी बन्छ त ? भन्ने प्रश्नबीच पार्टी बन्छ भन्ने आत्मविश्वास साथ आफूले ओलीलाई साथ दिएको भट्टले बताएका छन् । उनले ओलीको सोच विशाल रहेको दावी गर्दै भने, ‘महाकाली किनारबाट उहाँले मेची किनार देख्नु हुन्छ । म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।’

काठमाडौं । निजामती कर्मचारीसम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’ कीर्ते विवादमा परेका राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडामाथि ‘कुलिङ पिरियड कीर्ते’ मा नैतिक प्रश्न उठाएपछि राजीनामाको सोंचमा पुगेको स्रोतले जनाएको छ ।

खतिवडाले आफ्नो गल्ती नभएको, संसदीय समितिले पनि दोषी किटान नगरेको अवस्था भए पनि ‘नैतिक प्रश्न’ भने उठाएकाले राजीनामा दिने मनसायमा पुगेको उनी निकट एक कांग्रेस नेताले सुनाए।

‘उहाँ आफै कुलिङ अफ पिरियडको पक्षधर रहेको, त्यसमा आफ्नो गल्ती नभएको भए पनि आफैले मागेको संसदीय छानबिन समितिले नैतिक प्रश्न उठाएपछि राजीनामा दिनुपर्छ भन्ने मुडमा हुनुहुन्छ,’ तीन नेता भन्छन्, ‘देशमा नैतिकताको खडेरी रहेका बेला नैतिक प्रश्न उठिसकेपछि बाहिरिनु उत्तम हुन्छ भन्ने उहाँको बुझाइ छ ।’

राजीनामाको मुडमा पुगिसकेपछि खतिवडाले पार्टीका शीर्ष नेतासँग छलफल पनि गरिरहेको स्रोतले बताएको छ । ‘उहाँले सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल परामर्श पनि गरिसक्नु भएको छ,’ ती नेताले भने ।

खतिवडाले यसअघि नै नैतिक रूपमा पद छाडिसकेको पनि ती नेताले बताए । ‘समिति बनेदेखि समिति जानुभएको छैन, गाडी फिर्ता गरिसक्नु भयो,’ उनले भने । पार्टी नेतासँगको परामर्शपछि अब बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर राजीनामा खतिवडाले राजीनामा दिन सक्ने स्रोतले बताएको छ । उता खतिवडामाथि नैतिक प्रश्न उठेपछि शुक्रबार बिहानै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय थापा र शर्मालाई राखेर छलफल पनि गरेका छन् ।

यसअघि प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती कर्मचारी विधेयकमा राखिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा छेडखानी भएपछि छानबिन गर्न कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा संसदीय समिति गठन भएको थियो। जसको प्रतिवेदनले खतिवडामाथि पनि नैतिक प्रश्न उठाइएको छ । विपक्षी दलहरुले पनि नैतिकताका आधारमा पनि खतिवडाले अब उक्त पदमा बस्ने अधिकार गुमाएको जनाएका छन् ।

काठमाडौं । तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने २३ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।

चित्तबुझ्दो स्पष्टीकरण नभए सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राखिने कार्यालयको सूचनामा उल्लेख छ।

खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि ती कम्पनी सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।

काठमाडौैं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज बृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् ।

बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आए लगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् । उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् ।

‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् । उनले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छन् ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । हालसम्म कम्तिमा २२ नेपाली सम्पर्क विहीन भएको विवरण छ । जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्क विहीन भएको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।