२०८२ जेष्ठ ११ गते शनिबार
२०८२ जेष्ठ ११ गते शनिबार

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । त्यसका साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए ।

 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

प्रहरीले राजावादीको आन्दोलनको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालय स्रोतले प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको जानकारी दियो । प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिलसमक्ष दिएको छ ।

अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन् । २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो ।

त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ । यस्तै यस घटनामा दुर्गा प्रसाईंसहित तीनै जनाविरूद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।

अदालतमा मुद्दा दर्ता गरेसँगै पुर्पक्षको लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ ।

काठमाडौं । आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ ले दिएका सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना ल्याएको हो। गत वैशाख २ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा राजस्व सचिव दिनेशकुमार घिमिरे र उद्योग सचिव कृष्णबहादुर राउत सदस्य रहेको कार्ययोजना निर्माण समिति बनाइएको थियो।

उक्त समितिलाई पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयनका लागि कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको थियो। समितिले खनाल प्रतिवेदन कार्यान्वयनका लागि क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समयसीमासहितको कार्ययोजना तयार पारेको प्रतिवेदनमा उल्लेख छ। ‘सम्बन्धित मन्त्रालयले माइलस्टोनसहित स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना तयार गरी आफ्नो वार्षिक कार्यक्रममा समावेश गरेर कार्ययोजनामा उल्लिखित क्रियाकलापहरू समयमै सम्पन्न गर्नुपर्नेछ’, प्रतिवेदनमा भनिएको छ, ‘यस कार्ययोजनालाई आन्तरिकीकरण गरी विस्तृत कार्ययोजना तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हुनेछ।’

कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहने जनाइएको छ। अर्थतन्त्र सुधारका लागि छ महिनादेखि तीन वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमासहित कार्ययोजना तयार पारिएको छ । बैङ्किङ प्रणालीको सञ्चालन लागत कम गर्न, क्षमता अभिवृद्धि र वित्तीय स्थायित्व काम गर्न कर्जा र निक्षेपको ब्याजदर अन्तर एक वर्षभित्र कम गरिसक्ने लक्ष्य राखिएको छ । यीलगायत कामहरू एक वर्षभित्र गरिसक्नेगरी पनि समयसीमा निर्धारण गरिएको छ । आगामी एक वर्षभित्र अर्थतन्त्रमा ब्याजदर उतारचढावलाई सम्बोधन गर्न ऋणपत्र बजारको विकास गर्ने काम पनि सकिसक्ने भनिएको छ।

मुद्रास्फीति नियन्त्रणका लागि सरकारी खर्च कटौती तथा अप्रत्यक्ष करका दरहरूमा कमी ल्याउने काम पनि एक वर्षभित्र गरिसक्ने कार्ययोजनामा उल्लेख छ । भारतीय रुपैयाँसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने सरकारको योजना छ । यस्तै, आगामी दुई वर्षभित्र विभिन्न १४ वटा ऐन खारेज गरिसक्ने पनि कार्ययोजनामा उल्लेख छ । त्यस्ता ऐनमा आयकर टिकट दस्तुर ऐन २०१९, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, निजी वन जङ्गल राष्ट्रियकरण ऐन २०१३, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०१३, क्षतिपूर्ति ऐन २०१९, बिर्ता उन्मूलन ऐन २०१६ लगायत रहेका छन् । यी ऐन खारेज गर्न समितिले सिफारिस गरेको थियो।

यसैगरी, बिर्तावालले बिर्तामा रकम लगाई लिन खान नपाउने ऐन २०१५, राजस्व चुहावट ऐन २०५२, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१, नेपाल एजेन्सी ऐन २०१४, प्रादेशिक विकास योजनाहरु ऐन २०१३, सामाजिक व्यवहार सुधार ऐन २०३३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४ र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ लाई आगामी दुई वर्षभित्र खारेज गरिसक्ने गरी कार्ययोजना बनाइएको छ।

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने तथा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने काम एक वर्षभित्र सकिसक्ने समेत भनिएको छ । यस्तै, संघीय शासन प्रणाली अनुरुपको प्रशासनिक पुनःसंरचना गर्ने, प्रदेश र स्थानीय तहको खर्चलाई एकल खाता प्रणालीमा ल्याउने, तीनवटै तहका लागि एकीकृत आयोजना बैंक सूचना प्रणाली तयार गरी कार्यान्वयन गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाइएको छ।

लुम्बिनी विकास कोष र पशुपति विकास कोष जस्ता सालबसाली प्रकृतिका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट आगामी छ महिनाभित्र हटाई सक्न भनिएको छ। मूल्य अभिवृद्धि कर ऐनमा कर छलीविरुद्धको सामान्य नियमहरूसम्बन्धी प्रावधान थप गर्ने, अन्तःशुल्क लाग्ने वस्तुहरूको संख्या क्रमशः घटाउँदै जनस्वास्थ्य र पर्यावरणमा दुष्प्रभाव पार्ने वस्तुहरूमा मात्र सीमित गर्ने काम एक वर्षभित्र गरिसक्ने भनिएको छ । प्रदेश तथा स्थानीय तहमा तिर्ने कर तथा गैरकर राजस्वलाई प्यान नम्बरसँग आबद्ध गर्ने, निर्यातमा हुने आयमा १० प्रतिशत मात्र आयकर लगाउने र सरकारको स्वामित्वमा रहेका संस्थानहरुलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गरी निजी क्षेत्रलाई शेयर बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाइएको छ ।

यस्तै, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलाई खारेग गरी यी संस्थाका नाममा रहेको अचल सम्पत्ति सरकारका नाममा ल्याई व्यवस्थापन गर्नका लागि एक वर्षको समय दिइएको छ । यस्तै, हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगलाई गाभेर सरकारको स्वामित्व केही हिस्सा मात्र राखेर बाँकी शेयर निजी क्षेत्रलाई बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाइएको छ। नेपाल वायुसेवा निगमको पुनःसंरचना गरी बाह्य रणनीतिक साझेदार भित्र्याएर व्यावसायिक ढङ्गले व्यवस्थापनको काम आगामी दुई वर्षभित्र गरिसक्ने भनिएको छ । यस्तै, दुग्ध विकास संस्थानलाई सबै प्रदेशमा रहनेगरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्ने काम आगामी दुई वर्षभित्र गरिसक्ने भनिएको छ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुनबमोजिम जग्गा खरिद गर्न सक्ने तर बिक्री गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी जटिलता समाधान र केही विषय थप गर्ने विषयमा छलफल भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

आठौं संशोधनले जग्गा विकासका लागि हदबन्दी भन्दा बढी जग्गा लिन सकिने व्यवस्था गरे पनि बिक्री वितरण गर्न नपाइने नियम व्यावसायिक कार्यान्वयनमा बाधक बनेको कांग्रेसको निष्कर्ष छ । उनले सरकारले अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी तथा दलित सुकुम्वासीको समस्या समाधानका गर्ने गरी ऐन ल्याउने विषयमा समेत छलफल बताए ।

‘भूमिसम्बन्धी ऐनमा मुख्यगरी दुईवटा कुराहरूलाई संशोधन गर्न खोजिएको छ । एउटा, जग्गा विकासका लागि हदबन्दीभन्दा बढी जग्गा लिन पाइने भनेर आठौँ संशोधनले व्यवस्था गरेको छ । बिक्री वितरण पनि गर्न पाउने व्यवस्था गरेको रहेनछ । अब त्यो अनुसार सरोकारवालाले जग्गा किने तर बेच्न पाएनन् । त्यो पनि एउटा व्यवसाय हो नि । त्यो व्यवसायलाई सुचारु गर्नका लागि आठौँ संशोधनलाई परिमार्जन मात्र गर्ने कि केही विषय थप गर्ने विषयमा छलफल भयो’, उनले भने । उनले २०६६ सालभन्दा अगाडि खाली जग्गामा बसोबास गरिरहेका सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने प्रस्तावसहित विधेयक तयार पारिएको उल्लेख गर्दै केही बुँदामा संशोधन गरेर अघि बढ्ने निर्णय भएको बताएका छन् ।

अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो।

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरू जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने,‘बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं।’ 

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डकै कोठामा बिहीबार राति चोरी भएको छ। सुरक्षा गार्ड जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र सोही ठाउँ वडा नम्बर–५ का ४४ वर्षीय पर्शुराम चौधरीको कोठामा चोरी भएको हो।

दुवै कोठामै सुतिरहेको बेला दराजबाट १२ बोरको एकनाले हतियार, सोमा लाग्ने २० राउण्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजुसहितका सामान चोरी भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। उनका अनुसार चोरी भएको घटनाबारे बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कल्याणपुरमा जानकारी आउँदा अनुसन्धान सुरु थालिएको थियो।

अनुसन्धानकै क्रममा बिहान पौने ४ बजेतिर सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीका समानसहित एक जना युवकलाई पक्राउ गरिएको एसपी खतिवडाले बताए । ‘चोरी भएको सूचना पाएसँगै सप्तरीका सबै युनिटका साथै सिराहालाई पनि जानकारी गराएका थियौँ, शंका लागेर चेकजाँच गर्दा जिल्लाको खडक नगपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीको साथबाट चोरीको समान बरामद भएको छ।’

इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको अन्सारीको साथ ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, १२ बोरको एकनाले हतियारमा लाग्ने कार्टिज २० राउन्ड, मोबाइल ५ थान, सिमकार्ड, स्पिकर र डिजिटल तराजु एक÷एक थान बरामद भएको हो। पक्राउ परेका अन्सारीले कल्याणपुरस्थित बैंकको ५ सय मिटर पश्चिम झाडीमा लुकाएर राखेको १२ बोरको एकनाले हतियार पनि बरामद भएको एसपी खतिवडाले बताए। अन्सारीलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याएर थप अनुसन्धान भइरहेको

अन्नपुर्ण न्युरो अस्पताल, माईतिघरमा बिरामीको कुरुवाको रूपमा बसेका एक युवकको अस्पतालमै एक्कासि लडेर ज्यान गएको छ।

मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका वडा नं. ०२ साखारे स्थायी घर भई बस्ने ४२ वर्षीय प्रकाश लिम्बु मस्तिष्क सम्बन्धी समस्या देखिएपछि अन्नपुर्ण न्युरो अस्पतालमा उपचाररत थिए। उनको कुरुवाको रूपमा उनका काका–का छोरा ३२ वर्षीय दिपेश लिम्बु अस्पतालमै बसिरहेका थिए।

प्राप्त जानकारी अनुसार, दिपेश लिम्बु आज बिहान करिब २:१० बजे अचानक बिरामी कुरुवा कक्षमै लडेर बेहोस भएका थिए। अस्पतालका चिकित्सकले तत्काल जाँच गर्दा उनलाई बिहान २:३५ बजे मृत घोषणा गरिएको हो।

बागलुङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको बताएका छन् । बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताएका छन् । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को क्रममा बागलुङको ताराखोला पुगेका प्रचण्डले ‘जनयुद्ध’ का सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आफ्नो प्रधानमन्त्रीकालमा त्यो निर्णय गरेको बताए । त्यसबाहेक जनयुद्धका धेरै उपलब्धि संस्थागत गर्ने काममा पनि माओवादी नेतृत्वको सरकारले नै काम गरेको बताए ।

प्रचण्डले ताराखोला गाउँपालिका–२ को अर्गलमा निर्मित सहिद तथा बेपत्ता पार्कको उद्घाटन गरेका छन् । जनयुद्धका सहिद र बेपत्ता परिवारलाई सम्मान समेत गरे । उनले सहिद परिवारको जगमा नै नेपालको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सहिदलाई बिर्से जस्तो भए पनि इतिहासले फेरि खोज गर्ने बताए । ‘क्रान्ति सकिएको छैन, त्यसैले इतिहासमा सहिदका चिहान खनेर कंकाल निकालेर पनि सम्मान गर्ने दिन आउँछ,’ उनले भने, ‘धैर्य गरेर सहिदका सपना पूरा गर्न लाग्नुपर्छ ।’

जनयुद्धको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको भन्दै अब राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिमा पनि माओवादीले नै अगुवाई गर्ने प्रचण्डले दाबी गरे । काम गर्दागर्दै बहुमतको दम्भ देखाएर कांग्रेस एमालेले माओवादीको सरकार ढालेको आरोप पनि लगाए । ‘संसारमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कतै छैन,’ उनले भने, ‘सुशासन दिन खोजेपछि भ्रष्टहरूले सरकार ढलाए ।’

उनले जनयुद्धलाई हिंसा र आतंक थियो भन्नेहरूले जनयुद्धको गतिमा काम गर्न नसक्ने समेत ठोकुवा गरे । ‘जनयुद्ध युगान्तकारी परिवर्तनको घटना थियो, सामाजिक समावेशीकरणको लागि महिला, दलित, उत्पीडितले गरेको विद्रोह थियो,’ उनले भने, ‘राजनीतिक रूपमा प्रशिक्षित र सुझबुझपूर्ण आन्दोलन भएकाले देशलाई परिवर्तन गर्न सफल भयौं ।’ उनले जाली र फटाहाहरूले मात्र जनयुद्धको विरोध गरेको टिप्पणी गरे ।

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा समयमै सावधान रहनुहोला। खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। परिवारजनसँग भेटघाट हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछ। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। चिताएका काममा बाधा पुग्न सक्छ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला।

होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौँ रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीय ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भई हाल काठमाडौं-५ बस्दै आएकी ३४ वर्षीय आँचल श्रेष्ठ भनिने ‘आँचल चौगुठी’ रहेका छन्।

दुबैलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए।

उनीहरू फेसबुकमार्फत युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।

अनि बिस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए।

आचार्यका अनुसार उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।

अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौ भन्दै धम्क्याइन्थ्यो।’

त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैँ सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्थे।

काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए। उनीहरूले फेसबुकमार्फत रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।

प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ। काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन्।

आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनले भने, ‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ।’

पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।