काठमाडौं । नेपाली कांग्रेसले आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ आयोजना गर्दै छ ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा हुन लागेको सोही सभामार्फत पार्टीले आसन्न निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसपालि कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ को नाम दिएको हो ।
निर्वाचन आयोगलाई फागुन ३ गते नै बुझाइसकिएको उक्त प्रतिज्ञा पत्रलाई आज जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक भूमिबाट औपचारिक रूपमा जनतामाझ ल्याउन लागिएको हो । सभालाई सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय तहका प्रमुख नेताहरू जनकपुर पुग्ने कार्यक्रम छ ।
मधेसको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएकाले घोषणापत्र सार्वजनिक गर्न जनकपुरलाई रोजिएको कांग्रेस नेताहरूले बताए । यो सभालाई केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा कांग्रेसले लिएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार र सशक्तीकरणका मुद्दालाई मूल एजेण्डा बनाएको बताए । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसका जनतासँग प्रत्यक्ष जोडिएका छन् । यो मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्ध सुदृढ बनाउने सन्देश हो ।’
प्रतिज्ञा पत्रमा मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको विकास, युवा रोजगारी र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिएको छ । जनकपुरको बाह्रविघा मैदानमा हुने सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको यादवले बताए ।
जनकपुरबाट घोषणापत्र सार्वजनिक भएलगत्तै काठमाडौँमा पनि यसबारे थप जानकारी दिइने भएको छ । आजै दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्रका विशेषताहरूबारे विस्तृत जानकारी दिने कार्यक्रम तय भएको छ ।










