१७ कात्तिक , चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ को आज उद्घाटन गर्दै उनले नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए ।
उपराष्ट्रपति पुनले राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेको उल्लेख गर्दै विगतका निर्वाचन जस्तै आउँदो निर्वाचन पनि उत्सवका रुपमा सम्पन्न हुने बताए साथै उनले निर्वाचनमा सहभागी भई सार्वभौम अधिकार प्रयोग गर्नसबैमा आग्रह समेत गरे ।
उपराष्ट्रपति पुनले चितवन पोल्ट्री क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै झण्डै छ दशक लामो इतिहास बोकेको पोल्ट्री क्षेत्र आज देशको आत्मनिर्भर क्षेत्रका रुपमा विकास भएको बताए ।
यो क्षेत्रलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहेको बताउँदै उहाँले यसलाई उदाहरणका रुपमा लिएर अन्य क्षेत्रलाई पनि आत्मनिर्भर बनाउने योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिए । प्रदर्शनीका क्रममा स्वदेश र विदेशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गरिँदैछ । प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५०० विदेशी यहाँ आएका छन् ।