तेह्रथुममा मतदाता शिक्षा कार्यक्रम लागु ।

0
355

कात्तिक २७ तेह्रथुम, । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तेह्रथुममा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान कसरी गर्ने भन्नेबारे गाउँ–गाउँमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको हो ।
बदर मत कम गराउन भन्दै जिल्लामा एक मतदान केन्द्र, एक निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ स्थानमा ८९ वटा मतदान केन्द्रहरु निर्धारण गरिएका छन् ।
हरेक मतदान केन्द्रमा महिला स्वास्थ्य स्वयम सेविका, बाल शिक्षा कार्यकर्ता र सामाजिक परिचालकहरु गरी ८९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन अधिकारी राईले बताउनुभयो । निर्वाचन शिक्षा कार्यकर्तालाई तालिम दिएपछि गाउँ–गाउँमा परिचालित गरिएको छ । उनीहरुलाई मौन अवधि सुरु हुनुभन्दा अघिसम्म मतदाताको घर–घरमा पुगेर मतदान गर्न सिकाउन निर्देशन गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव के हो ? कसरी कति जना प्रतिनिधिहरु चुनिन्छन् ? र के काम गर्छन् ? भन्नेबारे समेत कार्यकर्ताहरुले मतदातालाई सिकाउने छन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यकर्ता, राजनीतिक दल र सञ्चारकर्मीलाई छुट्टा–छुट्टै कार्यक्रम मार्फत निर्वाचन शिक्षा र निर्वाचन आचार संहिता सम्बन्धी प्रशिक्षण समेत गरेको छ ।
प्रतिनिधिसभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा ११ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । प्रदेश सभा–१ मा ९ जना र प्रदेशसभा–२ मा ८ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका प्रदेशसभा–१ क्षेत्रमा पर्दछन् भने मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका प्रदेशसभा–२ क्षेत्रमा पर्छन् । यो चुनावमा ६६ हजार ६ सय ६७ जना मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।