पहिरोका कारण सवारीसाधन र यात्रु बीचैमा अलपत्र ।

0
670

 उदयपुर,२७ भदौ ।  उदयपुर जिल्लाको कटारीदेखि घुर्मी सडकखण्डको घुर्मी बजारको माथिल्लो भागको सडकखण्ड र लेखानी गाविस–२ स्थित बेतिनीमा आज बिहान गएको पहिरोको कारण सिद्धिचरण लोकमार्ग सडकखण्ड अवरुद्ध बनेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार दिउँसो घुर्मी बजारको माथिल्लो पाखाको सडकखण्डमा पहिरो गएपछि सो क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात साधन अवरुद्ध बन्न पुगेको थियो।
तर आइतबार राति इलाका प्रहरी कार्यालय कटारीबाट खटिगएको प्रहरीको नेतृत्वमा स्थानीय समेत सहभागी भई रातको ९ बजेबाट सडक खुलाए पनि फेरि लेखानी–२ बेतेनीमा सोमबार बिहान पहिरो गएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध हुन पुगेको प्रहरीले बताएको छ .बेतिनीमा पहिरो गएपछि उदयपुरको कटारी हुँदै घुर्मी, ओखलढुङ्गा तथा खोटाङ सञ्चालन हुने यातायातका साधन सञ्चालन अवरुद्ध हुन पुगेको छ। बेतेनीमा पहिरो झर्नेबित्तिकै बिहानैदेखि इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा सडक खुलाउने प्रयास सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए। उक्त सडकखण्ड अवरुद्ध भएपछि विभिन्न सवारीका साधन र यात्रु भने बीच बाटैमा विचल्लीमा परेका छन्। पूर्वी तराई हुँदै उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुङ्गा सोलुखुम्बु तथा खोटाङतिर यात्रा गरिरहेका यात्रु र पहाडी क्षेत्रबाट तराई झरेका यात्रु सिद्धिचरण लोकमार्ग अवरुद्धका कारण बीच बाटामा नै विचल्लीमा परेको यातायात व्यवसायीले बताएका छन्।