सैलुनबाटै मासीक लाख रुपैया अर्थोपार्जन ।

0
510

चितवन, ६ असोज ।  हामी रोजगारका लागी आफ्नो देशमा केहि देख्देनौ तर यहि नेपालमै पनि केहि गर्न चाहने युवाहरुको लगनशीलतालाई हेर्ने हो भने हाम्रो मानसीकतामा पक्कै पनि केहि परिबर्तन ल्याउन सक्छौँ । त्यस्तै एक उदाहरण बन्न सफल एक जना युवाले आफ्नै देशमा बसेर सैलुन खोलेर मासिक रु. एक लाख सम्म आम्दानी गर्दै आएका छन् । खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका उनले भरतपुरको चौबीसकोठीमा मासिक रु. २५ हजार भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका हुन् । उनि हुन् पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल । अहिले सिग्देल खाडी मुलुकमा भौँतारिनेहरुका लागि उदाहरणीय बनेकाछन् । चार वर्षअघि स्वदेश फर्किएर छ महिनासम्म सैलुन तालिम लिएर सिग्देलले आफ्नै व्यवसाय सुरु गरेका हुन् । रु. एक लाख खर्चिएर कतार पुग्नुभएका सिग्देलले १२ घन्टासम्म चिनियाँ फर्मलाइन कम्पनीमा मेसिन हेल्परका रुपमा खटिँदा मासिक रु. १५ हजार मात्रै बच्थ्यो । करिब रु. चार लाख ५० हजार खर्च गरी उनले सुरु गरेको सैलुनबाट रु. ७० हजारदेखि रु. एक लाखसम्म मासिक बचत हुन्छ । सीग्देललाई श्रीमती सुष्मिताले समेत कपाल काट्न साथ दिँदै आएकीछन् । उनीहरुले नै तालिम दिएका अन्य दुईजनाले समेत रोजगारी पाएका छन् । खाडी मुलुकमा जे पनि गर्न हुने स्वदेशमा काम गर्न किन नहुने भन्ने मनःस्थितिका साथ पेसामा लागेको सिग्देलको भनाइ छ । उनले आफ्नै पार्लरमा ४० युवा र १३ युवतीलाई तालिम दिइसकेका छन्। तालिम लिएकाहरु क्यानडा, अस्टे«लिया र चीन गएको सिग्देलले बताए । तर खाडी मुलुक नजान उनि सल्लाह दिन्छन् । निकट भविष्यमा सिग्देलले नवलपरासीको कावासोतीमा अर्कोे सैलुन खोल्ने तयारीमा छन् । उच्च माविसम्मको अध्ययन गरेका सिग्देलको सैलुनमा अहिले दैनिक २० देखि ३० जना ग्राहक आउने गर्दछन् । व्यवसाय मिल्ने गरी दौँतरीको खोजीमा रहेका सिग्देलले एक वर्षअघि सिटिइभिटीमा कपाल काट्ने तालिम लिएकी सुष्मितासँग विवाह गरेका हुन् । यसबाट उनिहरुको व्यवसायमा सहयोग पुगेको छ ।