
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
मंगलबार एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन् । विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा. पाण्डेले बताए ।
यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए । स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइने जस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ । यस्तै कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन समेत परिपत्र गरेको छ ।
विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिष्ट्रेसन र परीक्षा फाराम रोकिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा ९ का विद्यार्थीको रजिष्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिष्ट्रेसन फाराममा विलम्ब भएका छन्।
माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आवाज उठेपछि यी शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि फाराम भराउन सकेको छैन।
बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फाराम यसअघि नै खुलाएको थियो। बोर्डको सूचना अनुसार विद्यालयहरूले कात्तिकमै विद्यार्थीलाई फाराम भर्न लगाएर सङ्कलनसमेत गरिसकेका छन् तर रजिस्ट्रेसनका लागि विद्यार्थीसँग शुल्क लिन नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि रजिस्ट्रेसन फाराम भर्ने कार्य स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो।
कक्षा ११ मा सरदर पाँच लाख विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्ने गरेका छन्। बोर्डले उक्त फारामका लागि प्रति विद्यार्थी चार सय रुपियाँको दरले शुल्क लिने गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा ११ र १२) कृष्ण शर्माले रजिष्ट्रेसन शुल्क लिने कि नलिने भन्ने विषय मन्त्रालयमा विचाराधीन रहेकाले विद्यार्थीलाई वितरण गरिसकेको रजिस्ट्रेसन फाराम सङ्कलन कार्य रोकिएको छ। विद्यालय तहमा हाल कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन गर्ने गरिएको छ।
कक्षा ९ र ११ दुवै माध्यमिक तह भए पनि दोहोरो रजिस्ट्रेसन गर्नु उपयुक्त नहुने तर्क पनि उठ्ने गरेका छन् तर ९ र ११ कक्षामा पढ्ने विद्यार्थीको विषय फरक फरक हुने भएका कारण दुवै कक्षामा रजिस्ट्रेसन फाराम भराउनुपर्ने तर्क बोर्डको छ।
बोर्ड अहिले मन्त्रालयको निर्देशन पर्खेर बसिरहेको छ। कक्षा ११ को फाराम भर्ने विषय नटुङ्गिएका कारण बोर्डले कक्षा ९ को रजिस्ट्रेसन र एसइईको परीक्षा फाराम पनि खुला गर्न सकेको छैन। विगतका वर्षमा मङ्सिर महिनामा नै एसइईको फाराम खुला हुने गरेको थियो। हरेक वर्ष कक्षा १० मा सरदर पाँच लाख विद्यार्थीले परीक्षा फाराम भर्ने गरेका छन्। प्रति विद्यार्थी ५०० रुपैयाँ परीक्षा फाराम शुल्क लिने गरिएको छ।
त्यस्तै कक्षा ९ मा पनि बर्सेनी पाँच लाखकै हाराहारीमा विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गरेका छन्। यो फारामका लागि प्रति विद्यार्थी तीन सय पचास रुपैयाँ लिने गरिएको छ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार विद्यार्थीबाट राज्यले रजिस्ट्रेसन र परीक्षा फाराम शीर्षकमा शुल्क नलिने हो भने करिब एक अर्ब रुपैयाँ आर्थिक दायित्व थपिन्छ। आजको गोरखापत्र दैनिकमा समाचार छ
आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ । दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।
वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ दशमलव नौ करोड छ ।
नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने उल्लेख छ ।
श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने नीति लिइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) लिई ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई ९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
ती श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग रहेको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस भव्यताका साथ मनाउन लागिएको बताउँछन्। श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार निरन्तर प्रयत्नशील रहेको जनाउँदै उनले श्रमिकका अधिकार संरक्षण, सीप विकास तथा स्वदेश फर्किएका श्रमिकको पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखिएका बताए ।
द्विपक्षीय श्रम सम्झौता, श्रम कानुनको पुनरवलोकन, अन्तर्राष्ट्रिय श्रम सम्बन्धित समूहमा सक्रिय सहभागिता था पूर्व प्रस्थानदेखि पुनःस्थापनासम्मका कार्यक्रमको कार्यान्वयनमा नेपालमा महत्वपूर्ण र अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको उनको भनाइ छ । सचिव निरौलाले श्रमिकको हकहित र मर्यादित आप्रवासन सुनिश्चित गर्न गन्तव्य देशसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (बुधबार) देखि प्लेअफ चरणका खेलहरू हुँदैछन् ।
आज लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेलमा हार्ने टिम बाहिरिने छ ।
एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोलीसँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडे पनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो । बुधबारै पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्।
यो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम शीर्ष स्थानमा रहेर र जनकपुर दोस्रो स्थानमा रहेर प्लेअफ पुगेको थियो । आजको क्वालिफायर जित्ने टिम सिधै फाइनल पुग्नेछ भने हार्ने टिमले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ ।
यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्च भएको छ ।
सो अवधिमा प्राधिकरणले रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम रु २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा रु २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रहेको छ ।
प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट रु ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि रु २१ अर्ब नौ करोड १७ लाख बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ। सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी रु १० अर्ब ८८ करोड ८७ बराबरको आम्दानी गरेको छ ।
नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत रु १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार बराबर खर्च भएको छ। विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि रु १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ । त्यस्ते वैदेशिक भुक्तानीतर्फ रु छ अर्ब पाँच करोड ५३ लाख १७ करोड बराबर रहेको छ ।
अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ।
गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मंसिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो ।
मंसिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व सङ्कलन गरेको छ ।
काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले रु २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले रु सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले रु सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले रु सात करोड १२ लाख ४५ हजार सात सय ६५ बराबरको राजश्व सङ्कलन गरेको छ ।
यस्तै, मालपोत कार्यालय विराटनगरले रु १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले रु ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजश्व सङ्कलन गरेको छ । विभागमा अनुसार मंसिरमा सेवा कर रु २६ करोड छ लाख २५ हजार छ सय ९०, रजिष्टे«शन दस्तुर रु दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ । त्यस्तै, रु एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विवादास्पद मामिला सुल्झिनेछ। उच्च शिक्षाको लागि राम्रो अवसर हात लाग्नेछ। माताको स्वास्थ्यमा सुधार आउनेछ। कारोबारमा थप लगानी लगाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कार्य पूर्ण हुनाले मनमा शान्ति रहनेछ। व्यापार व्यवसायमा भाइ बहिनीहरूको सहयोग मिल्नेछ। नौकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक पक्ष सबल रहनेछ। व्यवसायमा वृद्धिको साथै आयका नयाँ स्रोतहरू बन्नेछन्। सामाजिक परिवेशमा वरिष्ठ व्यक्ति द्वारा सम्मान पाइनेछ। नोकरी वा पेशामा अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी नोकरी वा पेशामा प्राथमिकताको आधारमा काममा खटिनु उत्तम हुनेछ। आफन्तहरूको आत्मीयताले मनमा खुसी र सन्तोष बढ्नेछ। कार्यक्षेत्रमा पद प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आफूलाई शान्तिपूर्वक प्रस्तुत गर्ने प्रयास गर्नुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उद्योग र व्यापारमा सामान्य लाभ रहनेछ। अगाडि बिग्रिएको कार्यलाई सुधार्न मौका पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा थोरै श्रमले पनि कार्यसम्पादन हुनाले आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। सरकारी नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापार व्यवसायको विस्तारमा वरिष्ठहरूको सहायता मिल्नेछ। पिताबाट उपहार मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा लाभ रहनेछ। भाग्यको साथ मिल्नेछ। पुरानो रोकिएका कामहरू सम्पादन हुनेछन्। धार्मिक सामाजिक संगठनमा आबद्ध हुने अवसर मिल्नेछ। लामो यात्राको रूपरेखा बन्ने छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी बहन गर्नुपर्ला। आफन्तहरू विदेशतिर बसोबास गर्नुहुन्छ भने त्यहाबाट शुभ सूचना मिल्नेछ। नयाँ व्यापार व्यवसाय प्रारम्भ गर्नको लागि उचित समयको प्रतिक्षा गर्नुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताले गर्दा राम्रो प्रतिफल मिल्नेछ। जीवन साथीको सहयोगबाट पारिवारिक समस्या सुल्झिनेछ। व्यापार व्यवसायमा अरुको देखासिकी नगर्नुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा प्रतिद्वन्दीहरू हार खानेछन्। प्रतियोगी प्रतिस्पर्धामा सफलता मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोला। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला। आजको शुभ रंग खरानी हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तानको प्रगतिले मनमा उत्साह र उल्लास रहनेछ। घरपरिवारमा मांगलिक कार्यमा धन खर्चका योग छन्। प्रेम सम्बन्ध कसिनेछ। विद्यार्थीहरूलाई नयाँ अध्ययनको मौका मिल्नेछ। रचनात्मक कार्यले प्रसिद्धि दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, स्विडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ । यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा रे कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ९२ पैसा कायम गरेको छ ।
यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुपैयाँ ०५ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ६१ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।





