
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।
शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो । उपाधि जित्न नसकेपनि समग्र प्रदर्शनको आधारमा दीपेन्द्रले कार पाएका हुन् ।
यता जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले बाइक पाएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन् ।
प्लेअर अफ द म्याचको उपाधि भने जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।
उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।
दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
दीपेन्द्र सिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओमाडाको ६२ लाख पर्ने ओमोडा ई–५ कार प्राप्त गरेका छन् ।
९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।
सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।
अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।
पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।
प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।’
निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मंसिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।
‘स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ । यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ,’ आचार्यले भने, ‘ट्रक ट्यांकरका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ । पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्यांकर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ ।’
पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन । ‘दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,’ प्रमुख आचार्यले भने, ‘डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ ।’
यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९ दशमलव दुई किमी रहेको छ । यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६ दशमलव दुई किमी रहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।
पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो
करिब पाँच दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदैछ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्यांक’ निर्माण गरिएका छन् । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयाङ्क’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।
ट्रक ट्यांकरमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । ‘२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजल ट्याङ्कर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ,’ उनले भने, ‘भण्डारण ट्याङ्क र नयाँ लोडिङ–वे करिब आठ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ ।’
मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।
अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार एक सय १० किलोलिटर पेट्रोल, २४ हजार आठ सय १० किलोलिटर डिजेल र दुई हजार दुई सय ७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।
अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तार छिट्टै
पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।
लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । ‘परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ,’ प्रमुख आचार्यले भने, ‘सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ ।’
नेपाल प्रिमियर लिग (एनपीएल)को जारी फाइनल खेल हेर्नका लागि उल्लेख्य रुपमा दर्शकको घुइँचो लागेको छ।
त्रिवि मैदानमा टिकट काटेर हेर्नेको भिड कम छैन। त्योभन्दा पनि धेरैचाहिँ स्टेडियम बाहिर, रुख रुखमा अनि मैदानका डिलमा उभिएर हेर्नेहरुको संख्या पनि ठूलो रहेको छ।
एनपीएलमा विभिन्न रेकर्ड बने पनि इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत अन्यमा बनेका टार्गेटहरु बन्न सकेनन्।
शनिबार त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलसम्म आउँदा पनि २०० रनको टार्गेट बन्न सकेन।
सुदूरपश्चिमले टस जितेर ब्याटिङ गरी जनकपुरका सामु १८४ रन बनाएर १८५ रनको विशाल लक्ष्य दिएको छ। यो पनि यसअघि बनेको ठूलो लक्ष्य बराबर होइन।
१७ दिनसम्म चलेको ३२ खेलमा कुनै पनि टीमले २०० रनको टार्गेट दिन सकेनन्। एनपीएलभरीकै सबैभन्दा ठूलो टार्गेट लुम्बिनी लायन्सले बिराटनगर किङ्सका लागि दिएको थियो।
लायन्सले लिग चरणको आफ्नो पहिलो खेलमा बिराटनगरका लागि १९१ को विशाल टार्गेट दियो। तर, बिराटनगरले उक्त टार्गेट पूरा गरी सबैभन्दा बढी १९१ रन बनायो। लुम्बिनी १९० रन बनाउने दोस्रो टीम बन्यो।
पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ ।
निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । “हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ”, उनले भने ।
जाडो महिनामा विशेष गरी सुक्खा हावाको प्रभावले कपाल सुक्खा हुने, टुट्ने र चायाँ पनि अत्यधिक पर्ने डा पुडासैनीको भनाइ छ । उनी भन्छन्,“शरीरको प्राकृतिक तेल कम भएर सुक्खापना आउने (जेरोटिक एक्जिमा) ले छाला सुन्निने, चिलाउने, पोल्ने, पानी फोका आउने, बिमिरा आउने, पाक्नेलगायत समस्या आउन सक्छन् । एटोपिक एक्जिमा हुन सक्छ, जसले छालामा एलर्जी गराउने हुन्छ । हात खुट्टाका औँला चिलाउने, सुन्निने समस्या ‘चिल्बिलेन्स’ पनि बढी देखिन्छ ।”
जाडोमा एलर्जीको समस्या पनि बढी देखिने चिकित्सकहरू बताउँछन् । एलर्जी बढ्नुको मुख्य कारण जाडोमा छाला फुट्ने र सङ्क्रमण हुनु हो । डा पुडासैनीले भने, “जाडोमा बढी देखिने ‘सोरायसिस’ पनि हो, जसलाई कत्ले रोग पनि भनिन्छ । कुहिना, ढाड, घुँडा, कपालमा फुरफुर फुस्रो खालको छालाको पत्र कत्ला निस्किने हुन्छ । जाडोमा डन्डिफोर पनि बढ्छ । छाला सुक्खा भएर प्राकृतिक रूपमा तेल निकाल्ने ग्रन्थी (सिबेसियस ग्लान्ड) झन् सक्रिय हुन्छ जसले गर्दा डन्डिफोर आउँछ ।”
वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्रा डा अनुपमा कार्की जाडो मौसममा बहिरङ्ग सेवा (ओपिडी) मा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेको बताउछिन् । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उनको भनाइ छ । “प्रायः मान्छे जाडोमा कम नुहाउँछन् । लुगा फेर्न अल्छी गर्छन् । समय–समयमा सिरक, डसना घाममा सुकाउँँदैनन् । त्यसैले लुतोको समस्या लिएर आउने बिरामी पनि छन्”, उनी भन्छन् ।
जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए । “जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्”, उनीले भन्छिन्।
जाडोमा छालाको स्याहार गर्न बेला–बेलामा मोस्चराइजर लगाउनु नै सबैभन्दा राम्रो उपाय रहेको डा पुडासैनीको सुझाव छ । “चिसोमा जाँदा सकेसम्म अनुहार छोप्ने, बाइक चलाउँदा भाइजर लगाउने, मास्क, क्याप, पञ्जा, मोजा लगाउने गर्नुपर्छ । नुहाउँदा मनतातो पानीमा नुहाउनुपर्छ । नुहाइसकेपछि अलि–अलि भिजेको छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन जे उपलब्ध छ, त्यो लगाउनु उपयुक्त हुन्छ । नियमित व्यायाम तथा पौष्टिक आहारले पनि छाला स्वस्थ्य राख्न मद्दत पुर्याउँछ”, उनले सुझाइन् ।
डा कार्की छाला राम्रो बनाउन पानी तथा फलफूल प्रशस्त खानुपर्ने बताउछिन् । अधिकांशले जाडोमा पानी कम पिउनाले पछि छाला सुक्खा हुने र खुम्चिने हुन सक्ने बताउँदै उनी भन्छिन्, “पानी प्रशस्त पिउनुपर्छ । कडा खालको सुक्खा बनाउने फेसवास, ह्यान्ड वास प्रयोग गर्नुहुँदैन । सनब्लक क्रिम तथा मोस्चराइजर अनिवार्य लगाउने गर्नुपर्छ । धेरै तातोपानीको प्रयोग गर्नुहुँदैन, यसले थप छाला सुक्खा बनाउँछ । छालासम्बन्धी केही समस्या आए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।”
चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए ।
यस्तै सोही अवधिमा एक वटा बाघ मृतावस्थामा भेटिएको छ । गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी छ वर्षको बाघ मरेको उनले जानकारी दिए । यसैगरी पाँच महिनाको अवधिमा गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वक रहेको उनले बताए ।
निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा एक सय ५० जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको जनाएको छ । गैँडा मारेर खाग तस्करी गरेको आरोप, बाघसम्बन्धी कसुर, अनुमतिबिना बँदेल पाल्ने, बिनाअनुमति निकुञ्जमा घाँस दाउरा काट्ने, माछा मार्ने, निउरो टिप्नेलगायत काममा सहभागी भएका उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।
आज (शनिबार) विश्व ध्यान दिवस, नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाइरहेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले २०२४ डिसेम्बर ६ का दिन डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेकाले यो दिवस मनाइएको हो ।
राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने भनी गरेको निर्णयलाई यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवसका अवसरमा काठमाडौँस्थित टुँडिखेलमा ध्यान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
मेड्रिडको एक अदालतले शुक्रबार अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का पूर्व प्रमुख एवं स्पेनका अर्थमन्त्री रोड्रिगो राटोलाई कर अपराध, मनी लउण्डरिङ (सम्पत्ति शुद्धीकरण) र भ्रष्टाचारको आरोपमा चार वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ।
स्पेनको कन्जरभेटिभ पपुलर पार्टीका अपमानित पूर्व हेभिवेट राटोलाई सन् २०१८ मा बैंकमा काम गर्दा कोषको दुरुपयोग गरेको आरोपमा साढे चार वर्षको जेल सजाय सुनाइएको थियो।
अभियोजनकर्ताहरूले राटोले स्पेनी कर कार्यालयलाई धोका दिएर सन् २००५ देखि सन् २०१५ को बीचमा ८५ लाख युरो आफ्नै खल्तीमा भरेको दाबी गरेका छन्।
‘न्यायाधीशहरूले राटोलाई ‘ट्रेजरी विरुद्धको तीनवटा अपराध, मनी लान्ड्रिङको एउटा अपराध र व्यक्तिहरू बीचको भ्रष्टाचारको एउटा अपराधमा दोषी ठहर गरेका छन्’, अदालतले भनेको छ।
राटोलाई चार वर्ष नौ महिना र एक दिनको जेल सजाय सुनाइएको छ र २० लाख युरो ९२१ लाख डलर० भन्दा बढी जरिवाना गरिएको छ। फैसलाविरुद्ध उहाँले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन्।
राटोले सन् २००४ देखि सन् २००७ सम्म आईएमएफको नेतृत्व गर्नुअघि जोस मारिया अजनारको कन्जर्भेटिभ सरकारमा अर्थमन्त्री र उपप्रधानमन्त्रीको रूपमा आठ वर्ष विभिन्न रूपमा सेवा गरेका थिए।
पछि उनले स्पेनको ऋणदाता ब्याङ्कियाको नेतृत्व गरेका छन्। त्यहाँ उनले सन् २०१० देखि सन् २०१२ को बीचमा व्यक्तिगत खर्चका लागि कम्पनीको क्रेडिट कार्डको दुरुपयोग गरेका थिए।
ब्याङ्किया स्क्याण्डल गम्भीर आर्थिक सङ्कटको चरम अवस्थामा उजागर भएको थियो। यसले धेरै मानिसलाई आर्थिक रूपमा सङ्घर्ष गर्न बाध्य तुल्यायो।
यसले स्पेनमा आक्रोश निम्त्यायो। यो त्यतिबेला बिग्रियो जतिवेला सरकारले असफल ऋणदाताका लागि उद्धारमा २२ अर्ब यूरो खर्च गर्यो र यो चाँडै वित्तीय अधिकताको प्रतीकका रूपमा बदनाम भएको थियो।
महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा नगरपालिका- ४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ।
बिहान ३-४ बजेतिर आएको अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।
लुटेरा समूहले झाको घरमा रहेको सुनका केही गहना र करिब एक लाख रुपैयाँ पनि लुटेर लगेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको जयसवालले बताए।