
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछानेको थुनछेक बहस आज (मंगलबार) बाट हुने भएको छ ।
थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण आज मात्र उनको बयान हुने भएको हो । हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए ।
कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।
रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका विषयगत समितिमा पठाइएको विधेयकमाथि छलफल गर्न बोलाइएका बैठकमा सभाका सदस्यको अनुपस्थितिले गणपूरक सङ्ख्या नपुगेर बैठक नै स्थगित गर्नु परेको छ ।
यसरी समितिको बैठकमा सभाका सदस्यको नियमित उपस्थिति नभएपछि लामो समयसम्म विधेयकहरू विचाराधीन अवस्थामा रहने गरेका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्थानीय तह उपनिर्वाचनपछि समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकमाथिको छलफलले तीव्रता पाएको छ । यसैबिच गणपूरक सङ्ख्या नपुगेर प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दुई पटक स्थगित भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ लगत्तै दर्ता भएका कतिपय विधेयक अझै विचाराधीन अवस्थामा छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पुस १ र २ गतेका लागि निर्धारित बैठक गणपूरक सङ्ख्या नपुगेर लगातार दुई पटक स्थगित भयो । पुस २ गते नै १५ मिनेटको अन्तरालमा तेस्रो प्रयासमा गणपूरक सङ्ख्या पुग्यो ।
समितिका सचिव रेखा उपाध्याय खनालले सुरुमा गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको बैठक नियमावलीकै व्यवस्थाले केही सांसदको उपस्थितिमा अगाडि बढेको जानकारी दिनुभयो । यसपछि समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अगाडि बढायो । गणपूरक सङ्ख्या पुग्न ५१ प्रतिशत सदस्य उपस्थित हुनु पर्छ ।
राष्ट्रिय सभाबाट पारित भएका पाँच वटा विधेयक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को पूर्वसन्ध्यामा निष्क्रिय नै हुन पुग्यो । निष्क्रिय भएका विधेयक विधायिकी प्रक्रिया अपनाएर पुनः सभामा आउने छन् ।
कानुन अभावमा सङ्घीयताको पूर्ण अभ्यास हुन नपाउँदै सङ्घीय प्रणाली राज्यका लागि बोझ भएको भन्दै आलोचना हुँदै आएको छ । संविधान अनुसार बन्न बाँकी रहेका कानुन यथाशीघ्र बनाउन सरकारको ध्यानाकर्षण गराएको १५ महिनामा एउटै विधेयकको मसौदा तयार भएको छैन । दुई वटा विधेयकबाहेक कुनै पनि विषयको कानुन विधायिकी प्रक्रियामा प्रवेशसमेत गरेका छैनन् । गोरखापत्र दैनिकमा समाचार छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ।
यो विवरण वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारको हो। यो अवधिमा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् र तिनबाट माथि उल्लेख भएको क्षतिपूर्ति असुल भएको छ।
ठगीमा पर्ने अधिकांश व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन्। यो तथ्यांक उजुरीमा परेका आधारको हो तर सबै ठगिनेले उजुरी गर्दैनन्। यो आधारमा ठगीमा पर्ने अरू बढी रहेको अनुमान विभागको छ।
विभागमा परेका उजुरी फर्छ्योट पनि हुने गरेका छन्। विभागका अनुसार आधाभन्दा बढी फर्छ्योट भएका छन्। चालु आव २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये दुई हजार १११ वटा (५१.८९ प्रतिशत) फर्छ्योट गराउँदा १९ करोड ३९ लाख ८६ हजार ३० रुपैयाँ बराबर क्षतिपूर्ति भराइएको छ।
विभागका अनुसार यो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा एक हजार ७०८ वटा छन्। जसमध्ये एक हजार ६४४ वटा उजुरी फर्छ्योट भए भने ११ वटा उजुरीमा मिलापत्र गराइएको छ। यसमा ११ लाख ५४ हजार ५०० रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ। प्रहरीमा दर्ता भएका ६६ वटा फर्छ्योट हुन बाँकी छन्।
यसै गरी यो अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा एक हजार ५६१ वटा उजुरीको १४ करोड ६७ लाख ६१ हजार ५३० रुपैयाँ दाबी गरिएको छ। यो शाखामा परेका उजुरीमध्ये २६० वटा उजुरीको मिलापत्र भएका छन् भने ७८ वटा उजुरी अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ। त्यसै गरी उद्धार, राहत तथा समन्वय शाखामा ८२० वटा उजुरी परेकामा ४७७ वटा फर्छ्योट भएका छन्। यो शाखामा यस अवधिमा परेका उजुरीमध्ये ३७६ वटा उजुरीमा चार करोड छ लाख ७० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराइएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईं आफ्नो काममा व्यस्त हुनुहुनेछ भने मेहनत अनुसारको फलको प्राप्ति पनि हुनेछ। नयाँ जिम्मेवारीले तपाईंको योग्यतालाई देखाउने छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। धनसम्बन्धित मामिलामा लाभ रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। विद्यार्थीहरुको अध्ययन भन्दा खेलकुदमा समय बित्नेछ। सन्तानलाई गरिएको बाचा पूरा गर्न धन खर्च हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सहकारी वा वित्तीय संस्थामा दिएको आवेदन स्वीकृति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन उत्तम र सफलतादायक रहनेछ। कार्य क्षेत्र होस् या व्यापार व्यवसाय हरतर्फ सोचेका कार्य पूरा हुनाले मन प्रसन्न रहनेछ। अरुको वादविवाददेखि अलि टाढा रहनुहोला। कर्म गरे अनुसार फलको प्राप्ति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयोगीहरूले उत्साह जगाउनेछन्। विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित हुनेछ। अधिकारीहरूसँग अनवन थियो भने आज सम्वादले गर्दा कुरा सुल्झिनेछ। धैर्य र पराक्रमले सोचेका काम सम्पादन हुनेछन्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उद्योग जगतमा नयाँ कार्यको प्रारम्भ हुनेछ। पुरानो मित्रसँग भेटघाटले मन प्रसन्न रहनेछ। सरकारी योजनाहरूको लाभ मिल्नेछ। बोलीचाली वा व्यवहारमा परिवर्तन आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रगतिका नयाँ मार्गहरू खुल्नेछन्। कुनैपनि कार्यमा भाग्य भन्दा कर्ममाथि विश्वास राख्नुहोस्। गलत सङ्गतबाट थोरै सचेत हुनुपर्ने समय रहेको छ। संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन प्रशन्नतामा बित्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। उत्साहपूर्ण दिन रहेको छ। कार्यक्षेत्रमा सजग भएर कार्य गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा आम्दनी बढ्नाले मन आनन्दित रहनेछ। विस्तार पूर्वक कार्य गर्नमा मन लाग्नेछ। दाजुभाइको सहयोग मिल्नेछ। सरकारी नोकरीको तैयारी गर्दै हुनुहुन्छ भने सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन कुनै ठूलो उपलब्धि मिल्ने सम्भावना छ। बिग्रेको कार्य दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। भूमिगत सम्पत्तिको लागि नयाँ रूपरेखा बन्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धन सम्बन्धी मामिलाहरूमा आजको दिन उत्तम रहनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आकस्मिक यात्राका योग छन् जानुभन्दा अगाडि मातापिताको आशीर्वाद लिएर निस्किनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आत्मविश्वासमा वृद्धी हुनेछ। पारिवारिक समस्याहरूलाई परिवारको भित्र सुल्झाउने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा शत्रुहरूले हानी पुर्याउन सक्छन्। कसैमाथि आँखा चिम्लेर भरोसा नगरौँ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा आयका स्रोतहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। महत्वकांक्षाले समस्या निम्त्याउनेछ। जीवन साथीको सल्लाहले लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गए रातिदेखि हिमपात सुरु भएको हो।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।
यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’ मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिंगेट, हंकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
केन्द्रीय बैंकले तय गरेको विनिमयदार अनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयांक, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
घटेको युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयांक एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ दुई पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ५३ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा बिस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै बिस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए ।
महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
चिसो बढ्न सुरु
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे ।
विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो ।
यस्तै सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




