
नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्काशन गरेको छ । आज (बुधबार) पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टी हित विपरीत रहेको भन्दै संगठित सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको काम कारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनु पर्ने आवश्यकताबोध गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उनले बताए ।
केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ मा बस्ने
सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो । अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ । मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ । यद्यपि उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर, सवारी चालक अनुमतिपत्र भने थिएन ।
त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर, सवारी चालक अनुमतिपत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए ।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु कुलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको छ ।
सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोबाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।
कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने विभत्स तरिकाले टाउँकोमा सिलौटाले प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुवा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घट्नापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होइनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबार देखिनै शोकाकुल बनेका छन् ।
मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो ।
घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा माया गर्ने आफ्नै बाबु र भाइको विभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटक/पटक चिमोटिरहेको बताउँछन् मृतक परिवारका आफन्त दीपक पाण्डे ।
कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए गत शनिबार साँझसम्म कुलप्रसाद । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुवाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुगेका थिए उनी । बुवा र दुईभाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद् घटना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।
शनिबार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्काेतिर छोरा र नातिको अकस्मात् भएको मृत्युको पीडाले बुवा खडानन्द छटपटाइरहेका छन् ।
मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । “मेरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या गर्यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याउँ, म उसकै मुखबाट सुन्न चाहन्छु ।” भन्दै भावविव्हाल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अवस्था नरहेको पाण्डे बताउँछन् । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई सम्हाल्न सकस परेको छ ।
परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रबिधिमा स्नातक अध्ययन गरिरहेका थिए । विभिन्न प्रतियोगिताहरुमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडिओमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए ।
मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा विवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकाशप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय भएकी नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरुको भविष्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमीकन्जुस्याईं नगरेको बताउँछन् ।
घट्ना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुवालाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिबार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर, त्यही दिन राति किन त्यस्ता घट्ना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।
पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।
प्रहरी वृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् ।
प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाव बढेकाले दुबै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर, नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।
यसैगरी शनिबार राति बुवा र भाइको हत्या आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर बाहिरिएको र स्कुटर लिएर गएपछि प्रहरीले चौतर्फी खोजी गर्नेक्रममा मङ्गलबार महाराजगञ्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज (बुधबार) बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम कर्णालीलाई ’समस्याग्रस्त संस्था’ घोषणा गरेको हो ।
यस्तै अर्को व्यवस्था नभएसम्म कर्णाली विकास बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उप–निर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार गठन भएको समूहले यही पुस ११ गतेदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । राष्ट्र बैंकको उक्त व्यवस्थापन व्यवस्थापन समूहलाई समूह तोकिएको कार्यदिशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानूनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
एजेन्सी । काजाकिस्तानको अक्ताउ शहर नजिकै यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।
रूसी समाचार एजेन्सीहरूका अनुसार, उक्त विमान अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित थियो र बाकुबाट रुसको चेचेन्यास्थित ग्रोज्नी जाँदै थियो ।
ग्रोज्नीमा व्यापक कुहिरोका कारण अवतरण गर्न नसक्दा विमान अजरबैजानको अक्ताउ विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । अक्ताउ विमानस्थलमा विमान अवतरण गर्ने क्रममा जमिनमा झरेर आगो लागेको भिडियोहरुमा देखिएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार केही यात्रीहरू बाँच्न सफल भएका छन् । काजकिस्तानको आपतकालीन मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनास्थलमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
विमान सञ्चालक अजरबैजान एयरलाइन्सले दुर्घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जारी गरेको छैन ।
काजकिस्तानी सञ्चारमाध्यम कजाखका अनुसार, विमानमा १०५ यात्रु र पाँच चालक दलका सदस्य सवार थिए ।
काठमाडौँ । सरकारले सहकारी संस्थामा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकेको छ । जसअनुसार अब सदस्यले बढीमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न नपाउने व्यवस्था छ ।
यस्तो छ व्यवस्था
-एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थामा ५० लाख रूपैयाँसम्म ।
-एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थामा २५ लाख लाख रूपैयाँसम्म ।
-बढीमा एक जिल्ला भित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थामा १० लाख लाख रूपैयाँसम्म सीमा कायम गरिएको छ ।
-अध्यादेश प्रारम्भ हुँदाको बखत कायम रहेको ब्यक्तिगत बचतलाई उल्लिखित सीमा भित्र ल्याउन सरकारले दुई वर्षको म्याद दिएको छ ।
-सहकारी संस्थाको प्राथमिक पूँजीकोषको १५ प्रतिशत भन्दा बढी रकम ऋण प्रवाह गर्न सकिने छैन ।
-सदस्यले सहकारी संस्थामा दश लाख रुपैयाँ भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा त्यस्तो रकमको स्रोत खुलाउनु पर्नेछ ।
-यदि सदस्यले स्रोत नखुलाएमा सो रकम सहकारी संस्थाले स्वीकार गर्नेछैन ।
कैलालीको भजनी नगरपालिका–१ गौनैयामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
२८ वर्षीया महिलामाथि कुटपिट गर्ने समूहमा २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार कुटपिटको घटनापछि पीडित महिलाका परिवारले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा रहेको प्रहरीको भनाइ छ। तर, घटनामा संलग्न रहेका दुई जना अझै फरार छन्, र उनीहरूको खोजी भइरहेको छ।
पुस ४ गते भएको घटनामा गम्भीर घाइते भएकी महिलाको हाल धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।
विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताइन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।
स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरिन्। अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए । अहिले फर्निचर र भवन मात्र भए पनि पढ्न सहज हुने पटेलले बताए। बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए ।
हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ ।
सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।
विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगर प्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न छन् ।
साउनदेखि खाजा खुवाउन सकेको छैन
पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिएका छन् । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसा पिसाव गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।
सात वर्षदेखि तलबविहीन
सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए ।
सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए। फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका छन् । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज हजुर ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिको प्रबल संकेत रहेको छ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामको सन्दर्भमा महत्त्वपूर्ण लक्ष्यहरू प्राप्त हुनेछ। कार्यक्षेत्रमा धैर्यता र साहसले नोक्सानी हुन दिने छैन। मित्रवर्गहरूको सहकार्यले सफलता मिल्नेछ। रोकिएको धन पुनः फिर्ता हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन तपाईंले आफ्नो योजनाहरू सफल पार्न सक्नुहुनेछ। सन्तानहरूको सफलतालाई लिएर मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा मेहनत र लगानीबाट सबैले चिन्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा जमिनको समस्या सुल्झिनेछ। कार्यक्षेत्रमा धेरै व्यस्त भएतापनि परिवारलाई समय दिनुहोस्। पशुधनबाट लाभ मिल्नेछ। अनैतिक काममा चासो जाग्ने हुँदा सचेत हुन आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रेको काम पनि बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरू नयाँ प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनुहुनेछ। मन अलि स्थिर नरहला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ सवारी साधन किन्नलाई उत्साहित हुनुहुन्छ भने उचित समयको प्रतीक्षा गरौं। सन्तानको संगतिको विशेष ध्यान दिनुहोला। जीवन साथीको कार्यक्षेत्रमा कुनै समस्या थियो भने त्यसको समाधान मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएको धनप्राप्त हुनेछ। परिवारसँग बसेर भविष्यको रूपरेखा बन्नेछ। साँझको समय धार्मिक स्थलमा व्यतीत हुनेछ। सरकारी कामकाजमा सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सम्मेलनमा पदप्रतिष्ठा बढ्नेछ। यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। वाणीमा संयम राख्नुहोला अन्यथा विवाद हुनसक्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तपाईंका सबै कामहरू उत्तम तरिकाले पूरा हुनेछन्। उद्योग जगतमा आयका स्रोतहरू बढ्नेछन्। छरछिमेकीसँगको विवाद समाधान हुनेछ। काममा तपाईंको अधिकार बढ्नेछ। साहित्य क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कर्तव्यनिष्ठ भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन मिल्नेछ। पुरानो मित्रहरूसँग आकस्मिक भेटघाट हुनेछ। कार्यक्षेत्रमा पराक्रमद्वारा आफ्नो स्थान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विपरीत अर्थ लाग्न सक्छ ध्यान दिनुहोला। धर्म कर्ममा रुचि भढ्नुको साथै धार्मिक यात्राका योग छन्। संगीतमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आशा देखाउने व्यक्तिहरूबाट सावधान रहनुहोला। सकारात्मक विचारले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। जीवन साथीको सल्लाहबाट महत्वपूर्ण फाइदा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ? विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ ।
गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।
वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताए। “जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ”, उनले भने, “विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।”
तुलाधारका अनुसार काठमाडौँ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । सर्वसाधरणहरुले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।
“राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइडा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्”, तुलाधारले भने, “नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”
सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ ।
“जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ”, तुलाधारले भने, “ईँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।”
वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा विहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताए।
जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए।
मुटुरोगीलाई बढी असर
मुटुरोग विशेषज्ञ डा रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउँछन् । “प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ”, उनले भने । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।
उनका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्ने डा शर्माको भनाइ छ ।
“चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ”, उनले भने ।
जनस्वास्थ्यविद् डा समिर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात जस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन्।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए ।
उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।
महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।