
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
परिसरको मुद्दा फाँटका डीएसपी हरि खतिवडाका अनुसार ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ ।
स्वर्णलक्ष्मीमा पक्राउ पुर्जी जारी भएका ४४ जनालाई पहिलो चरणमा प्रतिवादी बनाउनुपर्ने प्रहरीले राय दिएको छ । पछि थप खुलेमा पुरक अभियोजन लैजानेगरी प्रतिवेदन बुझाइएको छ । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने विषय प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ । १ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । सुरुमा एक अर्ब ११ करोड रूपैयाँ ठगिएको दाबी गर्दै जाहेरी दिइएको थियो । पछि जाहेरी र पीडितको संख्या बढेपछि बिगो पनि थप भएको हो ।
काठमाडौँ । बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बाल गायकको रूपमा चर्चित परियारको बिहीबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
काठमाडौं । सामाजिक संस्था हेल्प फर ह्युमनले क्यान्सर पीडित बालबालिकालाई न्यानो कपडा र सामाग्री सहयोग गरेको छ । गत बुधवार कान्ति बाल अस्पतालको ओन्कोलोजी वार्डमा रहेका बालबालिकालाई संस्थाले सहयोग गरेको हो ।
२५ जना बालबालिकालाई न्यानो तन्ना, साइकल, र बाल कथाका पुस्तकहरू प्रदान गरिएको छ। २५ सेट न्यानो तन्ना, ३ वटा साइकल, र १ दर्जन बालकथाका किताबहरू वितरण गरिएको संस्थाले जनाएको छ ।
अमेरिका निवासी अभिरा आचार्यले आफ्नो जन्मदिनको अवसरमा सहयोगस्वरूप रकम उपलब्ध गराएकी थिइन्। उक्त रकमको उक्त सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो ।
हेल्प फर ह्युमनका अध्यक्ष रबिन पाठकले बढ्दो जाडोलाई मध्यनजर राख्दै न्यानो सामग्री वितरण गरिएको बतए । उनले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। यो सहयोगले क्यान्सर पीडित बालबालिकाका लागि जाडो महिनामा थोरै भए पनि राहत पुर्याउने विश्वास गरिएको पाठकले बताए ।
कार्यक्रममा ओन्कोलोजी वार्डकी इन्चार्ज रमा पराजुली, हेल्प फर ह्युमनका अध्यक्ष रबिन पाठक, सदस्यहरू रञ्जित गौली, युवराज पाठक, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन विद्यालयमा स्वास्थ्यदूत नियुक्त गर्ने भएको छ।
विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन्।
अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रूपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन्।
यसैगरी नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममा विद्यालय स्वास्थ्यदूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो। विद्यालय स्वास्थ्यदूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका साथै आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ।
हाल देशका सातै प्रदेशका एक हजार ३८६ विद्यालयमा कार्यक्रम लागू भइरहेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गरेका थिए। सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्यदूत थप्न लागिएको हो।
पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्यदूत बन्नेछन्। उनीहरूलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सहरूले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन्। ‘हामीले नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं’, मन्त्री पौडेलले भने, ‘यसले बालबालिका र उनीहरूमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौँ।’
मन्त्रालयले यो वर्ष प्रयोगका रूपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। ‘विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ’, उनले भने, ‘त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो।’
अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ। तीनवटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलाउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ मन्त्री पौडेलले विद्यालय दूत कार्यक्रम अघि बढाएको उनको निजी सचिवालयले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ । मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो । बुधबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए । जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु हुने बताए ।
‘प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ,’ उनले भने । थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने भन्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
सभापति लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी जोशीलाई गत असोज ६ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो एक बजेर दुई मिनेट जाँदा भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।
थप विवरण आउन बाँकी रहेको छ।
एक समय ‘भाइरल’ बाल गायक सचिन परियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हाँस्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए ।
पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको निधन भएको छ ।
पूर्व परराष्ट्र सचिव मदन भट्टराईका अनुसार, उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको नियुक्तिलाई नेपालको कूटनीतिक इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिइन्छ ।
देशको वैदेशिक सेवामा महिला नेतृत्वको लागि उदाहरण स्थापित गर्दै उनले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्याइन् । शाह परराष्ट्र मन्त्रालयमा पहिलो महिला सहसचिव पनि हुन् । एक कूटनीतिज्ञको रूपमा, उनले ढाका (बंगलादेश) र वाशिंगटन डीसीमा पनि काम गरेकी थिइन् । १३ फेब्रुअरी, १९३३ मा जन्मिएकी उनी सेलिब्रेटी बैंकर अनिल केशरी शाहकी आमा हुन् ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरूका लागि यो सुविधा उपलब्ध गराइएको जानकारी दिएको हो।
परीक्षार्थीको हाजिरी सजिलो र व्यवस्थित बनाउने उद्देश्यले त्रिविले उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रहरूलाई अनलाइन पोर्टल उपलब्ध गराएको छ। सोही पोर्टलबाट प्रयोग गरी परीक्षा कार्यालयले परीक्षार्थीको हाजिरी अनलाइन प्रणालीबाट गर्न सक्छन्।
परीक्षा केन्द्रमा पुगेपछि परीक्षार्थीले अनलाइन पोर्टलमा आफ्नो हाजिरी गराउनुपर्नेछ। त्रिविले परीक्षार्थीका लागि ल्याएको अनलाइन हाजिरी प्रणालीबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।