२०८१ माघ २६ गते शनिबार
२०८१ माघ २६ गते शनिबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपद्‍बाट भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन् ।

‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्‍बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्यांकन (डीडीए) को काम सुरु गर्ने र डीडीए भइसकेको ठाउँमा पुनर्निर्माणको काम अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने ।

विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निर्माण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं । आगामी माग तेस्रो सातादेखि जाजरकोटको भूकम्पको विपद् क्षतिको मूल्यांकन कार्य सुरु हुनेछ,’ उनले भने ।

उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्‍को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकका अनुसार साँझ सात बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्‍को बैठक बस्दैछ ।

आइतबारको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनर्निर्माणको कामले तीव्रता पाउने उनको भनाइ छ ।

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाका उपाध्यक्ष गीताकुमारी सिंहले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् ।

कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष सिंहले पालिकाको सरकारी स्कोरपियो तोडफोड गरेकी हुन् । उनले गाडीलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएकी छन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका थिए । उपाध्यक्ष सिंहले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेर राखेको गाडी तोडफोड गरेको जनाइएको छ । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए । बा. २ झ ३६४३ नम्बरको स्कारपियो ढुंगाले हानेर तोडफोड गरेको उपाध्यक्ष सिंह आफैंले स्वीकार गरेकी छिन् ।

सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । पाँच जनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन ।

दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्व समेत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ ।

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.२० प्रतिशतले बढ्दा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार भएको छ ।

आज १४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२७ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार १६७ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने बाँकी ५ वटा समूह घटेको छ ।

आइतबार सबैभन्दा बढी हाइड्रोपावर समूह १.६७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०२ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी फाइनान्स समूह १.०४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१४ प्रतिशतले घटेको छ ।

मुस्ताङमा झण्डै ७ करोड बराबरको अवैध सामानसहित तीन जना पक्राउ परेका छन् ।  भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाको ६ करोड ८१ लाख बीस हजार ५१० रूपैयाँको अवैध सामानसहित उनीहरू पक्राउ परेका मुस्ताङ प्रहरीले जनाएको छ । 

कोरोला नाकाबाट जोमसोम हुँदै बेनीतर्फ जाँदै गरेको ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अवैध रूपमा सामान ओसारपसार भएको हुन सक्ने भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले ट्रक चालक विष्णु थापा, ट्रकमा रहेका ट्रकधनी घ्याचो गुरुङ र सोही ट्रकमा रहेका टसी आया गुरुङलाई पक्राउ गरिएको डीएसपी सूर्यबहादुर बोगटीले बताए । 

उक्त ट्रकलाई मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र चेक पोष्ट नजिक  फेला पारी ट्रक चालक थापा, ट्रकधनी गुरुङ र सोही ट्रकमा रहेका टसी आया गुरुङलाई समेत सोधपुछ गर्दा शंका लागि उक्त ट्रकभित्र चेकजाँच गर्दा अन्दाजी ६ करोड ८१ लाख २० हजार ५१० रूपैयाँ बराबरको सामान भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाका सामान फेला परेको डीएसपी बोगटीले बताए ।

उक्त ट्रकबाट ३३ प्रकारका सामान बरामद गरिएको छ । आवश्यक कानूनी प्रकृया पूरा गरी पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको डीएसपी बोगटीले बताए ।

मादक पदार्थ सेवन (मापसे) गरेका वडाध्यक्षसहित १५० जनाको समूहले प्रहरीको गाडीमा आक्रमण गरेपछि सर्लाहीमा गोली चलेको छ ।

सर्लाहीको रामनगर पाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवसहितको समूहले बैजनाथमा प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनामा पाँच राउण्ड गोली चलेको छ ।

मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख, प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

सो क्रममा वडाध्यक्ष यादव पनि मादक पदार्थ सेवन गरेर आएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसपी सुवास बोहोराले जानकारी दिएका छन् । घटनामा केही स्थानीयसहित एक जना प्रहरी घाइते भएका छन् । एसपी बोहराका अनुसार प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।

 

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन ।

काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुन सकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए । 

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार  अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, मौसमविद् महर्जनले भने, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।”

 उनले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मंगलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताए । 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।  

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। पेसा–व्यवसायमा साँझतिर मनग्य लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा मान–सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई हराउन सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ। साँझतिर केही विवादास्पद काममा जुट्नुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि धन र बुद्धि खर्चनुपर्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर राेकिएकाे काम थाल्न सकिनेछ। भौतिक साधनले काममा सहजता ल्याउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’

आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन्। ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।’

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए। पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।