बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सप्तरी । युवतीको बलात्कारपछि हत्या र नाबालकलाई वेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले वडाध्यक्ष साहसहित दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि वडाध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नव निर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध दुई वटा मुद्दा दर्ता भएका छन् । उनीहरूलाई जबर्जस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति वेपत्ता गरेको सम्बन्धी अभियोग लागेको छ । साह मंसिर २० मा वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए । उनीसहितको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ ।
आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । २०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । अझैसम्म नितिशको अवस्था अज्ञात छ ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।
अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललाइ पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाइ बर्खास्त गरेका थिए । पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्नीसाईर कृष्णसवरन गाउँपालिका–५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ ।
‘पोखरेलले मसँग भेटेर मेरी छोरीलाई एमबीबीएस डाक्टरी पढाउन मेरो पहुँच माथिसम्म पावर छ । म तपाईंको छोरीलाई डाक्टरी पढाउन, नाम निकाल्न होस्टलमा राख्न समेत वातावरण बनाइदिन्छु भनेर आश्वासन दिएका थिए,’ चौधरीको जाहेरीमा उल्लेख छ । रकम फिर्ता नगरी ठगेको र कपाली लिखत बदर गर्न माग गर्दै चौधरी इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी लिएर पुगे तर प्रहरीले जाहेरी लिन अस्वीकार गरे । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङमा पनि पुगे। तर त्यहाँ पनि उनको जाहेरी प्रहरीले स्वीकार गरेन ।
दुवै ठाउँमा जाहेरी नलिएपछि उनले २०७९ साउन १८ गते हुलाकमार्फत रजिष्ट्री गरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । तैपनि जाहेरी दर्ता नगरेको भन्दै पीडित चौधरीले २०७९ साउन ३१ गते उच्च अदालत विराटनगरमा रिट दायर गराएका हुन् । परमादेशको आदेश जारी गर्नुपर्ने देखिन आयो,’ आदेशमा भनिएको छ।
काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको हो।
विभागले यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि भएको छ।
वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ ।
महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो ।
वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको जानकारी दिए । ‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालेका छौँ’, उनले भने, ‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’
महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन् । नगर प्रहरी प्रमुख भुसालले महानगरले उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्न लागेको जानकारी दिए ।
‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ’, उनले भने, ‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’ नगर प्रमुख भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क अघि बढाउने बताए ।
बिपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाहीले महानगरले आफूहरुलाई हटाएर बिचल्ली बनाएको दाबी गरे । ‘बिपी उद्यानमा दैनिक पाँच–दश केजी बङ्गुरको मासु बेच्दै आइरहेका थियौँ’, उनले भने, ‘यहीबाट परिवारको गर्जाे टार्दै आइरहेका थियौँ । आजदेखि त हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्र्यौल सिर्जना भएको छ ।’
उनले महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने बताए । ‘डोजर लगाएर हामीलाई त हटाएका छन् । अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन कि भन्ने आशङ्का उब्जिएको छ’, उनले भने । महानगरले यसअघि गत मंसिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो ।
सो म्याद पनि यही पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो । दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि भने आइतबार एक्साभेटर लगाएर खाली गरेको हो । महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।
स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो ।
उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको छ । समितिले छनोटमा परेको परियोजनालाई आगामी आइतबारदेखि व्यावसायिक योजना माग गरेको छ ।
व्यावसायिक योजना प्रस्तुुत गरी तोकिएको मापदण्ड पूरा गरेका परियोजनाले कर्जा पाउने समितिले जनाएको छ ।चालुु आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । गत वर्षदेखि स्टार्टअप उद्यम कर्जा वितरण कार्यव्रmम कार्यान्वयनमा आएको थियो । गत आवमा २५ करोड रुपियाँ विनियोजन गरिएकोमा १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो ।
कार्यविधि अनुसार तोकिएका १९ क्षेत्रमा परियोजनाको आवेदन प्राप्त भएको छ । यसमध्ये सबैभन्दा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी व्रmाफ्ट उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोेर्ट्स तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधनलगायतका क्षेत्रमा सबैभन्दा बढी परियोजनासम्बन्धी आवेदन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
चितवनमा बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्नै नसकिने छ। गाईगोठमा काम गर्ने श्रमिकले तलब नपाएको पनि महिनौँ भयो।
सहकारीको बचत रकम अपचलन, ठगी र दुरुपयोगको प्रताडना मान्छेले मात्रै होइन, अबोध पशुले पनि भोग्नु परिरहेको छ। ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरमा पालिएका ४१५ गाईको बिजोक भएको छ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीका चार हजार ५२८ बचतकर्ताको सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपैयाँ अपचलन र ठगी हुँदा बचतकर्तासँगै गाई पनि सास्ती भोग्न बाध्य भएका हुन् ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीले १६ बिघा जग्गा लिएर भवन निर्माण गरी ४१५ वटा गाई पालेको छ तर सहकारीको बचत रकम सहकारीको सिद्धान्तविपरीत अन्यत्र लगानी गरी अपचलन गरेको अभियोगमा २०८० फागुन २९ गते सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
गाई फार्म सञ्चालन गर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले दुग्ध पदार्थ बिक्रीबाट उठेको रकम लिए पनि त्यहाँ काम गर्ने श्रमिकले तलब पाएका छैनन् ।
उक्त सहकारी संस्था समस्याग्रस्त भए पनि सहकारीको सम्पत्ति विवरण खोज्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको टोली खैरहनी पुगेको थियो । समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले अनुगमनका क्रममा सहकारीले सञ्चालन गरेको गाई फार्मको अवस्था दयनीय देखेपछि बिक्री र लिलामी प्रक्रिया अघि बढाएको बताए।
‘१० वटा गाई मरेको पाइयो । पशु सेवा कार्यालयको टोलीलाई अध्ययन र निरीक्षणका लागि पठाउँदा ११९ वटा गाईमा बाँझोपन र अनुत्पादन भएको पाइयो’, उनले भने, ‘अरू २६८ वटा दुहुना गाई र बाच्छाबाच्छी छन् । तिनीहरूको व्यवस्थापन गर्ने तयारीमा समिति छ।’
गाई फार्मका प्रशासन अधिकृत कृष्णबहादुर भण्डारीले भदौ १२ गते नै समितिको कार्यालयलाई पत्र लेख्दै ४९ गाई बाँझोपनका कारण अनुत्पादक भएका कारण हटाउने निर्णय गरिदिन आग्रह गरेका थिए। सदस्यसचिव पौडेलका अनुसार बाँझोपन भएका गाईसमेत गोठमा राख्दा दुहुना गाईलाई पर्याप्त दाना र घाँस दिन समस्या भएको छ । गोरखापत्र दैनिकमा अशोक अधिकारीले समाचार लेखेका छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। इच्छा अनुसार कार्य क्षेत्रमा समय व्यतीत हुनेछ। पदको मर्यादा बनाएर राख्ने कोशिस गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजिक र आर्थिक व्यवस्थापन मजबुत बन्नेछ। शत्रुहरू परास्त हुनेछन्। जीविकोपार्जनको क्षेत्रमा ठूलो परिवर्तन देखिनेछ। कला वा संगीतको क्षेत्रमा लोकप्रियता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसाय र कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। दीर्घकालीन योजना प्रारम्भ गर्ने समय रहेको छ। दाम्पत्य जीवनमा मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा भाग्य भन्दा कर्ममा विश्वास गर्नुहोला। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा लाभदायी परिवर्तन हुन सक्नेछ। नोकरी वा पेशामा नयाँ विचारहरू आउनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आलस्य गर्दा बनेको काम बिग्रिनेछ। घरपरिवारको साथ मिल्नाले कार्य समयमा सम्पादन हुनेछ। कुनै परिचित व्यक्तिको बारेमा अप्रिय सूचना मिल्न सक्ला जसले गर्दा मन अप्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्ने प्रयास गर्नुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ साथै स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्नेछ। परीक्षामा सफलता मिल्नेछ। पेटको समस्या छ भने बढ्नसक्छ आहारमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा राम्रो सफलता मिल्नेछ साथै प्रेमीसँग आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुनेछ। रुचि अनुसार खानपानको आनन्द मिल्नेछ। धनको लेनदेन गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूको लागि दिन राम्रो रहेको छ। राज्यपक्ष र प्रशासन क्षेत्रबाट सहयोग प्राप्त हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। जग्गा जमिन सम्बन्धी काममा सफलता हात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा पराक्रममा वृद्धि हुनेछ। व्यापार गर्दा मनमा धेरै शङ्काहरू उत्पन्न हुनेछन् मनलाई संयमित राख्ने प्रयास गर्नुहोस्। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको साथ सहयोग मिल्नेछ। कार्यक्षेत्रबाट मानसम्मान मिल्नेछ। इच्छा अनुसारको परिकार मिल्नेछ। प्रतिष्ठित व्यक्ति वा कुनै आफन्तको सहयोगले लाभ मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक क्षेत्रमा नयाँ पद मिल्ने सम्भावना रहेको छ। घरेलु कामकाजमा अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ। पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन् बाणीमा संयम राख्नुहोस् ,सोधे भन्दा धेरै कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिंगापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।