काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे । |
मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए । ‘पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’
मंगलबार बिहान चीनमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालमा समेत सामान्य क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा घरमा पूर्ण क्षति भएको छ भने ११ वटा घरमा सामान्य क्षति पुगेको छ ।
ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं सिन्धुपाल्चोक र रामेछापमा भूकम्पले क्षति पुर्याएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुङ्गामा भूकम्पले दुई वटा घरमा सामान्य र एउटा घरमा पूर्ण क्षति तुल्याएको छ । सोलुखुम्बुमा पाँच वटा घरमा क्षति गरेको छ ।
संखुवासभा, सिन्धुपाल्चोक र रामेछापका एकरएक घरमा सामान्य क्षति पुगेको छ ।
प्रहरी मुख्यालयका अनुसार काठमाडौंसहित तीन जिल्लाहरू क्रमशः काभ्रे र सिन्धुपाल्चोकमा गरी १३ जना घाइते भएका छन् ।
प्रहरीले घाइते सबैको उद्धार गरेको छ । चीनको डिङ्गीमा मंगलबार बिहान ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ।
आज बिहान चीनको तिब्बत केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट भोटखोला –१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको उनको भनाइ छ।
भूकम्पले शेर्पाको दुई तले ढुङ्गा टिनको छानो भएको घर चिरा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। शेर्पाको घरमा ७ जनाको परिवार बस्दै आएका थिए। भूकम्पबाट अहिलेसम्म मानवीय क्षतिको सूचना नआएको र विवरण सङ्कलनका लागि स्थानीय तह,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको प्रजिअ खड्काले बताए।
चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा सदरमुकाम खाँदबारी आसपास ठुलो धक्का महसुस गरिएको थियो। भूकम्पबाट किमाथाङ्का नाकापारी सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको भोटखोलाका स्थानीयले बताएका छन्।
काठमाडौँ । आज बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ । कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।
प्रहरीका अनुसार हालसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।
आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजांग प्रान्तको सिगात्सेस्थित दिंगी गाउँमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
सोलुखुम्बु । मंगलबार गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।
भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
आज (मंगलबार) बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन् । नागार्जुन नगरपालिका–१० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको अधिकारीले बताए ।
त्यसैगरी भूकम्पको धक्काले आत्तिएर बारामा विद्यार्थीहरु बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको उनले बताए । आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण संकलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने, ‘स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ ।’
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए । उनले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए ।
चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।
सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ ।
विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु नौ अर्ब ९६ करोड लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष समेत रहेमा प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए । यस आयोजनामा रु ७४ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने रु एक अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन्।
साथै लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले रु सात अर्ब, ग्लोबल आइएमइ बैंकले रु छ अर्ब र प्रभु बैंकले रु तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत रु २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन् ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्र समेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए ।
बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालिएको हो।
नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरिएको थियो। यसरी उपलब्ध गराइएको नुन बाजुराभन्दा बाहिरका जिल्लामा पठाउने गरिएको पाइएपछि वडाको सिफारिस लिन थालिएको साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराले जानकारी दिए।
उनका अनुसार नुन धेरै मात्रामा खपत हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको मातहतमा सर्वपक्षीय बैठक बसेर २०८१ मङ्सिरदेखि नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको हो।
बाजुराको जनसङ्ख्या एक लाख ३८ हजार ५९८ छ। सरकारले प्रत्येक नागरिकलाई वर्षमा चार केजी सहुलियतको नुन वितरण गर्नका लागि बाजुरा पठाउँछ तर बाजुराका नागरिकले नागरिकताका आधारमा पटक पटक सहुलियतको नुन लिएर जिल्लाबाहिर पठाउने गरेको र जिल्लामा नुन अभावको समाचार पटकपटक आउने गरेपछि नयाँ व्यवस्था गरिएको कार्यालय प्रमुख बोहराले बताए। सहुलियतको नुन वडा कार्यालयको सिफारिसले मात्र लिन पाउने व्यवस्थाले वितरणमा पारदर्शिता भए पनि सर्वसाधरणका लागि भने झञ्झटिलो भएको बडीमालिका-७ का हरिचन्द्र पाध्यायले बताए।
कतिपय वडाध्यक्ष तथा कार्यवाहक वडाध्यक्ष भनेको वेला वडा कार्यालयमा नभेटिने, हस्ताक्षर गर्न वडाध्यक्षको घरमै जानुपर्ने अवस्था भएकाले यो प्रक्रिया झञ्झटिलो भएको उनको भनाइ छ। गाउँबाट पढाइ तथा रोजगारीका क्रममा बाजुराकै विभिन्न स्थानमा बसोबास गर्ने व्यक्ति तथा उद्यमी व्यवसायीले भने आफूहरूले नुन लिनैका लागि पनि वडा कार्यालय गएर फेरि नुन डिपोमा जानुपर्ने भएकाले सहुलियतको नुन लिन खर्च बढेको गुनासो गरेका छन्।
बाजुराको मार्तडी, कोल्टी, मौरै, कवाडी नुन डिपो र डोगडी, गौमूल, धुलाचौर र बेर्मा अस्थायी वितरण केन्द्रबाट सहुलियतको नुन वितरण भइरहेको छ।
नेपाल सरकार जनस्वास्थ्य मन्त्रालयमार्फत सरकारद्वारा घोषित दुर्गम तथा पिछडिएका जिल्ला बाजुरा, अछाम, बझाङ, हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला र जाजरकोटमा सहुलियतमा प्रतिकेजी नौ रुपैयाँका दरले नुन बिक्री हुने गरेको छ। नुनको बजारमूल्य २५ रुपैयाँ छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।