
नेपाल र चीन सीमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
लामो समयपछि काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे हालसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू–भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।
अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।




