गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ।
धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज बिहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरिएको गौमाता सेवा महासङ्घ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिए।
गोरखामा धार्मिक पर्यटकीय गतिविधि बढाउन गोरखादेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म गत वर्षदेखि खिचडी यात्रा गर्न थालिएको उनको भनाइ छ।
‘माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै यहाँस्थित गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेछ,’ उनले भने, ‘बीस वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको हो।’
खिचडी यात्राबाट परम्पराको जर्गेनामा मद्दत पुग्ने उनको भनाइ छ। गोरखाबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा चढाइन्छ। उक्त यात्रामा जनप्रतिनिधिसहित ६० जना छन्।
‘आज बिहान गोरखानाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित गोरखा–गोरखपुर यात्रा आरम्भ गरिएको छ,’ अध्यक्ष बस्न्यातले भने। गोरखपुरको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रह्ममूर्तको समयमा खिचडी चढाएपछि मात्रै खिचडी भोग गर्ने परम्परा छ।
खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै भारतको उत्तर प्रदेश र गोरखाबीचको धार्मिकसम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखामा धार्मिक पर्यटक बढाउन सकिने अध्यक्ष बस्न्यातको भनाइ छ।
काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको सुचना जारी गरिएको छ ।
काठमाडौं महानगरले आइतबार एक सूचना जारी गर्दै वडा नम्बर २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन भवनको नक्सा पासबारे छानबिन समिति गठन कार्य भइरहेकाले नक्सा पास निष्क्रिय रहेको सुचना जारी गरेको हो ।
समितिबाट प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नहुँदासम्मका लागि भवनको नक्सा निष्क्रिय रहेको सुचना जारी गरिएको हो।
काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि.बीच २०७१ फागुन २२ मा काठमाडौं भ्यूटावर निर्माणका लागि सम्झौता भएको भएको थियो ।
नक्सा पास प्रक्रियामा नियमविपरित कार्य गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरले निलम्बन गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ ।
काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका थिए ।
सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।
आज तीन सय एक कम्पनीको ८० लाख ८१ हजार छ सय ३१ कित्ता शेयर ४६ हजार छ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार तीन सय २३ मा खुम्चिएको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी वित्त समूह तीन दशमलव ६० र विकास बैंक समूह एक दशमलव ६० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८६, होटल तथा पर्यटन शून्य दशमलव ७७, जलविद्युत् एक दशमलव ४४, लगानी शून्य दशमलव ३९ र जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव ३६, लघुवित्त शून्य दशमलव ८७, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बिमा शून्य दशमलव ७३, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू २० करोड ४१ लाख ५३ हजार आठ सय ७२ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको छ लाख ३६ हजार आठ सय चार कित्ता शेयर किनबेच भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अदालत खुल्नु अगावै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेको थुन छेक बहस जारी रहेको छ । अदालतले कास्की जिल्ला अदालतझै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी आज हिरासतमा रहने छन् ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।
जिल्ला प्रहरी कास्कीको हिरासतमुक्त भए पनि शुक्रबार राती मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् । अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइरहेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर हुन पुगेका हुन । उक्त सहकारीबाट ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो ।
पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा. भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । ‘एक वर्षदेखि भन्सारमा रोकिएको सिटी स्क्यान मेसिनमा छुट बिना नै ल्याउनु पर्यो’, उनले भने, ‘लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।’
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका डा. अधिकारीले अस्पताल नवीकरण नहुँदा एम्बुलेन्स, शववहानलगायतका सवारीसाधन र उपकरण खरिदमा समस्या भएको बताए । नवीकरण नहुँदा अस्पतालको स्तरोन्नति रोकिएको र शैक्षिक कार्यक्रम प्रभावित बनेको उनको भनाइ छ ।
निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष बिक्रम अधिकारी सरकारले ढिला गरी ऐन पारित गर्दा अस्पताल प्रभावित बनेको बताउँछन् । उपकरण खरिद रोकिएको, बैंकको कर्जा प्रवाहमा असर परेको, सरकारले प्रदान गर्ने सेवा दिए वापतको भुक्तानी रोकिएको, शैक्षिक कार्यक्रम प्रभावित भएको, अस्पताल स्तरोन्नति र स्तरवृद्धि हुन नसकेको उनको भनाइ छ ।
उनका अनुसार बागमती प्रदेशमा सञ्चालित एक सय ९५ अस्पतालले उक्त समस्या भोगिरहेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालका अनुसार स्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवा नियमावली र ‘स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०८१’ तयार भए पनि राजपत्रमा प्रकाशित नहुँदा काम सुरु हुन नपाएको हो । उनले भने, ‘अबको एक–दुई दिनमा मापदण्ड राजपत्रमा प्रकाशित हुन्छ र दर्ता र नवीकरणको काम सुरु हुन्छ ।’ कूल् २६ देखि ५० शैंयासम्मका अस्पताल प्रदेशको स्वास्थ्य निर्देशनालयमा दर्ता हुने प्रावधान छ । उनले ५१ शैंयादेखि दुई सय शय्यासम्मका अस्पताल दर्ता र नवीकरणका लागि ६३ वटा फाइल दर्ता भए पनि प्रक्रिया अगाडि नबढेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा तोकिएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको कसुरमा उनीमाथि काठमाडौं अदालतमा बयान हुने भएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने आज बिहान काठमाडौं अदालतमा आफैँ उपस्थित भएका थिए ।
स्वर्णलक्ष्मी सहकरीको रकम अपचन अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा यही पुस २१ गते मुद्दा दायर भएको थियो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।
राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ । विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ।
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ ।
जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुंगानाको सरुवा भएको छ । अछामबाट सरुवा भएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा हालसम्म उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताए ।
यौन दुर्व्यवहार घटनाकी पीडित एक महिलाले पटक पटक मुद्दा सुनुवाइ नहुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गरे । विसं २०८१ वैशाखमा यौन दुर्व्यवहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालु प्रक्रियामा छ । आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौ पटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्यांकमा उल्लेख छ । तर नौ पटकसम्म पेशीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुई पटक मात्र आदेश भएको छ ।
न्यायका लागि अदालतमा आएका सर्वसाधारण पटक पटक मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फर्छ्योट हुन नसक्दा समस्यामा परेका छन् ।
पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठ वटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ । सामान्य थुनछेक आदेश कार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताए । पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दासँगै दुनियाबादी देवानी मुद्दाको सङ्ख्या अधिक रहेको उनले बताए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् । लामिछानेको सचिवालयका अनुसार उनी आज बिहान अदालतमा उपस्थित हुन लागेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया अगाडि बढाइएको छ ।