२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शल्यक्रियाबिनै क्यान्सरको उपचार हुने भएको छ ।

रेडिएसन थेरापीसहितको प्रविधि ल्याइएसँगै अब नोबेल मेडिकल कलेजमा शल्यक्रियाबिनै क्यान्सरको उपचार सम्भव हुने भएको हो ।

अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजले भित्र्याएको हो । यो अत्याधुनिक प्रविधि एसियाको नौ ठाउँमा मात्रै उपलब्ध छ ।

 

नेपालमा भने नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले आफ्नै अस्पताल नोबेल मेडिकल कलेजमा पहिलो पटक यो प्रविधि सञ्चालन गरेका हुन् ।

अत्याधुनिक रेडिएसन थेरापी जडान भएसँगै अब नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । यस उपकरणमा रहेको सिक्स डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआरएस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ ।

आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । यस थेरापीले विना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ ।

यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । रेडिएसन थेरापीका लागि विशेष बङ्करसहितको भवन निर्माण गरिएको छ भने ओपिडी, डे केयर, केमो थेरापी, शल्यक्रिया लगायतका सेवा सञ्चालनमा छन् ।

नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा.शर्माले क्यान्सर उपचारमा नयाँ मापदण्ड स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गरेका हुन् ।

सांसद डा.शर्माले गरिब परिवारको निःशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामाग्री खरिद गर्नेसम्मका काम गरिरहेका छन् ।

सांसद शर्माले नेपालको सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब नागरिकलाई सेवा प्रदान गर्दै आएका छन् ।

शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् ।

डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क क्याबिन राखिदिएका छन् ।

साथै डा.शर्माको काठमाडौंको सिनामगल स्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था कमजोर भएका जनतालाई निःशुल्क उपचार गर्दै आएका छन् ।

नेकपा एमालेबाट निष्काशित पूर्व उपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् ।

आफ्नो फेसबुक पेजबाट बिहीबार पार्टीको संक्षिप्त जानकारी सार्वजनिक गर्दै रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ। जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।

‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्नेछ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्।

समयमा पक्षघातको उपचार नहु्ँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन्। यस्तो अवस्थामा गरी अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ।

उक्त मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ।

‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुनछ। एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार पर्ने गरेको छ।

काठमाडौं । अब साना कम्पनीहरुले पनि आईपीओ जारी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ कार्याविधि बनाएर साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार गर्न दिने भएको हो । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ नियमावली जारी भएको छ ।

‘नेपाल सरकारबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय भएको थियो । सोही निर्णय बमोजिम बोर्डबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनेको हो ।

२०८१ साल माघ ३ गतेबाट लागू हुने गरी जारी गरिएको छ । यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत पत्राचार गरिएको छ’, बोर्डले निकालेको सूचनामा उल्लेख छ ।

धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।
 
आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ ।
 
आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् । 
 
बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ । 
 
त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स नौ दशमलव ३९, खानिखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको रु २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ । 

नेपाली कांग्रेसले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई मन्त्रालयको काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन जारी गरेको छ ।

आज (बिहीबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा संसदीय पदाधिकारीसहित राखेको बैठकमा मन्त्रीको ब्रिफिङपछि कांग्रेसले मन्त्रीहरूका लागि सात बुँदे निर्देशन जारी गरेको हो।

बैठकमा सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् । एमाले–कांग्रेसबीच भएका सात बुँदे सहमति अनुसार समीकरणलाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

हेर्नुस् सात बुँदे निर्देशन

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुने ।

६) सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने

७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

काठमाडौंँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबैै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।

निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।

कुन प्रदेशमा कति खोप

महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार आठ सय, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० मात्रा पठाइसकिएको जानकारी दिए ।

गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आआफ्नो जिल्लामा पठाउने उनले बताए ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताए । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

झापामा ५५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उनले बताए ।

जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताए । “खोप अभियानका लागि तथ्याङ्कल सङ्कलन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको छ”, उनले भने । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुनेछ ।

गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् ।

उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् । इलामको माईजोगमाई गाउँपालिका–१ का डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा  इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले  शुभकामना दिइरहेका छन् ।

स् काठमाडौं महानगरपालिकाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले एकतर्फी रूपमा लान्छना लगाइनु मन्त्रीको गैरजिम्मेवारीपन रहेको बताएको छ। महानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मन्त्री लामिछानेले सहयोग गर्नेभन्दा पनि अनेकन लान्छाना लगाएको बताएको हो।

​बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछाने माघ २ गते एक कार्यक्रममा काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको बताएका थिए।

‘उक्त बारेमा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,सो कार्यक्रममा प्रदेश सरकारका माननीय मन्त्रीले महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनुपर्ने भए पनि अहिलेसम्म राजश्व नबुझाएको र बजेट चाहिएपछि प्रदेश सरकारसँग बजेट माग्नेभन्दा बाहेक अरू कुरामा कहिल्यै पनि प्रदेश सरकारसँग समन्वय भइरहेको छैन, बजेटको बेलामा आउने, तर कानुन निर्माणको कुरामा के, के झन्झट छन के, के फुकाइदिनुपर्‍यो, सो गर्न तयार रहेको भनी राखेको भनाइ आफैँमा गैरजिम्मेवार र विषय वस्तुको जानकारी नलिई व्यक्त गरेको देखिन्छ,’विज्ञप्तिमा उल्लेख छ।

महानगरपालिकाले श्रावण १ गते देखि पौष मसान्तसम्म असुल गरेको विज्ञापन कर र मनोरन्जन कर बापतको रकम अर्ध वार्षिक रुपमा पठाउने गरिएकोमा यस वर्ष पौष मसान्तसम्म ६० प्रतिशतले हुने रकम स्थानीय संचित कोषमा दाखिला हुने र ४० प्रतिशतले हुने रकम बागमती प्रदेश संचित कोषमा दाखिला गर्ने गरी निर्णय भइसकेको जनाएको छ।

‘निर्णय भइसकेको कुरालाई अतिरन्जित गरेर सो भनाइ आएको प्रति काठमाडौं महानगरपालिका दुस्ख व्यक्त गर्दछ,’विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं । नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकको संख्या पछिल्लो समय बढ्दै गएको छ भने विभिन्न देशबाट निष्कासित नेपालीहरूको संख्या पनि उच्च देखिएको छ । अध्यागमन विभागका तथ्यांकअनुसार सन् २०२४ मा नेपालले ४९७ विदेशी नागरिकलाई निष्कासन गरेको छ भने अन्य देशहरूले १,५०६ नेपालीलाई फिर्ता पठाएका छन् । यो अनुपात झण्डै तीन गुणा बढी हो ।

नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकमध्ये चिनियाँ, अमेरिकी, बंगलादेशी, पाकिस्तानी र बेलायतीको संख्या बढी छ । एक वर्षको अवधिमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी र २७ बेलायती नागरिकलाई निष्कासन गरिएको छ । यीमध्ये धेरैजसोको अपराध भिसा अवधि नाघेर बस्नु (ओभर स्टे) रहेको छ ।

पर्यटक भिसामा नेपालमा पाँच महिना बस्न पाइने प्रावधान भए पनि अमेरिकी नागरिकले छ महिना बस्न पाउँछन् । तर, निर्धारित समय नाघेर बस्ने विदेशीलाई जरिवाना तिराई निष्कासन गरिन्छ ।

अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूले शंकास्पद गतिविधि गर्ने हुँदा राष्ट्रिय सुरक्षामा जोखिम थपिएको सुरक्षा अधिकारीहरूको भनाइ छ । विशेष गरी चिनियाँ नागरिकले पर्यटक भिसा र व्यवसायिक भिसाको दुरुपयोग गरी सुन तस्करी, अनलाइन ठगीजस्ता गतिविधि गरेका उदाहरण भेटिएका छन् । सन् २०२४ मा निष्कासित चिनियाँ नागरिकमध्ये १४१ जनाले भिसा अवधि नाघेका थिए भने दुईजनाले सार्वजनिक सम्पत्तिविरुद्ध अपराध गरेका थिए ।

विदेशबाट निष्कासित नेपालीहरूको मुख्य गन्तव्य मध्यपूर्वी देशहरू, मलेसिया, अमेरिका, दक्षिण कोरिया, र जापान रहेका छन् । भिसा अवधि समाप्त हुनु र अध्यागमन कानुनको उल्लंघन मुख्य कारण हुन् । अमेरिकाले अवैध रूपमा बस्ने नेपालीहरूलाई विशेष विमानमार्फत नेपाल फर्काउने गरेको छ । कतिपय नेपाली आप्रवासीले कानुनी सुरक्षाको अभाव झेल्नु परेको छ ।

अध्यागमन विभागले अवैध रूपमा बस्ने विदेशीहरूको निगरानी प्रभावकारी बनाउन नयाँ ट्र्याकिङ प्रणाली निर्माण गर्ने तयारी गरिरहेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार अवैध गतिविधिमा संलग्न विदेशीलाई जरिवाना तिराई निष्कासन गरिनुका साथै निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाइने योजना छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।