बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ ।
बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा सैफ मात्र घाइते भएका छन् । मुम्बईमा सैफमाथि भएको हमलाले मुम्बईमा त्रास फैलाएको छ । बान्द्रा प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको जनाएको छ ।
मुलुकभरका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ।
शिक्षामा राज्यको लगानी पुगेन भन्ने आवाज उठिरहेका बेला राज्यबाट सञ्चालित विद्यालयमा विद्यार्थी पुगेका छैनन्। नीतिगत तथा भौगोलिक जटिलताका कारण विद्यार्थी अभाव भएका विद्यालयलाई गाभ्न वा बन्द गर्न सकिएको छैन ।
सरकारी तथ्यांकअनुसार मुलुकभर २७ हजार ९९० सामुदायिक विद्यालय सञ्चालनमा छन्। यसभित्र परम्परागत धार (संस्कृत गुम्बा, मदरसालगायत) का एक हजार ३८४ वटा विद्यालय पनि समावेश छन्। १५ हजार ९६५ विद्यालयमा भने १०० भन्दा कम विद्यार्थी छन्, जुन कुल सामुदायिक विद्यालय सङ्ख्याको आधाभन्दा धेरै हो।
मन्त्रालयका अनुसार १०० देखि ५०० सम्म विद्यार्थी भएका विद्यालयको सङ्ख्या नौ हजार ७०७ छ। ५०० भन्दा कम विद्यार्थी भएका विद्यालय नौ हजार ७०४ छन्।
एक हजार ६३६ विद्यालयमा एक हजारभन्दा कम विद्यार्थी छन्। एक हजार ५०० भन्दा कम विद्यार्थी भएका विद्यालय ४४९ वटा छन् । १५ सयभन्दा बढी र दुई हजारभन्दा कम विद्यार्थी भएका विद्यालय १३६ छन् । दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालय एक सय वटा छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बाल विकास केन्द्रदेखि माध्यमिक तह (कक्षा ११ र १२ समेत गरी) मुलुकभरमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी अध्ययनरत छन् तर विद्यार्थीको अमिल्दो वितरणका कारण केही विद्यालयमा थाम्नै नसक्ने गरी विद्यार्थी भर्ना भएका छन् भने थुप्रै विद्यालय विद्यार्थी अभावमा बन्द गर्नुपर्ने वा ‘मर्ज’ मा लैजानुपर्ने अवस्थामा पुगेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीको यो अमिल्दो अवस्थाको अन्त्य गरेर सबै विद्यालयमा विद्यार्थी आकर्षण बढाउने विषयमा अध्ययन भइरहेको बताए। विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय गाभ्ने सरकारको नीति भए पनि यातायातको अभाव र घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यताले कैयौँ विद्यालय गाभ्न नसकिएको मन्त्री भट्टराईले बताए।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ ले समेत कुनै पनि विद्यार्थीलाई पढाइबाट वञ्चित गराउन नपाइने व्यवस्था गरेको छ। यसका कारण थोरै विद्यार्थी भए पनि पढाउनुपर्ने र विद्यार्थीलाई पढाइबाट वञ्चित गर्न नमिल्ने भएकाले विद्यालय गाभ्न सरकारलाई समस्या परेको छ। सूर्यप्रसाद पाण्डेले गोरखापत्र दैनिकमा समाचार लेखेका छन् ।
इजराइल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इजराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बुधबार पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिएका छन् । युद्धविरामको सम्झौता आइतबारदेखि कार्यान्वयनमा जाने पनि प्रधानमन्त्री शेख मोहम्मदले बताएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ ।
उनले वार्ताकारहरू सम्झौता लागु गर्नका लागि इजराइल र हमासका प्रतिनिधिसँग बाँकी प्रक्रियामा काम गरिरहेको बताएका छन् । योसँगै गाजामा १५ महिनादेखि चलेको रक्तपात अन्त्य भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौताले गजामा भइरहेको लडाईंलाई रोक्ने बताएका छन् । ‘प्यालेस्टिनी नागरिकहरूलाई अत्यावश्यक मानवीय सहयोग बढाउनेछ र १५ महिनाभन्दा बढी समयदेखि बन्धकमा रहेकाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउनेछ,’ राष्ट्रपति बाइडेनले बुधबार वासिङ्टनमा भनेका थि ए।
अब यो सम्झौता इसराइली पक्षबाट कार्यान्वयन हुनका लागि त्यहाँको मन्त्रिपरिषदले पारित गर्नुपर्नेछ । त्यसका लागि इसराइली पक्षसँग मध्यस्तकर्ताहरूले थप छलफल गरिरहेको भनेर समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले लेखेको छ।गाजामा अझै एक सय जना विभिन्न देशका नागरिकहरू हमासको बन्धकमा रहेको बताइएको छ । हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन् । इजराइल र हमासबीच पहिलो युद्धविराम सम्झौताको अवधि ६ हप्ताको हुनेछ ।
हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्न कन्काइ पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ ।
यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।
२०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचाँै पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए ।उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
स्थानीय समस्यामा
पटक–पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताइन् । ‘लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ’, उनले भनिन्, ‘अहिलेको ठेक्का प्रक्रिाया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।’
विगत १३ वर्षमा थुपै्र सरकारका निर्माण भए, प्रधानमन्त्री भए, मन्त्री भए तर चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अझै पूरा हुन नसकेकोमा गौरीगञ्ज–१ का स्थानीय टङ्कप्रसाद श्रेष्ठले दुःख व्यक्त गरे । ‘अहिले पुल निर्माण क्षेत्रबाट निर्माण कम्पनीले आफ्ना सामान लगिसकेको अवस्था छ, अब कन्काई पुल निर्माण सम्पन्न होला र पुलमा यात्रा गरौँला भन्ने आश नै मर्यो’, श्रेष्ठले भने ।
पुल बन्दाबन्दै के कारण विगत एक वर्षदेखि रोकिएको हो थाहा जानकारी नै नभएको झापा गाउँपालिका वडा नंं २ का वडाध्यक्ष हिमालकुमार चाम्लागाईले बताए । ‘यो पुल निर्माण सम्पन्न गर्न पटक–पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा समेत सुुनुवाइ हुन सकेको छैन’, उनले भने, ‘दैनिक हजारौंले आवतजावत गर्ने हुलाकी सडकमा यो पुल छिटो बनेमा सेवाग्राही लाभाविन्वत हुनेछन् ।’
लामो समयसम्म पनि कन्काई नदीमाथि पुल निर्माण सम्पन्न नभएपछि यहाँबाट आवतजावत गर्ने मानिसहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन । गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा डुङ्गा सञ्चालनका लागि दुई लाख ३० हजारमा ठेक्का दिएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले वताए । उनका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम भइरहेको छ ।
उक्त ठेक्का लिएका ईश्वर माझीका अनुसार कन्काई नदी तार्न बनाइएको उक्त पुल तार्न मोटरसाइकललाई एकतर्फी रु ५० र पैदल यात्रीलाई रु २० लाग्ने गरेको छ । यात्रालाई सहज बनाउन पुल निर्माण गरी सेवा दिइरहेको माझीले बताए । यो बाटो भई यात्रा गर्ने पैदलयात्री तथा मोटरसाइकल यात्रीले शुल्क उठाउने विषयमा विरोध गर्दै आएका छन् । विरोध बढ्दै गएपछि गाउँपालिकाले वाँसको पुलमा यात्रा निःशुल्क गर्ने विषयमा संवाद भइरहेको गौरीगञ्ज–१ का अध्यक्ष राजवंशीले बताए ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको अवसर मिल्दा पनि सोचे अनुरूप लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफ्नो मेहनतको फल अरुले लिन सक्छन्। व्यापार व्यवसायमा विशिष्ट व्यक्तिहरूको सहयोग लिएर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आध्यात्मिक चिन्तनतिर झुकाव रहनेछ। सामाजिक र सांस्कृतिक कार्यक्रममा भाग लिन सक्नुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सफलता हात लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी क्षेत्रमा पदेन्नतिका योग छन्। व्यावहारिक जीवन आनन्दमय रहनेछ। विद्यार्थीहरूलाई कानुनी शिक्षामा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभप्रद रहनेछ। नयाँ नोकरीको आँफर मिल्न सक्ला। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। समाजमा सम्मान बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनीतिमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा प्रशासनिक क्षेत्रबाट सहयोग नमिल्ला। खर्च बढ्नेछ। स्वास्थ्यलाई लिएर सचेत हुनुहोस्। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कामको सन्दर्भमा उच्चपदासीन व्यक्तिहरूको साथमा सम्पर्क बढ्नेछ। व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। नयाँ कामको थालनीमा पारिवारिक सहयोग मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन लाभदायक रहनेछ। कार्यक्षेत्रमा पिताद्वारा सहयोग मिल्नेछ। नयाँ कामको जग बसाउन सकिन्छ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरु बन्नेछन्। आफ्नो गोपनीयता उजागर नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सहयोग मिल्ला। आध्यात्मिक क्षेत्रमा विकास हुनुको साथै पठनपाठनमा मन लाग्नेछ। सामाजिक कार्यले समाजमा वर्चस्व बढ्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको च्यापाच्यापले दिन थकानपूर्ण रहनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोला। आर्थिक पक्ष सबल रहनुको साथै मान सम्मान बढ्नेछ। आध्यात्मिक क्षेत्रमा विशिष्ट व्यक्तिको साथ र प्रशंसा पाइएला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लगनशीलताले गर्दा प्रशंसा मिल्नेछ। छर छिमेकीसँग वादविवादमा अघि नसर्नुहोला। कृषि वा पशुपालनबाट लाभ पाइएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा सहयोगीहरू प्रतिस्पर्धी बन्नेछन्। उद्योग व्यापारमा लाभ हुनेछ ।आत्मबल बढ्नेछ। चुनौतीपूर्ण कार्यबाट लाभ आर्जन गर्न सकिनेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्ला आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायलाई लिएर नयाँ रूपरेखा कोरिनेछ। सन्तानबाट उपहार मिल्ला। आफन्तहरूसँग भेटघाटले मन उत्साहित र प्रसन्न रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ । त्यसैका कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको हो । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन । काठमाडौंमा अहिले मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन ।
रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिमसम्म तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । विराटनगरसमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । जसका कारण सबैभन्दा न्यून भिजिविलिटी छ ।
विराटनगर बिहान पौने ६ बजेको भिजिविलिटी एक सयमिटर छ । ‘सिमरामा तीन सय, नेपालगञ्जमा १२ सय र भैरहवामा १६ सय मिटर भिजिविलिटी रहेको छ’, मौसमविद् गोविन्द झाले भने । बुधबार यही समय विराटनगरमा ६०० मिटर, धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी रहेको थियो ।
आजबाट हिजोको तुलनामा हुस्सु र कुहिरो केही कम लाग्ने पूर्वानुमान रहे पनि झन बढेको हो । न्यून भिजिविलिटीका कारण आज पनि बिहानको समयमा तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ ।
बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ । न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो ।
आज धेरै स्थानमा कुहिरो लागेको छ । एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झाको भनाइ छ । हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुने उनले जानकारी दिए ।
यस्तो छ अबका तीन दिनको मौसम पूर्वानुमान
.jpg)
.jpg)
.jpg)
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्यांक एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिंगापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।