२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा आज (सोमबार) बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।

“वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक दुई वर्ष पुग्छ”, उनले भने,“कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ ।”

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँच बुँदे परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खनन्मा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन् बन्द गर्न/गराउन परमादेश जारी गरेको हो ।

उक्त परमादेशमा नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाइ लागु गर्न आदेश दिइएको छ ।

परमादेशमा भनिएको छ, “छ वटै प्रदेशले तयार पारी लागु गरेको नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७५, नेपाल सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ समेत कार्यविधि र मापदण्ड प्राकृतिक स्रोत संरक्षण गर्नका लागि नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत ९उत्खनन् तथा नियन्त्रण० ऐन तत्काल बनाई लागु गर्नु ।”

देशभरका खोला तथा नदीमा भएको अवैध उत्खनन् रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थिए । सोही रिट निवेदनमाथीको सुनुवाइपछि सर्वोच्च अदातले उक्त परमादेश जारी गरेको हो ।

अदालतले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा १७ मा नदीजन्य पदार्थको उत्खनन् गरिने स्थानको लम्बाई चौडाइ तथा गहिराईसहितको चार किल्ला उत्खनन् गर्ने अवधि र समय, प्रयोग गरिने साधनसमेत जानकारीसहित उत्खनन्स्थलमा सूचना पाटी अनिवार्यरुपमा मिलाउनु पर्नेछ भन्ने व्यवस्था भएता पनि हालसम्म स्थलगत अध्ययनवाट सूचनापाटी राखेको नदेखिएकाले कार्यस्थलमा सूचनापाटी अनिवार्य राख्नु र सोको अनुगमनसमेत गर्नु भनी विपक्षीको नाममा परमादेश जारी गरेको छ ।

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो।

आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ। होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ०५ प्रतिशतको वृद्धि देखिएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको रु २४ करोड एक लाख ८८ हजार चार सय चार बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको तीन लाख ७७ हजार छ सय ४६ कित्ता शेयर कारोबार भएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न भनेका हुन्।

यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

जोशीले सोमबार अपराह्न धरौटी बुझाइसकेका छन्।

यसअघि कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

महोत्तरीको मटिहानी नगरपालिका– ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ। यस बस्तीका दलित मुसहर परिवारले शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन्।

स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घरपरिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन। यहाँका सबैले खुला स्थानमै शौच गर्दै आएका छन्। यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनाको जनसंख्या रहेको छ। यहाँ बसोबास गर्ने सबैजना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिसापिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन्।

बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबुबाजे पालादेखि नै सपरिवार खुला स्थानमै शौच गर्दै आएको बताए। स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, वास र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठुलो कुरा भएको बताए। यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु भन्दै उनले प्रतिप्रश्न गरे।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताए।

शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैनादेवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छी र अन्य जनावरको डर हुने गरेको दुखेसो गरे। उनका अनुसार ठुला पुरुष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन्, तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै वेला पिटाइ खानुपर्ने हुन्छ।

खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन।

चारैतिरै सबै कुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गाजमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालयसमेत निर्माण गर्न नसकिएको वडाध्यक्ष अब्दुल गफार राइनले बताए।

वडाध्यक्ष राइनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबैजनाको एकनासको बस्ने जग्गासमेत छैन। कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन।

वडाध्यक्ष राइनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकाशमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए।

मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरु षडानन्द पढेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो।

चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् ।

असई बुद्धिबहादुर भुजेल युवकलाई निर्घात कुटपिट गरेको आरोपमा निलम्बनमा परेका हुन् । असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए ।

पुस १५ गते राति ११ बजे भरतपुरको तीनखोले गुम्बानजिकै बाइपास रोडमा असई भुजेलले एक युवकमाथि निर्घात कुटपिट गरेका थिए । उक्त भिडिओ आज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ ।

उक्त समितिले घटनाबारे छानबिन गरिरहेको चितवन जिल्ला प्रहरीका एसपी गौतम मिश्रले जानकारी दिए ।

चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालहरुमा ‘भाइरल’ भइरहेको छ । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लडाएर लात्तैलात्ताले हानेका छन् ।

प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ । प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरुलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताए । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने यो भिडियो पुरानो भएको दाबी गरेका छन् ।

काठमाडौं । २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअअनुसार नौं वटा वाणिज्य बैंकको नाफा घटेको छ । योसँगै बैंकहरुको समग्र नाफामा पनि गिरावट आएको छ ।

६ महिनाको यो अवधिमा बैंकहरुले कुल २७ अर्ब ४३ करोड रुपैयाँ बराबर नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यो वर्ष बैंकहरुले कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा १ अर्ब ३२ करोड अर्थात् ४.६१ प्रतिशतले कम हो ।

प्रतिशतका आधारमा नाफा घट्नेमा एनआइसी एशिया, कुमारी, सिद्धार्थ, नेपाल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
जसमा सबैभन्दा धेरै एनआईशी एशिया बैंकको ९२.०३ प्रतिशत, कुमारीको ६८.२० प्रतिशत, राष्ट्रिय वाणिज्यको ६२.१३ प्रतिशत, सिद्धार्थको ५२.३५ प्रतिशत, कृषि विकासको २९.३४ प्रतिशत, नेपाल बैंकको २१.६८ प्रतिशत सिटिजन्सको १५.४५ प्रतिशत, प्राइमको १४.३३ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.९६ प्रतिशतले घटेको छ ।

यता, यो अवधिमा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकको सबैभन्दा कम अर्थात् १५ करोड १७ लाख रुपैयाँ कमाएको विवरणमा उल्लेख छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८३ करोड, एभरेष्ट बैंकको २ अर्ब ७ करोड, एनएमबि बैंकको २ अर्ब, प्राइम बैंकको १ अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ६४ करोड तथा हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकको १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबीआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ ।

त्यसैगरी, प्रतिशतका आधारमा हेर्दा यो अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ । उक्त बैंकको ८५.४८ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ बराबरको नाफा बढेको हो । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको ५७.१८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४९.५१ प्रतिशत, एनएमबि बैंकको ४५.६० प्रतिशत, एभरेष्ट बैंकको २१.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.१० प्रतिशत, सानिमा बैंकको ४.७१ प्रतिशत, नबिल बैंकको २.८१ प्रतिशत हिमालयन बैंकको ०.९८ प्रतिशत तथा माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।

बिर्तामोड । सोफा उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँले’ झापाको बिर्तामोडमा आफ्नो आठौँ शाखा  सञ्चालनमा ल्याएको छ।  आइतबार उक्त नयाँ शाखाको उद्घाटन  व्यवसायी दुर्गा प्रसाईँले गरे । 

बिर्तामोड शाखासँगै पूर्वमा उच्चस्तरीय सेवा प्रदानका साथै उपभोक्ताको आवश्यकता पूरा हुने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रममा प्रसाईँले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले सोफा हबजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे। 

सोफा र फर्निचरको दुनियाँमा ‘सोफा हब बिर्तामोड’ बिर्तामोड क्षेत्रकै सबै भन्दा ठुलो सोरुम भएको सोफा कम्पनी भएको छ। तीन तले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरू प्रदर्शनमा राखिएका छन्। पहिलो र दोस्रो तल्लामा विभिन्न डिजाइनका सस्ता देखी महँगा सोफाहरू राखिएको छ भने तेस्रो तल्लामा फर्निचरका सामान जस्तै बेड, दराज, डाइनिङ टेबल, ड्रेसिङ टेबल, टिभी सो केस लगायतका सामान राखिएको छ। 

सोफा हब काठमाडौँ तथा सोफा उत्पादक संघको अध्यक्ष रहेका तारालाल धरेलले सोफा हब काठमाडौँका हरेक शाखामा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख भन्दा माथि रोयल सोफा र फर्निचरका सामानसम्म उपलब्ध रहेको जानकारी दिए। कम्पनीले १० वर्षको वारेन्टी, शाखा भएको ५० किलोमिटर भित्र निःशुल्क डेलिभरी, र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।

काठमाडौँको गोठाटार हाइटमा प्रधान कार्यालय रहेको कम्पनीको काठमाडौँमा गोठाटार, सामाखुसी र कलंकी गरी तिन वटा, चितवनमा २ वटा, पोखरामा एउटा, नेपालगन्जमा एउटा र बिर्तामोडमा १ गरी जम्मा ८ वटा शाखा संचालनमा छन्। सोफा हवले आफ्नै उत्पादनशालाबाट सोफा र फर्निचरका सामान उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ भने काठमाडौँको कलंकीमा ‘सोफा हब काठमाडौँ’को  रोयल सोफा तथा फर्निचरको सोरुम रहेको छ। 

सोफा हब काठमाडौँले १६८ जनालाई प्रत्यक्ष रोजगार र १,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिँदै आएको छ । 

डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो । टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकी कानुनअनुसार टिकटकले राष्ट्रिय सुरक्षालाई उदृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो ।

ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिनसक्ने बताएका छन् । विगतमा ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । यसपछि अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घन्टाअघि टिकटकले आफ्नो सेवा बन्द गरेको थियो ।
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।