घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उनले यस्तो धारणा राखेका हुन्।
शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उनले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताए । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उनले शिक्षालय परिवारलाई आग्रह गरे।
सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतीक भएको नेपाली समाजमा स्थापित भइसकेको बताए।
सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यार्पण गरे ।
नेपाली कांग्रेसको शिक्षा विभागले ७औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा फर्चुअल माध्यमबाट ग्लोबल वेबिनार आयोजना गरेको छ। शिक्षा नीति बहसअन्तर्गत चौथो श्रृंखलाका रूपमा आयोजित यो वेबिनार २४ जनवरीका दिन सम्पन्न भयो।
शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा १ लाख ५ हजारभन्दा धेरैको सहभागिता रह्यो। कार्यक्रममा विश्वव्यापी रूपमा परिवर्तन भइरहेका शिक्षा प्रणालीका नयाँ आयाम, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभाव, र शिक्षालाई व्यवस्थित बनाउने उपायबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रविधिको महत्व औंल्याउँदै समय सापेक्ष शिक्षा नीति अंगिकार गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘यदि हामी प्रविधिलाई समयमै अंगाल्न सक्दैनौं भने विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सक्दैनौं। त्यसैले प्रविधि विकास र उपयोगमा ध्यान दिनुपर्छ।’
शिक्षा विभाग प्रमुख नैनसिंह महरले एआईको सदुपयोग र त्यसले मानव जीवनमा पार्न सक्ने प्रभावबारे चर्चा गरे। उनले भने, ‘जस्तो व्यवहार र कर्म हामी गर्छौं, त्यसै अनुसार एआईले पनि काम गर्दछ। त्यसैले राम्रो सोच्न र आदर्श जीवनपद्धति अपनाउन आवश्यक छ। एआईको दुरुपयोग भएमा यसले विश्वमा ठूला खतरा उत्पन्न गर्न सक्छ। यसलाई कानुनी रूपमा व्यवस्थित गर्न जरुरी छ।’
खुला विश्वविद्यालयका डिन सुरेन्द्र श्रेष्ठ, पावर अथोरिटीका निर्देशक सुरेन्द्र लम्साल, वातावरणविद् डा. धर्म उप्रेती, र भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थीलगायत विज्ञहरूले एआईको प्रभाव र शिक्षामा यसको उपयोगबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख, एनआरएनका प्रतिनिधि, ३५ देशका जनसम्पर्क समिति, नेपालका विश्वविद्यालयका भिसी, रेक्टर, रजिष्ट्रार, मन्त्रीहरू, र कांग्रेस पदाधिकारीसमेत गरी एक लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए।
रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।
उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको बताए। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए।
लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।
गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।
बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन्।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।
यस विषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको बताउँदै नाम नबताउने शर्तमा स्रोतले भन्यो, ‘यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् ।’
काठमाडौ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् ।
यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् ।
यसैगरी विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन्। जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।
गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ। त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिण्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ ।
विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रम समेत गर्न थालेको छ । कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ ।
कामपाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइ राइजर जडानको काम तीव्र रूपमा अघि बढाएको छ । कामपाको वडा नम्बर ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडाहरूमा आवश्यकताअनुसार उक्त प्रविधि जडान भइरहेको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उनी लागिपरेका हुन् ।
प्रचारभन्दा पनि परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएको छ । संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले कामहरू अगाडि बढाएको छ । यस अवधिमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडान सुचारू भएको छ । ठूलो धनराशि खर्चगरी निर्माण गरिएका दुवै विमानस्थलका लागि व्यावसायिक उड्डयन कार्य योजना पारित गरी कार्यान्वयनमा ल्याइएको हो ।
सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चहाने विमान कम्पनीलाई विभिन्न कर छुटलगायतका सुविधा उपलब्ध गराउने कार्ययोजना स्वीकृत भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलजजिरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले तीन वटा विमान कम्पनीले उडान सुरू गरी सकेका छन् । कम भिजिविलिटी भएका बेला उडान भर्न समस्या भएको भन्दै केही विदेशी हवाइ कम्पनीले बीचमा उडान तालिका कटौती गरेको भए पनि अहिले पुनः थप गरिरहेका छन् ।
परम्परागत रूपमा रहेको इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) प्रणाली जडान भइ सञ्चालनमा ल्याइएको छ । भारतले आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै आइएलएस सञ्चालनका लागि अनुमति नदिएपछि नयाँ विकल्प अगाडि सारिएको हो । आरएनपी–एआर भूउपग्रहमा आधारित अवतरण प्रणाली हो भने आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि हो । आरएनपी–एआर नेभिगेसन प्रणालीले जहाजलाई चुनौतीपूर्ण भूभाग र खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ ।
प्राधिकरण विभाजन विधेयक तयार
नेपालमा लामो समयदेखि चर्चामा रहेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा एउटै निकाय राख्न नहुने यसबाट स्वार्थ बाझियो भन्ने गुनासो सम्बोधन गर्न प्रक्रिया अगाडि बढाइएको छ । कानुनी सुधारबाट युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।
नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन मन्त्रीको नेतृत्वमा मन्त्रालयले अहोरात्र पहल गरिरहेको छ । पर्यटनमन्त्री पाण्डेले ऐनको नयाँ मस्यौदा बनाउँदा समय लाग्ने भएकाले पुरानो ऐनको मस्यौदालाई नै खोजेर त्यसलाई परिमार्जनसहित मन्त्रिपरिषद्मा पेस गरिएको र सुधार गर्नुपर्ने विषय संसद्बाट संशोधन गरेर सुधार गरिने बताए ।
उनले मन्त्रालयको काम बारबाहीलाई चुस्त र प्रभावकारी बनाउन तत निकायका नीतिगत सुधार र संरचनागत परिवर्तनलाई महत्वका साथ अगाडि बढाइएको विश्वास व्यक्त गरे । मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन तथा पुनरावलोकन सर्भेक्षण (ओ एण्ड एम) पुनरावलोकन काम सम्पन भएको मन्त्रालयले जनाएको छ ।
नीतिगत सुधारको थालनी
पर्यटन विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ भने क्यासिनो नियमावली, २०७० संशोधनका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधन गरिएको छ । पर्यटन नीति, २०८१ मस्यौदा तर्जुमा गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको छ । संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् समक्ष पेस गरिएको छ भने सङ्घीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको छ ।
भ्रमण दशक कार्यान्वयन
मन्त्रालयको महत्वपूर्ण काममध्ये पर्यटन दशक (२०२५–२०३५) कार्ययोजना निर्माण गरी स्वीकृतिको क्रममा रहेको छ ।भ्रमण दशक कार्यान्वयन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । नेपालमा सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सन् २०२४ मा ११ लाख बढी पर्यटक नेपाल आएका थिए ।
अन्तर सरकारी विषयगत समितिका दुई वटा बैठक पोखरा र ठाकुरद्वारामा सम्पन्न गरिएको छ । पर्यटन विभागबाट प्रबाह हुने सेवालाई अनलाइनबाट प्रवाह हुने व्यवस्था मिलाईएको मन्त्री पाण्डेले बताए । उनले अन्य राष्ट्रिय नीतिहरूसँग तादात्म्यता कायम भई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । तीनवटै तहहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास हुने मन्त्री पाण्डेको भनाइ छ ।
पर्यटन पूर्वाधार निर्माणमा तीव्रता
सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ । प्रत्येक प्रदेशमा एउटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक एक स्थान छनौट गरी विस्तृत परियोजना निर्माण कार्य सुरू गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
मन्त्रालयको अग्रसरता र समन्वयमा प्रदेश सरकार र एसियाली विकास बैंकबीच सम्झौता भई खप्तडबाट बढीमालिका सम्मको पदमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ । उक्त पदमार्ग रारासम्म विस्तारित हुनेगरी कार्य भइरहेको छ । थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ। मन्त्रालयअन्तर्गतका सबै निकायहरूसँग सम्बन्धित व्यवसायको दर्तादेखि व्यवसाय सञ्चालन प्रक्रियाहरूलाई सहजीकरण गर्दै झन्झटमुक्त बनाउन डिजिटाइजेशन सहित एकद्वार प्रणाली अवलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
द्विपक्षीय हवाई सेवा सम्झौता
नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको छ । नेपाल र इण्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रक्रिया अघि बढाइएको छ । राजविराज विमानस्थलमा रात्रीकालीन अवतरण क्षमतायुक्त बनाइ सञ्चालनमा ल्याइएको छ । यो सँगै १० वटा विमानस्थल रात्रीकालीन उडान सञ्चालन योग्य रहेको छ ।
त्रिअविमा ट्क्सी वे निर्माण
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गर्न समानान्तर ट्याक्सी वे विस्तारसम्बन्धी परियोजनाको तोकिएकै समयमा सम्पन्न गर्नेगरी कार्यप्रगति भइरहेको छ । हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न गुरू योजना बमोजिम विभिन्न चरणमा निर्माण कार्य भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर हाल समानान्तर ट्याक्सी वे बिस्तार कार्य भइरहेकोमा थप दुई घण्टा उडान समय थपिदैँछ ।
अन्तरप्रदेश हवाई अवद्धता
समग्र नागरिक उड्डयन क्षेत्रको सुधारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन भई कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ । वायुयान उडान प्रशिक्षण संस्था फाइङ स्कुल सञ्चालन गर्नका लागि इजाजत माग गरी सोको सम्बन्धमा मन्त्रालयले अध्ययन थालेको छ । युरोपियन युनियनको सुरक्षा चासोको पूचीबाट निस्किन महत्वपूर्ण दुर्घटना जाँचसम्बन्धी स्थायी संरचना निर्माण गर्नेगरी ऐनको मस्यौदा तर्जुमाको कार्यअघि बढाइएको छ । नेपाल सरकारको निर्णयअनुसार नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुधार समिति गठन भई कार्य प्रारम्भ भएको छ ।
संस्कृतिक सम्पदा संरक्षण
कपिलवस्तुस्थित तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएका छन् । भूकम्पबाट क्षति भई बन्द अवस्थामा रहेको राष्ट्रिय सङ्ग्रहालय परिसरको ऐतिहासिक भवनको जीर्णोद्धार कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विश्वसम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनका लागि कार्ययोजना, २०८१ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । नेपालबाट पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी आवधिक प्रतिवेदन तयार गरिएको छ । लुम्बिनी विकास कोषमा वर्षौदेखि प्रयोगविहिन अवस्थामा रहेका विद्युतीय बसलाई सञ्चालनमा ल्याइएको छ ।
मन्त्रालय मातहतको छपाइ प्रज्ञा प्रतिष्ठानबाट
पर्यटन मन्त्रालय तथा सम्बद्ध निकायहरूको सम्पूर्ण छपाईसम्बन्धी कार्यहरू प्रज्ञा प्रतिष्ठानको अत्यधुनिक प्रेसबाट मात्र गर्ने निर्णय भएको छ । कपिलवस्तु, रूपन्देही, कास्की, बाग्लुङ हुँदै मुक्तिनाथसम्म जोड्ने गरी स्वामीनारायण इन्लाइटमेन्ट सर्किटको नक्शाङ्कनको कार्य अगाडि बढाइएको छ । यसबाट विश्वमा करिब रू पाँच करोडभन्दा बढी अनुयायी भएका स्वामीनारायण सम्प्रदाय र धार्मिक सम्पदा नेपालसँग जोडिई धार्मिक पर्यटन उल्लेख्य योगदान पुग्ने अनुमान छ । मन्त्रालयले थालनी गरेका सुधारका कामले आगामी दिनमा दिगो विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।
काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुविरुद्ध लगातार कारबाही गरिरहेको छ । यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए ।
क्यारोलिन लेभिटले भने, ‘ट्रम्प प्रशासनले एक संदिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ ।’
‘ट्रम्प प्रशासनले सयौं गैरकानुनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिदैँछ’ उनले भने । ह्वाइट हाउसले थप भन्यो कि यो सरकारले देशको सीमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो ।
डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्वपूर्ण निर्णय लिएका थिए । सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।
धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित फर्निचर उद्योगमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ।
श्यामसुन्दर फर्निचर एण्ड काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा काठमाडौं शंखरापुर नगरपालिका–१ नाङलेभारेकी ७० वर्षीया टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । उनका श्रीमान ७३ वर्षीय तोयानाथ दङ्गाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । तोयानाथ फर्निचरका कामदार हुन् ।
प्रहरीका अनुसार शुक्रबार बेलुका नौ बजे आगलागी भएकोमा बिहान पौने २ बजे नियन्त्रणमा आएको हो । पाँच वटा दमकलको मद्दतमा सुरक्षा निकायले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीमा ९० लाख रुपैयाँ बराबरको क्षति भएको काभ्रेका डिएसपी मीनबहादुर घलेले बताए । फर्निचरसँगै रहेको एक घर र टहरा पनि जलेका छन् ।
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय विष्टले गत माघ ९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेका थिए ।
गोली लागी विष्टको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि कैलालीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यसअघि गत पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीकै समयमा आफैंमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने भने अहिले उपचारपछि घर फर्किसकेका छन् । प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्चिलाे काम थाल्न राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा राम्राे प्रगति हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिम्मत गर्दा काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहाेला। आफन्तको साथ सहयोग जुट्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। नयाँ काम थालनी गर्न सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्नेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।