२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार सो आदेश दिएका हुन् ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् ।

समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरूको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेको सचिवालयले जनाएको छ ।

‘बालबालिकाको जन्मजात सुन्न नसक्ने अपांगता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरूको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हौँ,’ मन्त्री पौडेलले भने ।

अब यस निर्देशिकाअनुसार महिलाको सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

‘स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक,कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ,’ उनले भने ।

निर्देशिकामा जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावक सँगसमेत जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ ।

निर्देशिकाअनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएइ उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ । परीक्षण उपकरण विशिष्टिकृत अस्पतालहरूमा विस्तार गर्ने मन्त्रालयले तयारी पनि अघि बढाएको छ ।

नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १।८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको विवरणमा छ । २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो ।

तर, बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन् । 

काठमाडौं । नेपाल प्रहरीका तत्कालीन इन्स्पेक्टर (प्रहरी निरीक्षक) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर हुने फैसला गरेको हो ।

०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए । विष्टले ‘बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसन यूपी’ बाट जारी हाई स्कुल परीक्षाको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उक्त प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमार्फत परीक्षण गर्न पठाउँदा ‘अपुष्टित’ भनेर जवाफ आएको थियो । विष्टलाई चार हजार जरिवाना हुने फैसला भएको छ । विष्ट २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए ।

काठमाडौँ– सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो।

एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन्।

सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुनेलगायत समस्या देखिएपछि एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिए।

 

‘सामान्य अज्ञानता वा लापरबाहीका कारण गम्भीर साइबर समस्या सिर्जना भइरहेका छन्। हामीले यो कुरा प्रयोगकर्तालाई जानकारी गरायौँ भने समस्या घट्ने अपेक्षा छ,’ उनले भने, ‘यो एडभाइजरी सरकारी निकायका कर्मचारीलाई मात्र होइन, सबै नागरिकका लागि हो।’

सरकारी वेबसाइट वा एप्लिकेसनमा समस्या देखिँदा कुन व्यक्तिलाई सम्पर्क गर्ने भनेर ‘फोकल पर्सन’ तोक्नका लागि पनि केन्द्रले सबै मन्त्रालय, आयोग, विभागलाई पत्राचार गरेको छ।

वेबसाइट र नेटवर्क सुरक्षाका लागि नियमित रूपमा वेबसाइट अद्यावधिक गर्ने, सुरक्षा परीक्षण गराउने र डाटाको नियमित ‘ब्याकअप’ राखी व्यवसाय निरन्तरता योजना लागू गर्ने सल्लाह एडभाइजरीमार्फत दिइएको छ। त्यस्तै, एन्टिभाइरस, डेटाबेस, एप्लिकेसन लाइब्रेरी र अपरेटिङ सिस्टमहरू अद्यावधिक गर्ने र मल्टिफ्याक्टर प्रमाणीकरण लागू गर्न निर्देशन गरिएको छ।

एडभाइजरीमार्फत डेस्कटप, ल्यापटप र प्रिन्टर सुरक्षाका लागि लाइसेन्स प्राप्त सफ्टवेयर मात्र प्रयोग गर्न, सिस्टम र बायोसलाई स्वचालित रूपमा अद्यावधिक गर्न र प्रिन्टरहरूलाई इन्टरनेट पहुँचबाट अलग राख्ने उपाय अपनाउन भनिएको छ।

पासवर्ड व्यवस्थापनका लागि सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, तीन महिनामा कम्तीमा एक पटक परिवर्तन गर्ने र गोपनीयता कायम राख्न मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्न सिफारिस गरिएको छ। इन्टरनेट ब्राउजिङ सुरक्षाका लागि सुरक्षित ब्राउजिङ विधिहरूको प्रयोग, अद्यावधिक ब्राउजरको प्रयोग र व्यक्तिगत जानकारी अनधिकृत वेबसाइटमा सेयर गर्न भनिएको छ।

सामाजिक सञ्जाल (सोसल मिडिया) मा अनधिकृत सामग्री पोस्ट नगर्न र व्यक्तिगत जानकारी सीमित मात्रामा प्रयोग गर्न तथा मोबाइल उपकरणको सुरक्षाका लागि अद्यावधिक  गरिएको अपरेटिङ सिस्टम, विश्वसनीय स्रोतबाट मात्र एप डाउनलोड गर्नेलगायत विषयमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ। यी उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरूलाई नियमित रूपमा साइबर सुरक्षा तालिम दिने व्यवस्था गर्न पनि केन्द्रले आग्रह गरेको छ।

केन्द्रले वेबसाइट अपडेट, डेटा ब्याकअप, सुरक्षित पासवर्ड, मल्टि–फ्याक्टर प्रमाणीकरण, नेटवर्क सेगमेन्टेसन र एन्टिभाइरस अपडेटलगायत कुरामा ध्यान पु¥याएर साइबर सुरक्षालाई सुदृढ बनाउन सकिने जनाएको छ।

यी सुरक्षात्मक उपायहरूले सरकारी प्रणालीलाई साइबर खतराबाट बचाउने र नागरिक सचेतनासमेत बढ्ने अपेक्षा गरिएको केन्द्रका निर्देशक महर्जनले बताएका छन्।

पासवर्ड व्यवस्थापन 

पासवर्ड सुरक्षित बनाउन सहजै अनुमान गर्न नसकिने र बलियो पासवर्ड बनाउने सल्लाह केन्द्रले दिएको छ। यसका लागि ठूला र साना अक्षर, संख्या र विशेष चिह्नको संयोजन भएको कम्तीमा आठ वर्णको पासवर्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै, तीन महिनामा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ।

व्यक्तिगत जानकारीहरु जस्तैः नाम, जन्ममिति, ठेगाना आदिको प्रयोग पासवर्डका रूपमा नगर्न भनिएको छ। कुनै पनि प्रणालीको डिफल्ट पासवर्ड तुरुन्त परिवर्तन गरी मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, एउटै पासवर्डलाई विभिन्न सेवा वा प्रणालीमा प्रयोग नगर्न र पासवर्ड गोप्य राखी अनधिकृत व्यक्तिसँग सेयर नगर्न सुझाव दिइएको छ।

इन्टरनेट ब्राउजिङ सुरक्षा 

सरकारी एप्लिकेसन, बैंकिङ सेवा वा अन्य महत्वपूर्ण सेवाहरू प्रयोग गर्दा सधैँ प्राइभेट ब्राउजिङ÷इन्कग्निटो मोड प्रयोग गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ। त्यस्तै, कुनै पनि वेबसाइटमा लिङ्कमा क्लिक नगरी ब्राउजरको एड्रेसबारमा डोमेन म्यानुअली टाइप गर्ने, ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने र यसलाई नियमित अद्यावधिक गर्न भनिएको छ।

ब्राउजरमा पासवर्ड वा भुक्तानीसम्बन्धी जानकारी सुरक्षित नगर्नसमेत सुझाव दिइएको छ। अनधिकृत थर्ड पार्टी सेवाहरू, जस्तैः नर्ड भिपिएन, एक्सप्रेस भीपीएन वा प्रोक्सीहरूको प्रयोग नगर्न र शंकास्पद वा पायरेटेड सामग्री डाउनलोड गर्नबाट जोगिन भनिएको छ।

इमेल तथा फिसिङ आक्रमणबाट सुरक्षा 

इमेलमार्फत हुने फिसिङ आक्रमणबाट बच्न अपरिचित व्यक्तिबाट आएका इमेल तुरुन्त नखोल्न र शंकास्पद अट्याचमेन्ट वा लिङ्क खोल्नबाट बच्नुपर्ने सल्लाह दिइएको छ। शंकास्पद इमेललाई स्प्याम रिपोर्ट गरी मेटाउनुपर्ने र आवश्यकबाहेक वेबपेजहरूमा सस्क्राइब नगर्न भनिएको छ।

ईमेल सेवामा मल्टिफ्याक्टर प्रमाणीकरण सक्रिय गर्ने, सार्वजनिक वाइफाइ प्रयोग गरेर व्यावसायिक ईमेल नखोल्ने र सकेसम्म सुरक्षित भीपीएनको प्रयोग गर्नुपर्ने एडभाइजारीमा उल्लेख छ।

रिमुभेबल मिडिया सुरक्षाको उपाय 

रिमुभेबल मिडिया (युएसबी, एक्स्ट्रनल हार्ड ड्राइभ आदि) प्रयोग गर्दा यसलाई प्रयोग गर्नुअघि स्क्यान गर्नुपर्ने र त्यसमा भएका संवेदनशील सामग्रीलाई पासवर्ड वा इन्क्रिप्सनका माध्यमबाट सुरक्षित गर्नुपर्ने जनाइएको छ।

अनधिकृत स्रोतबाट प्राप्त मिडियाहरू प्रयोग नगर्न र कार्यालयद्वारा स्वीकृत मिडियाहरू मात्र प्रयोग गर्न एडभाइजरीमार्फत निर्देशन दिइएको छ।

सामाजिक सञ्जाल सुरक्षासम्बन्धी 

सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत जानकारी सीमित राख्न, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट वा मेसेज स्वीकार गर्नुअघि राम्रोसँग जाँच गर्न र सरकारी जानकारी सार्वजनिक गर्नबाट जोगिन भनिएको छ।

सरकारी इमेल ठेगाना सामाजिक सञ्जालमा पोस्ट नगर्न र सामाजिक सञ्जाल खातामा मल्टिफ्याक्टर प्रमाणीकरण लागू गर्न सुझाव दिइएको छ।

मोबाइल सुरक्षा उपायहरू 

मोबाइल उपकरणको सुरक्षाका लागि पछिल्लो अपडेट÷प्याच लागू गर्न, एप्लिकेसन विश्वसनीय स्रोतबाट मात्र डाउनलोड गर्न र एप्लिकेसनले मागेको अनुमति ध्यानपूर्वक जाँच्नुपर्ने सल्लाह दिइएको छ।

आवश्यकताबाहेक वाईफाई, ब्लुटुथ, एनएफसी जीपीएसजस्ता सेन्सरहरू निष्क्रिय राख्न र मोबाइलमा एन्टिभाइरस सफ्टवेयर राख्न भनिएको छ। मोबाइल हराएमा ट्र्याक गर्न सकिने सुविधा सक्षम गर्न र आईएमईआई नम्बर सुरक्षित राख्न पनि एडभाइजरीमा उल्लेख छ।

रास्वपाकी सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।

२९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज र बिल भरपाई झिकाउन भन्दै सांसद कठायतले उजुरी दिएकी हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले पोखरास्थित होटेल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् ।

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाई झिकाउन समेत माग गरेकी छन् ।

होटेलमा बसेका बेला कांग्रेस र एमालेका सांसदहरूले रास्वपाका नेताहरूमाथि अनावश्यक कुरा काटेको भन्दै सांसद कठायत समिति बैठकमै आक्रोशित भएकी थिइन् ।

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो ।

हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।

अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ । उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ ।

अध्ययनअनुसार नेपालमा ४८ दशमलव ६ प्रतिशत पुरुष र १५ दशमलव ३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताए। उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ । त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयाघात हुने गर्दछ ।

गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयाघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ । यस्तै उच्चरक्तचाप ३६ दशमलव ६ प्रतिशत, मधुमेह २५ दशमलव ३ प्रतिशत र कोलस्टोरोल ७ दशमलव ८ प्रतिशतलाई हुने गरेको छ । उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ बर्ष मुनिका चुरोट खानेमा हृदयाघात बढदै पाइएको बताए ।

नेपालमा अहिले हृदयाघात बढ्दै गएको पाइएको छ । चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ । सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो ।

अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताए । “चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ”, उनले भने, “तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछन ।” उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउँछन्, “हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । यो फ्लेवर हो भनेर तान्ने गर्दछ”, उनले भने, “तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्याउँछ । अनि हृदयाघात सम्भवना हुन्छ ।”

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयाघात

मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन् । डा भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन् । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।

गङ्गालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ । “धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ”, डा अधिकारीले भने, “स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ ।” मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन् ।

हृदयाघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उनी बताउँछन् । एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ ।

विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन् । स्टिमाई (मुटुमा रक्तसंचार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने) हृदयाघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात) । ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पु¥याउनसके बचाउन सकिन्छ । यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ ।

“हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पु¥याउनसके बचाउन सकिन्छ”, उनले भने, “बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ ।”

एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।

जाडोमा बढी

जाडोमा हृदयाघात बढी हुने गरेको केन्द्रका निर्देशक डा रवि मल्लले बताए । मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ । यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ । उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताए ।

हृदयाघात कसरी हुन्छ ?

मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ ।

रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ । 

चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरिन् । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भएकी हुन् । उपाध्यक्षमा सीताराम अधिकारी विजयी भएका छन् । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरिन् । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गरे । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएकी छन् ।

कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गरेका छन् । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भएका हुन् । खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने । बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका र यही कुरा सभामुखलाई आफूले सुनाएको बर्तौलाले जानकारी दिए ।

हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

रूपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जारी बहस शुक्रबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबारबाट लामिछाने पक्षका तीन वकिलले बहस गरेका थिए । आज बाँकी रहेका वकिलले बहस गर्नेछन् । रविको पक्षमा नाम टिपाएका वकिलहरूको बहस सकिएपछि सरकारी र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् ।

त्यसपछि न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् ।

रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।

यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको अदालतले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताए । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने उनले बताए ।

शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु ९जीबी० राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।