
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ।
अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ। गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो।
समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो।
सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बराललाई नियुक्ति गर्ने मंसिर ६ गतेको मन्त्रिपरिषद्को निर्णय बदर गर्न आदेश दिएको हो।
नियुक्तिको सिफारिस हुनासाथ बरालको योग्यतामाथि प्रश्न उठेको थियो। प्राविधिक शिक्षा एवं व्यावसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकामा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । इच्छा र आकाङ्क्षाले पूणर्ता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । इच्छा र आकाङ्क्षाले पूणर्ता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । अध्ययनरअध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । देखिएका बाधारअड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निणर्य लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । कुनै काम त्यस्ता हुन्छन, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्त्व दिइन्छ ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
काठमाडौँ उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अरु जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९० पैसा र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९१ पैसा र बिक्रीदर आठ रुपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।





