
आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन्। त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला। परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो। परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन्।
हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ। यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न भयो। साँख गाउँको बीचमा दह छ। यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ। यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बीचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन रहेको छ। यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताइन्। उनका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ। अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो। यो क्रम हरेक वर्ष आलोपालो हुने गरेको ओलीले बताइन्।
‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ। यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ। अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या–कन्याबीच विवाह सम्पन्न गरेका थिए।
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ। दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरूले नाच्छन्। लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ। पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो।
साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ। हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन्। हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन्। परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ। पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ। यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ। ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनु परेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने।
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ। माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आएका छन्। हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन्। आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताए। हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन्।
काठमाडौँ नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।
लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तरराष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।
‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४र६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो, उनले भने, विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो।’
प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि भएको उनले बताए। हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस फ्लूइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ।
कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताए।
सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उनको भनाइ थियो। दीर्घरोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उनले जानकारी दिए।
‘कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीको औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भइ अनुसन्धानको काम सुरु भइसकेको छ’, उनले भने।
काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार चौंथो हार बेहोरेको छ। आज (मंगलबार) को खेलमा थाइल्याण्डले नेपाललाई पाँच पराजित गरेको छ । थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्याण्डकी थिपाचा पुथावोङ्गले ४ विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो । थाइल्याण्डका चानिदा सुथिरुआङ्गले २७, थिपाचा पुथावोङ्गले २५ रन बनाए । थाइल्याण्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे । नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् ।
नेपालले यसअघि नेदरल्याण्ड्ससँग २ पटक र थाइल्याण्डसँग एक पटक पराजित भएको थियो । थाइल्याण्ड चार वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स चार खेलमा चार अंकसहित दोस्रो स्थानमा छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।
काठमाडौं– साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो ।
मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आजको कारोबारमा जलविद्युत क्षेत्र र अन्य सूचक बाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ बिन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।
तर, आजको कारोबारमा कर्पोरेट डेभलपमेन्टका शेयर कारोबारीले भने सबैभन्दा धेरै गुमाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा चौथो मुद्दा दर्ता भएको छ ।
चितवन जिल्ला अदालतमा उनीविरुद्ध सहकारी ठगी मुद्दा मंगलबार दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।
यसअघि यही सहकारी ठगी प्रकरण्णमा असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
लामिछानेले सहकारी ठगी प्रकरणमा मुद्दा खेपेको यो चौथो हो । उनी यसअघि कास्की जिल्ला खदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका थिए । अब चितवन जिल्लान अदालतमा थुनछेक बहस हुनेछ । लामिछानेविरुद्ध पर्साको सानापाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ । पर्सा जिल्ला अदालतमा पनि अब मुद्दा दर्ता हुन सक्नेछ ।
काठमाडौँ । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्र मल्ली क्षेत्रमा ल्याएर छाडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
उनका अनुसार सोमबार नमुना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट भाले गैँडा ल्याइएको हो भने शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका हुन् । सोमबार डार्ट गरिएको गैँडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो ।
शनिबार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चार वटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ स्थानान्तरणको काम गरिएको हो ।
निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमल टारीबाट स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैँडा पूर्वमा ल्याइँदैछ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छिन्।
पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन्।
ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन्। सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनले बताइन्।
विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोबास गरेका १५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने आश्वासन दिइन्।
काठमाडौं- अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुनसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन बरामद गरिएको छ।
थाई एयरको उडानद्वारा बैङकबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् ।
बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।