२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

काठमाडौं । जिल्ला अदालत, रुपन्देहीले पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जोशीलाई अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले सोमबार (आज) पुर्पक्षका लागि थुनामा पठाएको हो। यसअघि उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।

रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफै अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ।

काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका हुन् ।

उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोझ्दा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार अनुसार खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा संसदले सर्वसहमतिले संसदबाट पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ ।

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।

उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ तथा केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ गर्ने बताएका छन् ।

यसका साथै काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानलाई राष्ट्र सभाले सदर गरेको छ । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै हुने गरी विधेयक राष्ट्रिय सभाले पारित गरेको हो ।

राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले जस्ताको तस्तै विधेयक पारित गर्न नहुने भन्दै आपत्ति जनाएकी थिइन्। उनले काउन्सिलको अध्यक्ष ‘सरकारले नियुक्त गर्ने’ भन्ने प्रावधान हटाएर नियुक्ति सरकारको छायाँमुक्त गर्नुपर्ने धारणा राखे पनि बहुमतले पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको समितिमा विधेयकमाथि पर्याप्त छलफल भएको उल्लेख गर्दै विधेयकलाई सर्वसम्मतिमा पारित गर्न अनुरोध गरेका थिए ।

पत्रकारिता क्षेत्रको वर्तमान नियामक प्रेस काउन्सिल नेपाललाई आमसञ्चार परिषद् वा ‘मिडिया काउन्सिल नेपाल’ नामकरण गर्दै राष्ट्र सभाले विधेयक स्विकृत गरिएको छ । यसअघि माघ १८ को बैठकमा राष्ट्र सभाको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेकी थिइन् । सोमबार मन्त्री गुरुङले उक्त प्रतिवेदनमाथि छलफल गर्न र विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले प्रतिवेदन पारित गर्दै यसलाई विधेयकको अंग बनाउन स्वीकृति दिएको थियो ।

मिडिया काउन्सिल विधेयकले प्रेस जगत्लाई सरकारको नियन्त्रणमा राख्न खोजेको भन्दै विज्ञ तथा सरोकारवालाहरूले चर्को आलोचना गर्दै आएका छन् । सञ्चार माध्यमहरूलाई व्यवस्थापन तथा नियमन गर्न भन्दै सरकारले तयार पारेको विधेयकमाथि राष्ट्रिय सभाको विधायन समितिमा दफावार छलफल भएको थियो । गत असारमा सांसद, विज्ञ र सरोकारवालाले विधेयकको सैद्धान्तिक पक्षमै प्रश्न उठाएपछि समितिले सञ्चारमन्त्री, सचिव र उच्च अधिकारीहरूसँग छलफल पनि गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराए ।

उनले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गरे । उनले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताए ।

उहाँले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिए । ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो शैली चल्दैन । यो कानून र न्याय नभएको देश हो’ उनले भने ।

उनले बालेन शाहलाई गरिब मधेशीलाई कुटेर नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी पनि गरे ।

काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो।

नेपाल र भारतबीच मङ्गलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारणलाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।

यही माघ ९ गते नेपाल र भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको १२औँ बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण र विद्युत् आयात तथा निर्यातलाई थप सहज बनाउने सहमति भएको थियो । सोही सहमति दुई देशबीचका सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
उक्त बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना र अन्तरदेशीय विद्युत् आयात–निर्यातका विषयमा छलफल भएको थियो ।

नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण कार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व रहनेगरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ । दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत शेयर स्वामित्व अर्को देशको रहने व्यवस्था हुनेछ ।

यसैगरी, चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर सन् २०२५ सम्म सम्पन्न गरिने सहमति भएको छ । यस्तै, ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट बढाएर एक हजार मेगावाट पुर्‍याउने बताइएको छ । यस्तै सन् २०३५ सम्ममा ४०० केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनऊ प्रसारण लाइन निर्माण सम्पन्न गरिने सहमति भएको छ । उक्त सहमतिलाई दुई देशबीचको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म १५ हजार विद्युत् विदेशमा निर्यात गर्न सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता प्रसारण लाइन निर्माण सम्झौताले ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा थप विद्युत् निर्यात गर्नेगरी अन्तरदेशीय प्रसारण लाइनको संरचना बनाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ भने बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।

व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।

कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो । 

नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो । गत जनवरीदेखि नै पाइप लाइनबाट पेट्रोल ल्याउने भनिए पनि परीक्षणकै क्रममा रहेकाले ल्याउन ढिलाइ भएको निगमको मधेश प्रादेशिक कार्यालयले जनाएको छ ।

पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ । जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो । 

मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणमा पाइप लाइनबाट पेट्रोल ल्याउन लागिएको हो । पाइप लाइनबाट बजार माग अनुसार दैनिक छ हजार किलोलिटर पेट्रोल आयात गरिने कार्यालयले जनाएको छ ।

निगमले २०७६ देखि पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ । हाल पाइप लाइनबाट ल्याइएको डिजेल अमलेखगन्जमा भण्डारण गरी थानकोट, विराटनगर, जनकपुर, भैरहवा र पोखरामा वितरण भइरहेको छ । पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।