
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । प्रहरीमाथि कुटपिट गर्ने जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए ।
काठमाडौं । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने ऐन २०२५ संसदमा प्रस्तुत गरेको र यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।
रिपब्लिकन सांसदहरूले डीभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित ऐन प्रस्तुत गरेका हुन् । कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिररहेको सांसदहरुको तर्क छ । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डीभी प्रोग्रामले वार्षिक झण्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिन्छ ।
आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडमा आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ । भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसद्मा पेश भएको ऐनमा उल्लेख छ ।
अमेरिकामा यसअघि पनि डीभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको छ । संसदमा रिपब्लिकनको बहुमत रहेको र पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरिरहेकाले ऐन पारित भएर डीभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।
काठमाडौँ । नेसपा (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।
गत माघ २७ गतेयता जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो। अध्यक्षका लागि भट्टराईसहित युवा नेता नेत्र चापागाईँ प्रत्याशी थिए। खसेका जम्मा ८७३ मतमध्ये भट्टराईले ८ सय २ मत र चापागाईँले ७१ मत ल्याएका छन् ।
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो।


नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतका तार अन्डरग्राउन्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौंमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।
उनले भने, ‘पाइप फुटेपछि खानेपानीमन्त्रीको निर्देशनपश्चात् गएरातिदेखि मर्मत सुरु गरिएको हो । करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परीक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।’
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आएका छन्। बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।
अमेरिका । अरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग संकलन गरिरहेका छन् ।
कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए ।
महासचिव भुसालका अनुसार हालसम्म ७०० बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका विद्यार्थीले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्नसक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरुको ठेगानामा पुर्याउने व्यवस्था मिलाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ ।
सोही क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं । काठमाडौं आज (बिहीबार) विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा परेको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ । जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ ।
आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा १ नम्बर सूचीमा छ । चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ । विपद् पोर्टलले नेपालको विभिन्न सहरहरूको वायुको गुणस्तर अत्यन्त चिन्ताजनक देखाएको छ । पोर्टलका अनुसार बुधबार बिहान ७ः५३ दाङको एक्युआइ २६०.३६ पुगेको थियो। अहिले बिहान ११ बजे पोखराको एक्युआइ २४४.२१ पुगेको थियो ।
चितवनको भरतपुरमा बिहान १०ः४३ बजे १६५.०८, काठमाडौंको शंखपार्कमा बिहान १०ः५९ बजे १६१.८४ पुगेको थियो। विपद् पोर्टलकै अनुसार धनगढी, ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंको रत्नपार्कको वायुको गुणस्तर कमजोर छ । एक्युआइ इन्डेक्सअनुसार ०–५० अंक स्वच्छ वायु, ०५१–१०० मध्यम, १०१ देखि १५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ ।
पूर्व–पश्चिम, पृथ्वी राजमार्ग, सूर्यविनायक, धुलिखेल, बिपी राजमार्गमा अहिले स्तरोन्नतिको काम भइरहेको छ। ती राजमार्गमा सडक चौडा पार्ने र पूर्वाधार बनाउने काम भइरहेकाले धुलो उड्दा वायु प्रदूषण भइरहेको छ। काठमाडौं उपत्यकाभित्रै पनि तार भूमिगत गर्ने, फुटपाथ बनाउने लगायतका काम भइरहेकाले वायु प्रदूषणलाई सघाएका छन् । हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ। यसका अलावा बन डढेलोका घटना पनि बढेका छन् । यी कारणले विभिन्न सहरको वायुको गुणस्तर अत्यन्तै कमजोर बनेको हो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।
काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।
उनले भने, ‘पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।’ विद्युतका तारहरू भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।
काठमाडौं । सिन्धुलीमा भैंसीले हान्दा एक जनाको मृत्यु भएको छ ।
सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । बुधबार (माघ ३०) बिहान करिब ७ बजे उनलाई भैंसीले हानेको थियो ।
माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैंसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो। अचानक भैंसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मुचुल्का पश्चात बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पतालमा लगिएको प्रहरीले जानकारी गराएको छ ।
सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।