
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो ।
त्यसअवसरमा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन् । मन्त्री डा. देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् ।
केही समयअघि पनि मन्त्री डा. देउवाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन् । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।
खोटाङको हलेसी बजारको एउटा पसलमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो ।
खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।
पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ ।
आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए ।
काठमाडौं । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विष्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ। गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।
मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेको समिति गठन गरिएको हो। समितिमा एक जना विष्फोटक पदार्थविज्ञसमेत सदस्यका रुपमा रहने व्यवस्था गरिएको छ ।
समारोहमा बेलुन उडाउने क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् । उनीहरु दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । छानबिन समिति गठन गरेपछि गृहमन्त्री लेखक बर्न अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएका हुन् ।
‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छु । त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,’ गृहमन्त्रीले भने ।
जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए। ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,’ गृहमन्त्रीले भने ।
काठमाडौं– आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.७३ प्रतिशतले बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बारबारको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर कारोबार भएको छ ।
आज १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९६ हजार २८२ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फाण्ड ०.११ प्रतिशतले र निर्जीवन बीमा १.२८ प्रतिशतले घटेको छ ।
आज बसैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०८ प्रतिशतले बढेको छ ।
त्यस्तै वाणिज्य बैंक समूह ०.९८ प्रतिशतले, होटल तथा पर्यटन १.९५ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी १.१७ प्रतिशतले, जीवन बीमा ०.३९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, अन्य समूह ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०२५ प्रतिशतले बढेको छ ।
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।
सोक्रममा १० जना सांसदहरूले समसामयिक विषय, सरकारका कामकारवाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
ताप्लेजुङ स्थित पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ ।
सम्मेलनमा मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।
केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले जनाएको छ । उद्यपी लिम्बुले अबदेखी केबलकार निर्माणको पक्षमा नबोल्ने बताएपछि उनलाई छाडिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
अहिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा विवाद छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन्।
अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरूले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन्।
माघ २२ गते शुरु भएको अभियान फाल्गुन ६ गतेसम्म चल्नेछ। अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ।
अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए। त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको छ। क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ। सोही अनुसार किशोरीहरूलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरूको संख्या उच्च छ। सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधेयकअन्तर्गतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
काठमाडौँ । उपप्रधान एव अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।
कीर्तिपुर अस्पतालले आज एक सूचना जारी गर्दै मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।
साथै मन्त्री पौडेल र मेयर आचार्यको भेटमा रोक लगाइएको छ । अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई भेटघाट गर्न बन्द गरिएको अस्पतालका प्रमुख नकर्मीले बताएका छन् ।

काठमाडौँ । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेको झापा प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।